- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा हिमाल आरोहणलाई शैक्षिक अध्ययनको विषय बनाएर स्थापना भएको नेपाल माउन्टेन एकेडेमीकी संस्थापक तथा अध्यक्ष लाक्पा फुटी शेर्पाले नेपालमा पर्वतारोहण सम्बन्धी विश्वविद्यालय स्थापना गरेरै छाड्ने बताएकी छिन् ।
आठ हजार मिटर उचाइका विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमा नै पर्ने साथै सर्वोच्च शिखर सगरमाथा पनि नेपालमै पर्ने भएकाले आरोहण सम्बन्धी विश्वविद्यालय नेपालमा आवश्यक भइसकेको उनको भनाइ छ ।
नेपालमै पहिलो पटक विभिन्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘ब्याचलर अफ माउन्टेरिङ स्टडिज’ र ‘मास्टर अफ एडभेन्चर टुरिज्म’को अध्ययन गराइरहेको नेपाल माउन्टेन एकेडेमीकै अगुवाइमा भविष्यमा आरोहण सम्बन्धी विश्वविद्यालय स्थापना गराइने अध्यक्ष शेर्पाले जानकारी दिइन ।
शुरुमा पर्यटन विश्व विद्यालयको अवधारणा अघि बढाइए पनि नेपालमा पर्वतारोहण सम्बन्धी विश्वविद्यालय आवश्यक भएको अध्यक्ष शेर्पाको भनाइ छ । पर्यटन र साहसिक पर्वतारोहणका लागि हबका रुपमा विकसित भइरहेको नेपालमा पर्वतारोहण र पर्यटन सम्बन्धी अध्ययन गर्न स्वदेशी मात्र होइन विदेशी विद्यार्थीहरुका लागि पनि आकर्षक मानिन्छ ।
सिमित तालिमको भरमा चल्दै आएको पर्वतारोहण माउन्टेन एकेडेमीले त्रिविबाट सम्बन्धन लिई अध्ययन अध्यापन गर्दै आइरहेको छ । हाल ‘मास्टर अफ माउन्टेरिङ एन्ड माउन्टेन साइन्स’को पनि रिसर्जको काम अघि बढेको अध्यक्ष शेर्पाले हाम्राकुरालाई जानकारी दिइन । हिमाल आरोहीहरुलाई सामान्य तालिम मात्रै दिने परिपाटीलाई अन्त्य गर्दै सैद्धान्तिक, रचनात्मक ज्ञान र सीपको विकास गर्न विश्वमै पहिलोपटक पर्वतारोहण सम्बन्धी पढाइ शुरु गरिएको हो ।
‘पर्वतारोहण सम्बन्धी विश्वविद्यालय स्थापना गर्न पहिलो चरणमा आवश्यक मापदण्ड र प्रक्रियाको प्रारम्भिक तयारी गरिरहेका छौं । आवश्यक पूर्वाधारहरुको निर्माणका लागि काम अघि बढाएका छौं । केही स्थानमा जग्गा प्राप्त भइसकेको छ । अब क्रमशः विश्वविद्यालयका लागि तयारी गछौं,’ अध्यक्ष शेर्पाले भनिन्,‘विश्वविद्यालय स्थापना गर्न विश्वका धेरै देशहरुले तयारी गरे पनि सफल हुन सकेका छैनन् । तर नेपालमा सफल हुनेछौं ।’
विश्वविद्यालय बनाउने अभियान स्वरुप सोलुखुम्बुमा भौतिक संरचनाहरुको निर्माण भइरहेको छ । संखुवासभा र बन्दीपुरमा पनि जग्गा उपलब्ध गराउने दाताहरु तयारी अवस्थामा छन् । विदेश अध्ययन गर्न गइरहेका विद्यार्थीहरुलाई नेपालमै आकर्षित गर्न र हिमाल आरोहणबारे अध्ययन गर्न विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउन यस्तो अभियान अघि सारिएको शेर्पाको भनाइ छ ।
हिमाल हेर्न र घुम्न मात्र नभइ शैक्षिक अध्ययनको विश्वकै गन्तब्यका रुपमा नेपालमा विश्वविद्यालयको अवधारणा अघि सारिएको उनले बताइन । ‘यसका लागि नेपाल सरकारले पूर्ण साथ दिनुपर्छ । अन्य शिक्षासेवी, दाता र विदेशी निकायहरु स्वतस्फूर्त रुपमा सहयोग गर्न तयार छन्,’अध्यक्ष शेर्पाले भनिन् ।