arrow

माधव नेपाल पक्षमा नगएकालाई एमालेमा उचित जिम्मेवारी दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
mahesh-basnet.JPG

काठमाडौँ। नेकपा (एमाले) का नेता महेश बस्नेतले माधव नेपाल पक्षमा नगएका नेताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताएका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली कमरेडले यो कुरा गर्नुभएको छ ।' 

उनले भने,‘ माधव नेपालहरूले पार्टीलाई गुटबन्दीबाट ध्वस्त पारेर अराजक र आपराधिक काम गर्ने काँग्रेसको पाउमा चढाउने र प्रचण्डको टाङमुनि छिराउन खोजिएको थियो, यो अराजक र अपराधी गुटलाई बिदा गरियो । केही केही मान्छेहरू गए । अहिले एमालेभित्र वसन्त ऋतुमा पालुवा पलाएको छ । माधव नेपाल काँग्रेस र माओवादीको मल बन्न जानुभयो । उहाँले गम्भीर अपराध गर्नुभयो । न भुईँमा न भाँडोमा हुनुभयो । प्रचण्ड, देउवा र अग्नि सापकोटाको भूमिका इतिहासले गम्भीर समीक्षा गर्नेछ ।’

नेकपामा हुँदा ओलीलाई अल्पमतमा पार्ने काम पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गरेको पनि स्मरण गराए । उनले भने,‘माधव नेपाल र प्रचण्डले केपी ओली र म लगायतका नेताहरूलाई साधारण सदयबाट हटाउने काम भयो । केपी ओलीलगायत हामी धेरैलाई निष्कासित गर्ने काम भयो । प्रचण्डले माओवादी केन्द्र मात्रै लग्नुभएन, एमाले पनि फुटाएर लैजानुभयो । नेपालको अदालत, सभामुख सम्बन्धित निकायको पक्षधर ताको कारण आज एमाले विभाजनको अवस्था भयो ।’ उनले अहिले पनि काँग्रेस र माओवादी मिल्दाभन्दा बढी नेकपा (एमाले) एक्लैको ११० संसद्मा सिट सङ्ख्या रहेको सुनाए । 

नेता बस्नेतले एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने चेतावनी दिए । उनले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा काँग्रेसलाई बहुमतमा पुर्‍याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । उनले भने,‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल भनेर राखेर अध्यादेश ल्याउँदा यहाँ काँग्रेस लगायतका दलले ठुलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्‍याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याइएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’

४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठुलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुङ्गिएको छ । माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्‍याउन पनि हम्मे हम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरूले हामी त्यो पार्टीमा छैनौँ र जान्दैनौँ भनेर नाम फिर्ता लिने स्थिति आएको छ ।’

बस्नेतले वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गरेका छन् । उनले भने,‘अब माधव नेपाललाई सजिलो बनाउनेसरि १५ प्रतिशत वा १० प्रतिशत मात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदै छ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

उनले सभामुख सापकोटासमेत एमाले विभाजन गर्ने षड्यन्त्रमा लागेको भन्दै आक्रोश पोखे । उनले भने,‘उहाँ त्यो कमर्ममा किन मुछिनुभयो ? मैले बुझेको छैन । हेर्नुहोस्, संसद् माग गर्नेहरू नै आज सांसदलाई अधिवेशन स्थगित गर्ने ठाउँमा पुग्नुभयो । संसद् चलेको एक महिनाभित्र एसिड आक्रमणमा परेका पीडितको पक्षमा बनेको अध्यादेश अलपत्र पारियो । नागरिकता ऐनमा छलफल भएन । विभिन्न विधेयकहरू अलपत्र पारियो । धेरै विधेयक त्यहाँ थाँती थियो । यो सदन चल्न सक्दैन भन्ने कुरा उहाँले पुष्टि गर्नुभयो । ह्विप उल्लङ्घन गर्ने कुरा दलभित्रको गम्भीर विषय हो । १४ जनाले ह्विप उल्लङ्घन गर्नुभएको थियो । पार्टीले कारबाही गरेको छ । तर, सभामुखले अहिलेसम्म कारबाहीको सूचना दिनुभएन । हामीले धर्ना दिनुपर्ने अवस्था छ । सभामुख त संविधान, ऐन र प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार चल्नुपर्छ ।’

उनले सभामुखले आफू निष्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ सभामुख भए पनि प्रचण्ड र देउवाको आदेशविरुद्ध जाने देखिएन । आफ्नो पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउने भन्दै माधव नेपालसहित हाम्रा साथीहरू सर्वोच्च अदालतमा रिट बोकेर जाने काम गर्नुभयो । अदालतले कारबाही नगर्ने परमादेश जारी गरेको छ । यो अनौठो र विश्वमै नभएको फैसला हो । अदालतको यो फैसला सर्वत्र आलोचित भएको छ । एमालेका सांसदहरू सरकारमा हुँदा पार्टीको ह्विप नलाग्ने भनेको थियो भने सरकार विस्तार भैसकेको हुन्थ्यो । भोलि यो अध्यादेशले काँग्रेस र माओवादीमा पनि असर पर्छ । माओवादीमा अहिले पनि विद्रोहको अवस्था छ । काँग्रेसका शीर्ष नेताहरूले यो अध्यादेशको विरोध गरेका छन् । अध्यादेश काँग्रेसको लागि घाँडो साबित हुनेछ ।’

उनले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसङ्गठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाए । उनले आगामी निर्वाचनमा नेकपा एमाले सशक्त र बहुमतसहित आउने पनि दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्षले पनि अब एमाले ५० लाख मतसहित आउनेछ भनेर भन्नुभएको छ। एमालेको विभाजन होइन यो चोइटिएको मात्रै हो । अब माओवादीको ठुलो पङ्क्ति हाम्रो पार्टीमा प्रवेश गर्नेछ ।’

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको नेताहरूलाई अहिले पनि उचित भूमिका दिइएको बस्नेतको भनाई छ । उनले भने,‘नयाँ साथीहरूलाई एक्सेप्ट गर्ने र भूमिका दिने कुरामा हाम्रो पार्टी लचक छ । मन्त्री बनाउने सवालमा पनि हिजो माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रवीन्द्र श्रेष्ठलाई मन्त्री बनाइयो । अहिले माओवादी परित्याग गरी एमालेमा आएकाहरूलाई अब हुने उपनिर्वाचनमा उहाँहरूलाई नै उठाउने भएका छौँ । हाम्रो पार्टीले मित्रवत् व्यवहार गर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ