arrow

वैचारिक द्धन्द्ध

मदन भण्डारीबाट हेपिएका झलनाथले फेरे रीस 

कस्तो बन्ला नेकपा (एकीकृत समाजवादी) को दस्तावेज ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
jhalanath-khanel-1619874717.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठनसँगै एमालेका पूर्व वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले २९ वर्षपछि  जनताको बहुदलीय जनवाद (जबज) सँग बदला लिँदैछन् । एमालेभित्र जबज नै स्वीकार गरेर लामो समय पार्टीको नेतृत्वमा बसेका र एमालेको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसमेत भैसकेका नेता खनालले जबजको औचित्य सकिएको भन्दै बदला लिँदैछन् । 

२०४९ साल माघमा भएको एमालेको पाँचौं महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीको जबजको दस्तावेज पारित गरेको थियो । सोही महाधिवेशनमा फरक मत पेश गरेका नेता झलनाथ खनालको प्रस्ताव अस्वीकृत भएपछि महाधिवेशनपछि एमालेभित्र सैद्धान्तिक विषयमा  ‘दुई लाइन सङ्घर्ष’ खासै देखिएको थिएन । 

दुई लाइनको संघर्ष गर्ने सीपी मैनाली २०५४ सालमै पार्टीबाट बाहिरिएपछि खनालको दुई लाइन संघर्षमा केही जोड चलेको थिएन । २०४९ सालमा  एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित गर्यो । 

सीपी मैनालीसँग मिलेर ल्याएको कार्यानीति ‘परिमार्जित नौलो जनवाद’ अल्पमतमा पर्यो । अधिवेशनले मदन भण्डारीको बहुदलीय जनवादको कार्यनीति पारित गर्यो । उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई मदन भण्डारीले पोलिटब्युरो सदस्यसमेत बनाएनन् । 

भण्डारीको दासढुंगा दुर्घटनामा निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने । भण्डारीको ‘जबज’लाई खनालले  ‘दक्ष प्रजापतिको टाउको’ जस्तो भनेर टिप्पणी गरेपछि एमालेभित्र उनी सधै ओझेलमा परेका थिए ।

२०४९ सालपछि एमालेले पार्टीको प्रमुख गन्तव्य जबजलाई बनाउँदै आएको छ । अहिले पनि यो विषयमा धेरै छलफल र बहस चलिरहन्छ । जुन विषयसँग एमालेका धेरै कार्यकर्ताको भावनात्मक सम्बन्ध रहेको छ । 

यही बेलामा माधव नेपालसहितका नेताहरुले पार्टी विभाजन गरे । पार्टी विभाजन गर्नुपर्छ भन्नेमा खनालको पनि जोड रहेको थियो । विरामी अवस्थामा रहेका खनालले दिल्लीबाट सम्बोधन गर्दै जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको बताएका थिए ।

 ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुशरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ’, चन्द्रागिरीको भेलामा खनालले भर्चुअल सम्बोधन गर्दै सो धारणा राखेका थिए । 

खनालले यो धारणा राखेपछि अहिले पार्टीलाई त्यही अनुसार अघि बढ्ने निश्चित प्रायः देखिन्छ । एमालेको पाँचौ महाधिवेशनपछि निरन्तर जबजलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अघि बढेको छ । आठौं महाधिवेशनमा आइपुग्दा जबजलाई नै स्वीकार गरेर झलनाथ खनाल पार्टी अध्यक्ष भए । 

त्यतिमात्र होइन २०६२ मा माधव नेपाल गिरफ्तार हुँदा पार्टीलाई भूमिगत रुपमा सञ्चालन गर्नुपर्ने परिस्थितिमा पनि खनालले नै संयोजन गर्दा जबज स्वीकार गरेका थिए । 

एमालेसँग वैचारिक मतभेद राखेर २०५४ सालमा पार्टी विभाजन हुँदा सीपी मैनाली वामदेम गौतमसँग रहँदा पनि खनाल एमालेमै रहेका थिए । महाकाली सन्धीले एमालेमा ठूलो विग्रह ल्याएको बेला पनि पार्टीभित्र उनी संस्थापन पक्षसँग थिए । 

त्यतिबेला माधव नेपाल भने केपी ओलीसँगै महाकाली सन्धीको पक्षमा उभिएका थिए । तर माधव नेपालसँगै पार्टीबाट बाहिरिँदा झलनाथ खनाल पार्टीको राजनीतिक दस्तावेज लेखनको संयोजक भएका छन् । 

उनी संयोजक रहेको समितिमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् । 

मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्नेछ । एमालेको राजनीतिक दस्तावेजलाई हेर्ने हो भने ०६२–०६३ को जनक्रान्ति जबजले अंगालेको शान्तिपूर्ण संघर्षको बाटोद्वारा सम्पन्न भएको नवौं महाधिवेशको निष्कर्ष छ । त्यसैगरी जबजको वैचारिक नेतृत्वमा सम्पन्न क्रान्तिले समाजवादसम्मको ढोका खोलेको पनि सो महाधिवेशनको निष्कर्ष थियो । 

यो निष्कर्ष माधव नेपाल समूहले राखेको प्रस्ताव त्यतिबेला पास भएको थियो । कहिले पार्टीको प्रमुख कहिले स्कूल विभाग प्रमुख कहिले दस्तावेज लेखनमा समेत रहेका खनालले पार्टी विभाजन हुन नपाई जबजको औचित्य समाप्त भएको भन्दै नवगठित पार्टीको राजनीतिक दस्तावेज लेखनको जिम्मेवारी लिएका छन् ।
 
दुई वर्षअघि जनताको जनवाद, बहुदलीय जनवाद, नयाँ जनवाद यो क्रान्तिको रणनीतिक लक्ष्य हो भन्दै आएका खनालले  २०६२–०६३ मा आएर पूरा भइसकेको अबको लक्ष्य जनताको बहुदलीय जनवाद हुन सक्दैन भन्ने धारणा राखेका थिए । 

पार्टी विभाजन भएपछि २९ वर्षअघि आफूले सारेको कार्यनीतिलाई केही परिमार्जन गरेर नवगठित पार्टीको दस्तावेज बनाउने उनलाई अवसर आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ