arrow

केपी ओलीको लागि छुट्टै विधान बनाउन वामदेव गौतमको प्रस्ताव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन २५ सोमबार
bamdev1.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहविना नै अघि बढ्न खोजेपछि स्थायी कमिटी बैठकमा उपस्थित भएका उपाध्यक्ष वामदेवले आपत्ति जनाएका थिए । स्थायी कमिटी बैठकमा एउटा पक्षलाई बाहिर राखेर जे छलफल भइरहेको छ त्यो गलत भएको छ, कि कारबाही गरेर हटाइदिनुस् होइन भने पार्टीभित्र आउने वातावरण बनाएर सँगै राखेर छलफल गर्नुस् भन्दै गौतमले आपत्ति जनाएका हुन् । 

तर ओलीले उहाँहरूलाई आउन कसले छेकेको छ भनेपछि गौतमले तुरुन्तै तपाइले छेकको हो, यसमा तपाई कै भूमिका छ भनेर जवाफ फर्काएका थिए । ‘आजको स्थायी कमिटी बैठकमा वामदेव गौतमले ओलीको भूमिकाको विषयलाई लिएर प्रश्न गरेका छन् जुन जायज थियो’, स्थायी कमिटी बैठकमा सहभागी एक नेताले भने । 

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालप्रति टिप्पणी गदै प्रचण्डसँग मिलेर देउवालाई प्रधानमन्त्री बनाएको र त्यसले पार्टीलाई समेत ध्वस्त बनाएको आरोप लगाउन थालेपछि उपाध्यक्ष गौतमले अध्यक्ष ओलीको अभिव्यक्तिमा प्रतिवाद गरेका थिए ।

‘हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टी भित्रै किचलो छरपस्ट भएको छ । के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? सरकारको न्यूनतम कार्यक्रम हामी विरुद्ध गाली गलौचको पुलिन्दा बनाइएको छ, यो असंवैधानिक र अपवित्र नन्दी–भृङ्गी जालीझेली हरुको गठबन्धन हो ’, ओलीले भनेका थिए । 

माधव नेपालकै कारण पार्टीमा समस्या आएको र उनकै कारणले सरकार ढलेको भन्दै ओलीले आरोप लगाउन थालेपछि गौतमले ओलीका लागि छुट्टै विधान बनाम भनेका थिए । पार्टीको भदौ २६ देखि आयोजना हुन लागेको विधान महाधिवेशनमा पेस गर्ने विधानको संशोधित मस्यौदा अन्तिम रूप दिन बसेको स्थायी समितिमा अध्यक्ष ओलीले पार्टीभित्र अन्तर संर्घष गरिरहेका नेपाललाई लक्षित गर्दै आरोप लगाएका थिए । 

ओली आक्रामक रूपमा पेस भएपछि गौतमले विधानमै अध्यक्षलाई अरू नेतालाई गाली गर्ने अधिकार दिनुपर्ने भयो अध्यक्षका लागि छुट्टै विधानको व्यवस्था गरौँ जुन विधानले अध्यक्षलाई गाली गर्ने अधिकार प्रदान गरोस् भन्दै ओलीलाई व्यङ्ग्य गरेका थिए । 

विधान संशोधनको छलफलका लागि सुझाव सङ्कलन गर्ने क्रममा पनि उनले अध्यक्ष मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीले मनोनीत गर्नुपर्ने व्यवस्था गर्ने, वरिष्ठ नेताको पद नराख्ने, त्यसो गर्दा बहु केन्द्र निर्माणको अवस्था जन्मिएको जस्ता सुझाव गौतमले यस अगाडी वोलाईएको सुझाव समेट्न राखिएको बैठकमा राखेका थिए । गौतमका कतिपय सुझाव मस्यौदामा समेटिएका पनि थिए । 

सोमबार बिहान ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा बसेको स्थायी समिति बैठकमा भने ओलीले नेपालप्रति कटाक्ष गदै धारणा राखेका थिए । त्यसपछि भने गौतमले ओली विरुद्ध आफ्ना धारणा राखेका हुन् । ‘बैठकमा कहिले काहीँ आउने गौतमले आज अध्यक्षलाई नै गाली गरेर जानु भयो पहिला पहिला त म अब फकिन्न पार्टी मिलाउनुस् भन्नुहुन्थ्यो आज भने ओलीका लागि छुट्टै विधान बनाइदिऔँ भन्नुभयो’, बैठक सहभागी एक नेताले भने । 

गौतमले विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने भन्दै ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुसन्धानात्मक कारबाही’ शीर्षकअन्तर्गत पनि थप केही बुँदाहरू थप्नुपर्ने बताउँदै ओलीलाई व्यङ्ग्य गरेको ती सहभागीले बताए । ‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ अध्यक्षलाई यो अधिकार दिने गरी विधानमा प्रस्ताव पनि गरौँ भनेर ओलीप्रति व्यङ्ग्य गरेका थिए । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भनेर विधानमा व्यवस्था गर्नुस्–यो, बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन , पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारबाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । 

ओलीले पनि गौतमको कुरालाई बिचमै काट्दै पार्टीभित्र अराजकता नचल्ने, यसले पार्टीलाई गलत दिशामा लैजाने बताएका थिए । तर गौतमले पार्टीको अध्यक्षले नै जथाभाबी बोल्दै हिँडेपछि कसलाई विश्वास गर्ने ? अध्यक्षको भनाइले घर मुली नै घरका सदस्यलाई घरबाहिर निकाल्ने प्रयास गरिरहेका छन् भन्ने देखाउँदैन र भन्दै प्रश्न गरेका थिए । ओलीसँग सवाल जवाफ गरेपछि उपाध्यक्ष गौतम आफ्नो काम भएको भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ