- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेश गठबन्धनको सरकारले बुधबार दिउँसो प्रतिस्थापन बजेट ल्याउने तयारीमा छ ।
त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।
यसअघि तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले अध्यादेश बाट बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लगिने भएको छ ।
अर्थ सम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ ख बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश सञ्चित रकम बाट खर्च गर्ने अधिकार सम्बन्धी जारी विनियोजन अध्यादेश खारेज गर्न संविधानको धारा र उपधारा अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता खड्काले बताए।
तर, यता प्रमुख विपक्षी एमाले पार्टीले भने, प्रतिस्थापन बजेट ल्याउन नदिने उद्देश्यले प्रदेश सभाको बैठक अवरुद्ध गर्ने जनाएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै, पटक पटक प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ ।
लुम्बिनी प्रदेश, एमाले पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले निर्णय गरी कारबाहीका लागि पठाएका दुई जना सांसदलाई कारबाही नगरिँदा सम्म सभा चल्न नदिने बताएका छन् ।
गत भदौ १ गते बाट सुरु भएको संसद्को नवौँ अधिवेशन पनि एमालेले अवरुद्ध गरेको थियो । एमालेको अवरोध र बहिस्कारका बिच असोज ७ गते मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासले झन्डै एक महिना पछि विश्वासको मत लिएका थिए ।