arrow

श्रीकृष्णले जान्न भनेको एक स्वरूप

logo
ज्ञान,
प्रकाशित २०७८ भदौ २८ सोमबार
shree-krishna-arjuns.jpg

काठमाडौँ । धर्मराज युधिष्ठिरले जब साधुमाथि मनमा संशय राखे तब पाण्डवहरूले गरेको राजसूय यज्ञ सफल भएन। जब उनले मनको शङ्कालाई समाप्त गरे तब यज्ञ सफल भयो । त्यसैले मनमा जसको जस्तो भावना हुन्छ उसले भगवान्लाई उस्तै रूपमा देख्छ ।

भगवान् सबैमा समान रूपले व्यापक हुनुहुन्छ, जसको जस्तो भावना हुन्छ, उसले उस्तै रूपमा देख्छ । सबैभित्र अनहद बाजा बज्छ, तर जसको सन्तहरूप्रति श्रद्धा हुँदैन अनि सबै प्रकारको अभिमान त्यागेर सन्तहरूको सेवा गर्दैन, उसको मनुष्य जीवनरूपी यज्ञ सफल हुँदैन। सबैभित्र दिन-रात शङ्ख, घण्ट, मृदङ्ग आदि बजिरहेको छ, तर गुरुको कृपा बिना कसैले सुन्न सक्दैन । सन्त ब्रह्मानन्दले भजनमा भनेका छन्-

अचरज देखा भारी साधो, अचरज देखा भारी रे।।
गगन बीच अमृत का कुआँ झरे सदा सखकारी रे।
पंगु पुरुष चढ़े बिन सीढ़ी, पीवे भर भर झारी रे।।
बिना बजाये निसदिन बाजे, घंटा शङ्ख नगारी रे।
बहरा सुनसुन मस्त होत है, तन की सुधि बिसारी रे।।
बिना भूमि के महल बना है, तामें ज्योति उजारी रे।
अंधा देख-देन सुख पावे, बात बतावे सारी रे ।।

एकदमै आश्चर्यको कुरा छ। आकाशमा अमृतको कुवा छ, जसबाट सदा सुख दिने अमृत झरिरहन्छ। पंगु पुरुष जसको हात-खुट्टा छैन, बिना सिडी आकाशमा चढेर त्यो अमृत झार्दै पिउँछ । फेरि कसैले नबजाई दिन-रात घण्ट, शङ्ख, नगरा बजिरहेको छ, जसलाई बहिराले सुनेर मस्त हुन्छ । बिना जग्गाको एउटा महल बनेको छ, जसमा दिन-रात उज्यालो ज्योति जलिरहन्छ, जसलाई एउटा अन्धाले देखेर सारा कुरा बताउँछ। अब बहिराले शङ्ख, घण्टी, नगराको आवाज कसरी सुन्छ अनि जग्गा बिनाको महल कहाँ छ अनि त्यो ज्योति कुन हो जसलाई अन्धाले देख्छ अनि जुन दिन-रात रहन्छ? त्यसैलाई रामायणमा भगवान्को भक्ति बताइएको छ ।

यस आँखाले त्यो शरीर रूपी महलभित्रको प्रकाशलाई देख्दैन। अन्धाले मात्र देखेर त्यहाँको सबै कुरा बताउँछ ।  अन्धाले कसरी देख्छ अनि जसले देख्छ त्यो अन्धा कहाँ भयो? हामी देख्छौँ कि मरेको मान्छे फेरि जीवित हुँदैन, तर त्यो मरेर फेरि जीवित हुन्छ । हाम्रो बल भोजन र पानी हो। एक दिन खानु-पिउन पाएनौ भने हाम्रो शरीरले काम गर्न छोड्छ। तर त्यो त नखाई, नपिई पनि सदा बलवान रहन्छ।

सन्त ब्रह्मानन्द भन्छन् , 'मैले यस्तो अचम्म देखेँ, तर मेरो यो कुरा बिरलै सन्तहरूले मात्र सम्झन्छन् ।' त्यो बिरला सेठ होइन जसले भगवान्को लागि घर (मन्दिर) बनाएको छ, अपितु सन्तहरूमा पनि कसै-कसैले मात्र यसको भेद जान्दछ । साधुहरू त धेरै बन्छन्, तर यो गूढ ज्ञानलाई जान्दैनन् । जसमाथि सद्गुरुको कृपा हुन्छ, उसले मात्र यस्तो आश्चर्यजनक कुराहरू देख्छ अनि सम्झन्छ ।

सूरदासले भनेका छन्- गुरुको कृपाले नै अपाङ्ग पुरुष पर्वतमाथि चढ्छ, अन्धाले  देख्न थाल्छ, लाटो बोल्छ, कङ्गालले पनि शिरमा छत्र धारण गर्छ । गुरु महाराज करुणाको सागर हुनुहुन्छ, यस कारण म बार-बार गुरुको वन्दना गर्छ, जसको कृपाले मलाई ज्ञान प्राप्त भएको छ ।

तुलसीदासले पनि भनेका छन्- जो खुट्टा बिना हिँड्छ, बिना हात सबै काम गर्छ, बिना  मुख सबै रसको स्वाद लिन्छ, बिना वाणी बोल्ने ठुलो योगी हो। बिना शरीर स्पर्श गर्छ, बिना आँखा देख्छ, बिना नाक सुग्छ। जसको यसरी वेद र विद्वानहरू महिमा गाउँदछ, त्यही महान शक्तिले प्रभु रामको रूपमा दशरथको घरमा जन्म लिएका छन् । जुन मानिसहरूले रामको मूर्तिलाई भगवान् सम्झन्छन्, उनीहरूले यो सोच्नु आवश्यक छ कि जब त्यो हिँड्दैन, खाँदैन या बोल्दैन भने, सन्त तुलसीदासको मतअनुसार त्यो भगवान्को स्वरूप होइन ।

भगवान् श्रीकृष्णले पनि आफ्नो यही स्वरूपलाई जान्नु भन्नु भएको छ, जसलाई जानेर जीव पापहरूको सबै बन्धनबाट मुक्त हुन्छ।

अपि चेदसि पापेभ्य: सर्वेभ्यः पापकृत्तमः।
सर्व ज्ञानल्पवेनैव बृजिनं संतरिष्यसि ।।।
यथैधांसि समिद्धोऽग्नर्भस्मसात्कुरुतेऽर्जुन ।
 ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।
 न हि ज्ञानेन सदृश पवित्रमिह विद्यते ।
 तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।

 हे अर्जुन! यदि तिमी पापीभन्दा महा पापी हौ भने पनि यो ज्ञान रूपी नौका द्वारा निःसन्देह सबै पापहरूबाट तरेर जानेछौ। यो परम ज्ञानद्वारा पाप यस्तरी दूर हुन्छ, जसरी घाम झुल्कन साथै अन्धकार स्वयं नष्ट हुन्छ। यो उत्तम ज्ञान पाएर साधन गर्नाले मनुष्यको हृदयको सबै विकारहरू स्वयं दूर हुन्छन्। जसरी प्रज्वलित अग्निले काठहरूको ढेरलाई भस्म पार्छ, उस्तै ज्ञान रूपी अग्निमा कर्महरूका सबै पाप रूपी बीजहरू जलेर भस्म हुन्छ । जसरी बीजलाई भुट्यो भने त्यसमा उम्रने शक्ति रहँदैन, उस्तै ज्ञानाग्निमा कर्मरूपी बीज जलेपछि त्यसमा फल दिने सामर्थ्य रहँदैन । वास्तवमा हृदयलाई पवित्र पार्ने ज्ञान समान जप, तप, तीर्थ, व्रत आदि कुनै पनि अर्को साधन छैन।

जसरी सूर्यको सूर्यसँग, चन्द्रमाको चन्द्रमासँग अनि समुद्रको उपमा समुद्रसँग नै हुन्छ, उस्तै प्रकार ज्ञान समान ज्ञान मात्र छ। ज्ञानलाई अरू कुनै कुराबाट सम्झन सकिँदैन ।

भगवान् कृष्ण भन्नुहुन्छ, 'यो ज्ञानलाई शुद्ध अन्त:करण भएको मनुष्यले मात्र आफ्नो हृदयमा अनुभव गर्दछ, यो ज्ञान इन्द्रियहरूको विषय होइन । इन्द्रियहरूद्वारा जानिने कुरालाई ज्ञान भन्नु ठुलो भूल हो। जुन मनुष्य परमात्माको ज्ञान प्राप्त गरेर भजन-साधनमा लाग्छ, उसले इन्द्रिय र मनलाई वशमा गरेर परम शान्ति प्राप्त गर्दछ। तर जसको ज्ञानमा श्रद्धा हुँदैन या जसको मनमा संशय हुन्छ, त्यस्ता संशययुक्त अज्ञानी मनुष्य जन्म-मरणको चक्रमा घुमिरहन्छ, उसलाई न यो लोकमा सुख मिल्छ न त परलोकमा सुख मिल्छ । उसको लोक-परलोक दुवै भ्रष्ट हुन्छ।'

अज्ञानी मनुष्य जसको हृदयमा भगवान्लाई जान्ने इच्छा हुँदैन, जिउँदै मरेको समान हो। जो भगवान्लाई याद गर्न छोडेर विषय-भोगहरूकै मात्र याद गरेर पनि आफूलाई भक्त सम्झन्छ, त्यो अभागीले व्यर्थ जीवन गुमाइरहेको छ, उसको जीवन पशुको भन्दा खराब छ। किनभने गाई, भैँसी आदि पशुले घाँस-पात खाएर पनि मनुष्यलाई दूध जस्तो अमृत पदार्थ दिन्छ, तर मनुष्यले त्यही चीजहरू खाएर मैला बनाउँदछ।  पशु मरेपछि त्यसको छाला, हड्डी, सिङ आदि मनुष्यको उपयोगमा आउने चीजहरू बन्छ, तर मनुष्यले त मरेपछि पनि कात्रो, अर्थी, दाउरा र चिहानको जग्गा आदिमा खर्च गराउँछ । मनुष्य जीवन उसैको सार्थक हुन्छ जसले भगवान्को याद गर्दै बिताउँछ ।

मनुष्यले विवाहमा सुख सम्झन्छ । तर एक त विवाहको  लागि धन जुटाउनुमा कति कष्ट हुन्छ। ऋण लिएर कुनै प्रकारले विवाह गर्‍यो भने पनि के सुख मिल्छ? नराम्री पत्नी पायो भने पनि दुखी रहन्छ, कसैले राम्री पत्नी पायो भने पनि अनेक प्रकारको चिन्ता गर्दछ। छोरा-छोरी भएन भने त्यतै चिन्ता, नानी भएर मर्‍यो या रोगी भयो भने झन् चिन्ता । छोरा-छोरी आमा-बाबुको आज्ञा नमान्ने, मनमानी गर्ने भयो भने दुःखी नै हुनुपर्छ । साँचो सुख त प्रभु परमात्मालाई प्रेम गर्नमा छ, बाँकी कुराहरूमा त दुःखै-दुःख मात्र छ ।

मोह नै सबै दुःख-व्याधिहरूको मूल हो, जसबाट सबै रोगहरूको उत्पत्ति हुन्छ। डाक्टर-वैद्यले शरीरको रोगहरूको उपचार गर्छ, तर मनको रोगको उपचार या औषधि गुरुबाट मिल्छ। सद्गुरु रूपी वैद्यको वचन रूपी औषधि अन्धा र प्रेमसँग सेवन गर्नाले मनको सबै रोगहरू दूर हुन्छ।



नयाँ