arrow

सन्तको सङ्गत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
king-and-sadhu-vidur.jpg

कुनै समयको कुरा हो । राज महलको छेउबाट हिँड्दै गरेका एक साधुले,- 'केही समय राजाको जस्तो बित्यो, केही समय राजाको भन्दा राम्रो बित्यो भन्दै गरेको राजाले सुने । यस्तो कुरा सुनेर अचम्ममा परेका राजाले साधुलाई बोलाएर सोधे, - 'हे फकिर ! म यति ठुलो साम्राज्यको चक्रवर्ती राजा हुँ, मेरो अपार वैभव छ, यदि मैले चाहेँ भने तिमीलाई अहिले मार्न सक्छु मेरोमा यति फौज छ, तिमीले मेरो बराबरी कसरी गर्न सक्छौ ? तिम्रो दिन मेरोभन्दा राम्रो कसरी बित्न सक्छ ?' 

यो सुनेर साधुले नम्र भएर भने,-'राजन म मान्छु कि तपाईँ यति विशाल राज्यको राजा हुनुहुन्छ, अपार धन-वैभव छ, नोकर-चाकर छन्, विशाल फौज छ, आलिसान महल छ, सुगन्धित मखमली शय्यामा सुत्नुहुन्छ तर निद्रामा तपाईँलाई म कहाँ सुतेको छु केही थाहा रहँदैन । अनि म रुखको फेदमा खाल्टाखुल्टी भुईँमा सुत्छु, निदाएपछि मलाई पनि म कहाँ सुतेको छु केही याद रहँदैन, अब बताउनुहोस्, तपाईँ र मेरो यो अवस्थामा के अन्तर छ ? अनि तपाईँ बिहान उठेर नुहाइ-धोइ गरी खाना खाएर राजदरबारमा जानु हुन्छ अनि दिनभर मुद्दा-मामिलाको फैसला गर्दा गर्दा थाकेर हैरान हुनुहुन्छ, कहीँ कुनै कसुर बिनाको निर्दोषलाई फाँसीको हुकुम दियो भने त्यतै आपत् हुन्छ । फेरि कहीँ शत्रुले मेरो राज्यमाथि हमला गर्छ कि भन्ने चिन्ता लागिरहन्छ । जबकि म बिहान उठेर गुरु महाराजको ध्यान गर्छु, खाने-पिउने मलाई केही चिन्ता रहँदैन, यसर्थ मेरो दिन तपाईँको भन्दा धेरै राम्रो बित्छ ।
 
यसरी साधुले सम्झाएपछि राजाले चित्त बुझाए र साधुलाई गुरु धारण गरी उपदेश लिए । जसरी महात्मा बुद्धले उपदेश लिई आफ्नो सारा सम्पत्ति सेवामा लगाए, राजा धर्मदासले सारा सम्पत्ति गुरु कबिरदास जीलाई अर्पण गरे । यस्तै गरी राजाले पनि साधुको कुरा मानेर आफ्नो सारा सम्पत्ति सेवामा लगाए जसले गर्दा प्रचार बढ्यो अनि राज्यमा चारैतिर सुख शान्ति छायो । 

यसै कारण भनिएको छ- 
'सन्त बिटप सरिता गिरि धरनी ।
पर हित हेतु सबहिन्ह की करनी ।।'
 साधु-सन्त, वृक्ष, नदी, पहाड र धरती सबैको काम परहितको लागि हुन्छ । जसरी महलमा साधु आउनाले त्यो राजाको कल्याण भयो, उसको प्रजाको पनि कल्याण भयो । जसरी रुखमा अरूको लागि फल फल्छ, नदी दिन-रात अरूको भलाइको लागि बगिरहन्छ, पहाडले पराई हितको लागि आफ्नो शिरमा रुखहरूको भारी बोकिरहन्छ, जुन रूखहरूका घाँस, दाउरा, पातहरू तपाईँ-हाम्रो काममा आउँछन् । धरतीले पनि सारा चीजहरूको भार प्राणी मात्रको भलाइको लागि सहन्छिन् । 

उस्तै गरी सन्त-महापुरुष पनि मानव मात्रको उपकारमा आफ्नो सारा तन-मन-धन लगाउँदछन् । यो मनुष्य शरीर बार-बार मिल्दैन, यो शरीर रहँदा मात्रै हामी भगवान्को भजन-भक्ति गर्न सक्छौँ । यस कारण परम प्रकाशरूपी परमात्माको साँचो नामलाई जान्नु पर्दछ, त्यो नामलाई यही मनुष्य योनिमा जान्न सकिन्छ, अरू कुनै योनिमा जान्न सकिँदैन । यस कारण प्रभुलाई जान्नुहोस्, यो देव दुर्लभ मनुष्य तनलाई व्यर्थै नगुमाउनुहोस्, भगवान्को साँचो नामलाई जान्नुहोस् ।



नयाँ