- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा। कोरोना सङ्क्रमणको जोखिमसँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरूमा बिस्तारै खुल्न थालेका छन् । बौद्ध मार्गीहरूको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको बिस्तारै चहलपहल सुरु भएको छ ।
गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भिसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् ।
लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटकको सङ्ख्या अहिले न्यून भए पनि नेपाल सरकारले अनअराइभल भिसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विश्वास गरे । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी भ्रमणमा आउनेको व्यवस्थापन गरिने सदस्य सचिव शाक्यले बताए ।
उनले भने “कोरोना सङ्क्रमण कम भएपछि नेपाल सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर मठमन्दिर खोल्न क्रम सुरु भएको छ । हामीले पनि साउन महिनादेखि लुम्बिनी खुला राखेका छौँ । मन्दिर खला भएसँगै धार्मिक पर्यटनका लागि आन्तरिक पर्यटक आउन सुरु भएको छ । कोरोना सङ्क्रमण कम भए पनि सङ्क्रमणको जोखिम कायमै भएकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौँ । मायादेवी मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरेका छौँ । आन्तरिक पर्यटन आउन सुरु भए पनि पहिलाको तुलनामा धेरै कम सङ्ख्यामा आइरहनुभएको छ र यसलार्ई गति दिनुपर्छ । हामी आशा गर्छौँ नेपाल सरकारले अनअराइभल भिसा दिन सुरु गरिसकेको छ र दशैं, तिहार जस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यटक बढ्नेछन् ।”
लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवसको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना सङ्क्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाइ र मर्मत सम्भारको काम निरन्तर रूपमा गरिरहेको सदस्य सचिव शाक्यले बताए ।
कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैँचाहरूको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभई यहाँका होटेल व्यवसायीहरूले पनि काम गर्नुपर्नेछ । पर्यटकहरूको लागि होटेल व्यवसायीहरू र लुम्बिनी विकास कोषको संयुक्त कार्यक्रम प्याकेज आउन सकेमा कोरोनाले थलिएको व्यवसाय माथि उठ्न समय लाग्दैन ।