बाढीले घरबार विहीन भएका सोम बहादुरको क्लबले बनाइदियो घर
नारायण वली
प्रकाशित २०७८ असोज २१ बिहिबार
1k
Shares
रुपन्देही । गत भदौ ११ गतेको वर्षाले स्थानीय बभनी खोलामा आएको बाढी पसेर घर भत्किएपछि तिलोत्तमा नगरपालिका वडा-१३ बभनीका सोम बहादुर सुनार घरबार विहीन भए ।
दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका सुनार घरबार विहीन भएपछि थप समस्यामा परे अव यो बर्सातको वेला कसको घरमा लगेर परिवार राखौँ । यति मात्रै होइन उनी अझ समस्यामा परे अन्नपात समेत बाढीले बगाइदिए पछि ।
विपद्ले विचलित भएको परिवार कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले निकास नपाएका वेला सुनार परिवारलाई स्थानीय क्लबले अभिभावकत्व निर्वाह गर्दै सुनार परिवारलाई क्लबकै भवनमा व्यवस्थापन गरियो । त्यो पनि खाद्यान्न सहित ।
क्लबले व्यहोर्ने गरी सुनारको परिवारलाई एक महिना सम्मको खाद्यान्न सहित घर बहाल तिर्ने गरी क्लबले एउटा कोठा व्यवस्थापन गर्दै घरबार विहीन भएका सुनारको घर बनाइ दिने समेत नेतृत्व लिएको न्यु राईज यूथ क्लबका अध्यक्ष विष्णु पराजुलीले बताए ।
उनले भने बाढीले घर भत्काई दिएपछि अन्नपात लत्ताकपडा समेत बाढीले बगाए पश्चात् विपद्मा परेको बाढीपीडित सुनार लाई तत्कालै उद्धार गरी शुरुमा क्लवको भवनमा राख्यौँ त्यसपछि एउटा कोठा हामीले नै बहाल तिर्ने गरी व्यवस्थापन गर्यौ ।
अध्यक्ष पराजुलीले थपे विभिन्न उद्योगी व्यापारी तथा सर्वसाधारणहरू लगायत सँग बाढीपीडित सुनारको घर बनाउने सङ्कल्प लियौँ र सहयोग उठायौँ । अन्ततः सुनारको घर निर्माण गर्नेमा पुग्यौँ । अहिले दुई कोठे जस्तापाताको छाना र पक्की घर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
त्यस्तै क्लबका उपाध्यक्ष चित्र भण्डारीले बाढीपीडित सुनार परिवारलाई बाढीपीडित राहत उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पेस गर्दा समेत अझै केही नपाएको जनाए ।
भण्डारीले भने सरकारले प्राकृतिक विपद्ले क्षतिग्रस्त भएका लगायत अन्य विपद्मा परेकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहत दिने भन्ने निर्णयलाई उपयोग गर्दै बाढीपीडित सुनार लाई लगेर क्लबको नेतृत्वमा निवेदन पेस गर्यौँ तरपनि अझै सुनुवाइ भएन वास्तविक पीडितले नपाएको राहत कसले पाउने हो ? उनी प्रश्न गर्छन् ।
विभिन्न सहयोगीहरू बाट सङ्कलित रकमले बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा रहेको र आउँदै गरेको बडादसैँको फूलपाती भित्र्याउने दिन बाजागाजा सहित बाढीपीडित सुनार परिवारलाई सो घर हस्तान्तरण गर्ने तयारी भइरहेको उपाध्यक्ष भण्डारीले बताए ।