- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली काँग्रेसले मन्त्रीहरूको नामावली टुङ्ग्याउन नसक्दा शुक्रवार स्थगित भएको मन्त्रिपरिषद् आइतबार हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । नेकपा (एकीकृत समाजवादी)लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको बताइएको छ ।
नेपाली काँग्रेस बाट वन वातावरण तथा भू-संरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएको बुझिएको छ ।
काँग्रेसले मन्त्रीको नाम टुङ्ग्याएकाले शपथ ग्रहण हुने काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिए । यस्तै, नेपाली काँग्रेसले पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रीमा यसअघि नै दाङका डिल्ली बहादुर चौधरीलाई बनाई सकेको छ ।
नेकपा माओवादी केन्द्र बाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलक राम शर्मा मन्त्री बन्ने भएका छन् ।
नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमला कुमारी वली भने, राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने नाम चर्चामा थियो ।
माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । माओवादीले पाएका ४ वटा मन्त्रालय मध्ये एउटा मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको हो ।
नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती पनि मन्त्री बन्ने भएकी छन् । काँग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताएका छन् ।
यता, राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नामलाई समावेश गर्न नेतृत्वलाई दबाब परेको काँग्रेसका एक नेताले बताएका छन् । तर, राज्यमन्त्रीमा नेपाल काङ्ग्रेसकी सचेतक निर्मला क्षेत्रीले दाबी गरेको बताइएको छ ।