arrow

कार निर्मातादेखि ग्राहकसम्ममा चिप्सको अभाव, निम्तिँदै सङ्कट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
car-chip-shortages.jpg
तस्बिर : इडियाटाइम्स

काठमाडौँ। कोरोना भाइरसको महामारीका कारण सबैजसो क्षेत्रमा असर परिरहँदा गाडी सुविधाको क्षेत्र पनि अछुतो रहेन। आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा त हेरिन्छ नै त्यो भन्दा पनि सुरक्षा र स्वास्थ्यका दृष्टिले अपरिहार्य जस्तो ठानिन्छ। निजी कारको महत्त्व पनि झनै छ। कारण हो कोरोना भाइरस। सङ्क्रमण फैलिएको बेला एक मान्छेदेखि अर्को मान्छेबीचको भौतिक दूरीको प्रसङ्ग आउँदा निजी कारको महत्त्व बढेको हो।

‘एक बारको जुनीमा स्वास्थ्यसँग सम्झौता गर्नुभन्दा केही दुःख गरेर भए पनि गाडीको जोड्नु पर्छ’ भन्ने निष्कर्षमा धेरै मानिस पुगेका छन्। तर, विडम्बना, गाडीको आवश्यकता र माग बढिरहेको यो बेला कोरोनाको साइडइफेक्ट गाडी उत्पादनमा पनि परेको छ। कारण हो–चिप्स उत्पादनमा कमी। अहिले विश्वभरि नै चिप्सको अभाव बढेको छ । परिणाम– गाडी पारखीदेखि निर्मातासम्मलाई समस्या परेको छ।

यो चिप्स के हो त ? 
हामी आधुनिक सवारी साधनमा बाहिरी आँखाले देख्ने पार्टपुर्जा इन्जिन, गियरबक्स, च्यासिस, ह्वील, टायर, ग्लास, प्लास्टिक, स्टिल आदिलाई मात्रै याद गर्छौँ। तर, एउटा गाडीलाई बढी सुविधा सम्पन्न बनाउन धेरै किसिमका इलेकट्रोनिक कन्डक्टर तथा माइक्रो चिप्सजस्ता पार्टस् पनि आवश्यक पर्न थालेको छ पछिल्लो समय।

अहिलेको अत्याधुनिक कारहरूमा इन्जिनमा कति तेल पठाउने भन्ने कुराको निर्धारण गर्नेदेखि विन्ड स्क्रिनको वाइपर वा हेडलाइटको टाइमिङ, एयरव्याग र क्लाइमेट कन्ट्रोलजस्ता कामहरू कम्प्युटर चिप्सको मद्दतबाट सञ्चालन हुने गरेको छ।

आफ्नो गाडीमा एड्भान्स टेक्नोलोजी होस् र त्यसले यात्रालाई आरामदायी र सुविधा सम्पन्न बनाओस् भन्ने सोचिरहेका हुन्छौँ। प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा झन्डै १ सय वटाजति माइक्रो चिप्सहरूको प्रयोग हुन थालेको छ। अझ कारमा व्यापक रूपमा कनेक्ट फिचर र अटोनोमस प्रविधिको विकास भएसँगै चिप्सको मागमा अत्यधिक वृद्धि हुँदै गएको छ। ती चिप्सहरूले हाम्रो शारीरिक कठिनाइलाई निकै कम गराउँदै लगेको छ।

विश्वव्यापी रूपमा कोरोनाको कहर फैलिएसँगै चिप्सको सप्लाइ–चेनमा नराम्रो धक्का पुगेको छ, जसको कारण अटोमोवाइल कम्पनीहरूले अन्य पार्ट्सको उपलब्धता भए पनि कम्प्युटर चिप्स तथा सेमिमकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन्।

जापनिज अटो जायन्ट टोयोटाले सेप्टेम्बरको उत्पादनमा ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो। अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले आफ्नो दुई वटा उत्पादन प्लान्टको डबल सिफ्ट बन्द गर्ने निर्णय गर्नु परेको थियो। निसानले अमेरिकी र मेक्सिको प्लान्टमा हुने उत्पादनलाई घटाएको छ। फक्सवागेनले आफ्ना १० हजार कामदारलाई घर पठाउन बाध्य भएको जनाएको छ। यस्तो तथ्याङ्कले झस्काइदिन्छ। यसले अटोमोबाइलको दायरा र अवसरमा धक्का पुग्नेबारे सरोकारवालाहरू थप चिन्तित भएका छन्।

विश्व बजारको एउटा महत्त्वपूर्ण हिस्सा भारतीय अटोमोबाइल कम्पनीहरू पनि यस समस्याबाट टाढा रहन सकेनन्। चिप्स सप्लाइमा आएको मन्दीका कारण सवारी साधन उत्पादनमा कमी आयो। यसले ग्राहकहरूले आफ्नो रोजाइको सवारी साधन पाउन धेरै समय कुर्नुपर्ने बाध्यता आइपरेको हो।

नेपाली गाडी बजारको झन्डै ९७ प्रतिशत सवारी साधन भारतीय उत्पादनमा निर्भर रहेका कारण चिप्सको अभावको प्रत्यक्ष प्रभाव यता पनि स्वाभाविक रूपमा पर्‍यो नै। महिन्द्राका उत्पादनहरू विगत १ वर्षदेखि माग अनुसारको सप्लाइ भइरहेको छैन। हुन्डाई, सुजुकी, टाटा मोटर्सका भारतीय प्लान्टबाट उत्पादन हुने कतिपय कार मोडल खरिद गर्न लामो समयसम्म कुर्नुपर्ने अप्ठ्यारो बाध्यता आइलागेको हो। मागअनुसार पूर्ति नहुने क्रम बढ्दै जाँदा सम्बन्धित क्षेत्रमा हाहाकार हुने खतरा बढ्छ।
 
अटोमोबाइलमा कसरी बिग्रियो सप्लाइ चेन ?
कोभिडको कहरसँगै कारको बिक्रीमा विश्वव्यापी मन्दी आएको थियो । सोही समयमा धेरै कार कम्पनीहरूले आफ्नो उत्पादनलाई कटौती गरे। अझ कतिपय कार प्लान्ट त महिनौँ बन्द भएका थिए । यस्तो समयमा अटोमोबाइल उत्पादकहरूले कम्प्युटर चिप्सको पछिका लागि अर्डरहरू रद्द गरे। तर, सोही समयमा विश्वव्यापी रूपमा फैलिएको डिजिटल प्रविधि प्रयोग तथा ‘वर्क फ्रर्म होम कल्चर’ ले अफिसियल काम गर्ने परिपाटीको विकास गर्‍यो।

शिक्षा क्षेत्र, अनलाइन सपिङ तथा बेकिङजस्ता गतिविधिले स्मार्टफोन, ल्यापटप, वेभक्याम, मनिटरजस्ता वस्तुहरूको माग धेरै गुणाले बढाइदियो। फलस्वरूप: कन्जुमर इलेकट्रोनिक्स उत्पादकहरूले भने आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्दै लगे। अटोमोबाइल क्षेत्रले रोकेको अर्डर कन्जुमर इलेकट्रोनिक्स कम्पनीहरूले एकैपल्ट सबै खरिद गरिदिए।

जब अटोमोबाइल क्षेत्रको बिक्रीमा ‘रिवाउन्स’ सुरु भयो, तब अटोमोबाइल कम्पनीहरू चिप्स सप्लाएर कहाँ दौडिन लागे। तर, उनीहरू सप्लाइ लाइनको पुछारमा पुगिसकेका थिए। भविष्यको धेरै समयसम्मको सप्लाइ कन्जुमर इलेकट्रोनिक्स कम्पनीहरूले बुक गरेका कारण अटो निर्माता कम्पनीहरू अहिले आएर आफ्नो नियमित उत्पादन नै कटौती गर्न बाध्य भए।

चिप्स कम्पनीहरूले पनि अटो मोबाइललाई प्राथमिकतामा राखेका पक्कै छैनन्। विश्व बजारको सबै सेमी कन्डक्टर उत्पादनको मात्र ८ प्रतिशत हिस्सा अटोमोबाइल कम्पनीले उपभोग गरिरहेका छन्। उदाहरणका लागि एप्पलले वार्षिक रूपमा चिप्सका लागि ५६ अरब अमेरिकी डलर खर्च गर्छ भने टोयोटा जत्रो अटोमोबाइल कम्पनीको वार्षिक खर्च चिप्सलगायत सेमी कन्डक्टरहरूमा मात्र ४ अरब डलरको रहेको छ। यस्तो अवस्थामा चिप्स कम्पनीहरूले आफ्नो ठुलो ग्राहकलाई सधैँ पहिलो छनोटमा राख्नु कुनै अनौठो कुरा होइन।

यदि अटोमोबाइल कम्पनीलाई पहिलो प्राथमिकतामा राखियो भने पनि लाखौँ सर्किटहरूलाई जोडेर बनाइने सानो सिलिकनको टुक्रा आकारको चिप्स बनाउनका लागि कम्पनीहरूलाई २६ हप्ता अर्थात् आधा वर्ष जति समय लाग्छ। उद्योगहरूमा गरिएको अध्ययनअनुसार एउटा कम्प्युटर चिप्स बनाउन ८ हजार लिटर पानीको आवश्यकता पर्छ। यति धेरै पानीको प्रयोग हुने हुँदा चिप्सको उत्पादन बढाउन कम्पनीहरूलाई दैनिक करोडौँ लिटर पानी थप आवश्यक हुन्छ। यही कारण कम्पनीहरूले चाहेर पनि अटोमोबाइलको चिप्सको मागलाई पूरा गर्न सक्दैनन्।

चिप्सको मार्केट सेयर कस्तो छ त ?
भौगोलिक आधारमा सबैभन्दा धेरै सेमी कन्डक्टर तथा चिप्सको उत्पादन एसिया प्यासिफिक क्षेत्रमा हुने गर्छ। चिप्सको उत्पादन गर्ने स्थानलाई फाउन्ड्री भनिन्छ। यस्ता फाउन्ड्रीहरू भियतनाम, ताइवान, चीन, जापान तथा दक्षिण कोरियामा धेरै रहेका छन्।

सन् २०२१ को पहिलो क्वाटरको डाटाअनुसार विश्वको चिप्स तथा सेमी कन्डक्टर मार्केटको सबैभन्दा धेरै ५६ प्रतिशतको बजार हिस्सा ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) को रहेको छ । त्यसपछि कोरियाली कम्पनी सामसुङको हिस्सा करिब १८ प्रतिशत रहेको छ। त्यस्तै ग्लोबल फाउन्ड्री तथा युएमसीको समान ७ प्रतिशत रहेको छ । बाँकी कम्पनीहरूले १२ प्रतिशत मात्रै चिप्स बनाउने गर्छन्। चिप्स अभाव भएपछि गाडी निर्माताहरू मात्रै समस्यामा परेका छैनन्, अटो उद्योगको राजस्वमा २ सय १० अरब डलरभन्दा धेरै नोक्सान भएको छ। 

यस्तो पनि अनुमान लगाइँदै छ कि अटो मोबाइलले २०२१ मा ७.७ मिलियन युनिट उत्पादन पनि गर्न सक्दैन। उत्पादनमा कमी आउनुमा कच्चा पदार्थ मात्रै कारक नभएर श्रमको कमीलाई पनि महत्त्वपूर्ण पाटोको रूपमा उल्लेख गरिएको छ। चिप्सको कमीपछि केही देश र क्षेत्रमा यस्तो चिन्ता बढ्न थालेको छ कि यही  कारणले सम्पूर्ण अर्थव्यवस्था नै गडबड हुने त होइन ?चीन–अमेरिकाको व्यापार युद्ध सुरु भएसँगै अमेरिकाले यस्ता फाउन्ड्रीको स्थापना अमेरिकामै बढाउँदै लगेको छ। अमेरिकाले आफ्ना उत्पादनहरूमा प्रयोग हुने चिप्स अमेरिकामै उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

उता, चीनमा पनि सन् २०२१ को सुरुआतसँगै चिप्स डिजाइनिङ तथा म्यानुफ्याक्चरिङको क्षेत्रमा काम गर्ने १५ हजारभन्दा बढी कम्पनीहरू स्थापना भएका छन्। जापानले पनि सेमी कन्डक्टर उत्पादनको रिसर्चका लागि ३७ अरब जापानी येनको लगानी गरेको छ। जापानको हिताची हाइटेक कर्पोरेसनले टीएसएमसीसँगको सहकार्यमा उत्पादन गर्ने योजना अघि बढाएको छ। जापानकै अन्य २० कम्पनीसमेत यस्ता उत्पादन बढाउन काम गरिरहेका छन्। साउथ कोरियाले पनि यस्ता कम्पनीहरूका लागि ५ सय १० ट्रिलियन कोरियन वानको कर छुट योजना अघि बढाएको छ।

हामीले जुनसुकै आँकडाबाट तथ्याङ्क पल्टाए पनि चिप्सको अभावका कारण अन्य उत्पादनजस्तै अटो उद्योगमा पनि ठुलो सङ्कट आइलागेको देखिन्छ। तर, चिप्सको अभावलाई कसरी परिपूर्ति गर्ने भन्नेबारे ठोस विकल्प र पहलकदमी दृश्यमा देखिँदैन। सही समाधान नभए यसले विशाल आर्थिक घाटा सहनुपर्ने र ग्राहकहरूले आफ्नो रोजाइमा अत्याधुनिक सवारी साधन प्रयोग गर्न पाउने अवसरमा पनि कमी आउने देखिन्छ नै। सम्बन्धित क्षेत्रले बेलैमा ध्यान नदिने हो भने यसले ठूले क्षति ल्याउने निश्चित छ। अत्याधुनिक गाडी सहजै चढ्ने ग्राहकको माग र चाहना बेलैमा सम्बोधन हुँदा नै आर्थिक समृद्धिको सपनालाई साकार पार्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ