मुख्यसचिव र सामान्य सचिवले बनाए ५ दर्जन सहसचिवको सरुवा सूचि
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
1.1k
Shares
फाइल तस्बिर
काठमाडौँ। मुख्यसचिव शंकरदास वैरागी र सङ्घीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले ५ दर्जन भन्दा बढी सहसचिवहरूको सरुवा सूचि तयार गरेका छन्। उक्त सूचि अनुसार, आज भोलि नै ठुलो सङ्ख्या सहसचिवहरूको सरुवा गर्ने तयारी भएको स्रोतले बतायो। स्रोतका अनुसार सूचिको मस्यौदा सामान्य सचिव अर्यालले तयार गरेका हुन। उनले यो सूचि मुख्यसचिवलाई देखाए। मुख्यसचिवले यसमा केही फेरबदल गरे। सरुवा सूचि २ दिन अघि नै मुख्यसचिवको टेबुलमा पुगेको स्रोतले बतायो।
अर्याल केपी ओली नेतृत्व सरकारको पालामा नेकपा (एमाले)को ओली गुट निकट भनेर चिनिएका थिए। त्यस बेला उनी कहिले काठमाडौँ महानगरपालिका, कहिले सङ्घीय मामिला मन्त्रालय बसे। अर्याल सामान्य सचिव भएको बेला डेमोक्रयाट भनेर चिनिएका कर्मचारीहरू प्रदेश २,कर्णाली प्रदेश र कम आकर्षक कार्यालय लखेटिए।
सरकारी कर्मचारीहरू प्रदेश २ र कर्णाली प्रदेशमा सकेसम्म जान चाहन्नन्। माओवादी केन्द्र सरकारबाट बाहिरिए पछि माओवादी केन्द्र निकट कर्मचारीहरू पनि प्रदेश २ र कर्णाली प्रदेशमा खटाइए। ओलीको शासनमा सामान्य प्रशासन मन्त्रालयमा एमालेको ओली गुट निकट कर्मचारीहरूको बाहुल्यता रह्यो। तर, अफसोच सरकार फेरिए पछि पनि डेमाक्रयाट भनेर चिनिएका र ओली सरकारमा लखेटिएका कर्मचारीहरूले न्याय पाउन नसकेको एक डेमोक्रयाट कर्मचारीले गुनासो पोखे।
मन्त्रालय स्रोतका अनुसार काज र कामकाज कोलागि भनेर यस पटक सहसचिव सरहका कर्मचारीहरूको सरुवा गर्न सूचि तयार पारिएको हो। स्रोतका अनुसार यस पटक पनि आकर्षक कार्यालयमा जान सूचि बनाइएकामध्ये डेमोक्रयाट भनेर चिनिएका कर्मचारी कम छन्। ‘के हामी सधैँ लखेटिनु पर्ने हो ?’प्रदेश २मा लखेटिएका एक कर्मचारीको गुनासो छ।
स्रोतका अनुसार यस पटक प्रशासन सेवा, कृषि तथा वन सेवा तथा प्राविधिक सेवाका कर्मचारीहरूलाई पनि सरुवा गर्ने तयारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई लाई पनि सरुवा गर्न सूचि बनेको स्रोतले बतायो।
पराजुलीलाई प्रदेशमा र भट्टराई लाई प्रधानमन्त्री कार्यालयमा ल्याउने तयारी भएको स्रोतले बतायो। काठमाडौँमा प्रजिअमा नियुक्त खान हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव गोविन्द रिजाल र श्रम मन्त्रालयमा कार्यरत सहसचिव विनोद सिंहको नाम चर्चामा छ। हुलाक विभागकी महानिर्देशक आभा श्रेष्ठको सरुवा सूचि तयार भएको छ।
उनलाई प्रदेश २मा पठाउन लागिएको स्रोतले बतायो। यसै गरी अर्थ मन्त्रालयका सहसचिव यामलाल भुषााल, पर्यटन विभागका महानिर्देशक रुद्र तामाङलाई प्रदेशमा पठाउन सूचि तयार भएको छ। यसै गरी पुण्यविक्रम पौडेल, प्रदीप कोइराला, विनोद कुवर, वैकुण्ठ अधिकारी, हेमराज रेग्मी, चूडामणि पौडेल, हरिबहादुर केसी, जानुका पण्डित, नम्रता सिंह लगायतका सहसचिव सरहका कर्मचारहिरूका सरुवा सूचि तयार भएको स्रोतले बतायो।
सहसचिव सरहका कर्मचारीहरूको सरुवा सूचि तयार गर्दा काठमाडौँ बाहिर बसेकालाई काठमाडौँमा ल्याउन र काठमाडौँमा लामो समयसम्म बसेकालाई काठमाडौँ बाहिर पठाउने नीति बनाइएको दाबी गरे पनि मुख्यसचिव वैरागी र सामान्य सचिव अर्यालको चिनजान र नजिक भएकाहरूलाई आकर्षक कार्यालय र वैरागी र अर्यालले मन नपराएकाहरूलाई प्रदेश २ र कम आकर्षक कार्यालयमा पठाउन सूचि तयार गरिएको स्रोतले बतायो।