arrow

केपीसँग भीम रावलको सिँगौरीः भन्छन्–दश बुँदे सहमति एक तारे होइन, एघार तारे बिगुल हो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
kp-oli-bhim-rawal-uml.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउनका लागि गरिएको १० बुँदे सहमतिको कुनै औचित्य नभएको बताएपछि पार्टी उपाध्यक्ष भीमबहादुर रावलले त्यसको काउण्टर दिएका छन् । पार्टीलाई एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमतिलाई ओलीले तीन महिनापछि औचित्यहीन भएको बताएपछि रावलले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै ओलीलाई काउण्टर दिएका हुन् । 

पार्टी बचाउन गरिएको ११ तारे बिगुल भएको बताउँदै यदि यो कार्यान्वयन नभए पार्टीलाई ठूलो क्षति हुने रावलले सङ्केत गरेका छन् । १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने भन्दै माधवकुमार नेपाललाई साथ दिएका १० जना नेताहरू पार्टीको विवादलाई सुल्झाउने भन्दै विभाजनमा लागेका थिएनन् । 

तर ओलीले बुधबार बागमती प्रदेशको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरूले बनाएको पार्टीमा आफैँ काम गर्ने भन्दै सहमतिको औचित्य समाप्त भएको बताएका थिए । त्यस लगत्तै उपाध्यक्ष रावलले ओलीलाई ठण्डा दिमागले सोच्न आग्रह गरेका छन्।  

‘१० बुँदे सहमति एकतारे होइन पार्टी एकता बचाएर देश हितको लागि बजाइएको ११ तारे बिगुल हो, यसको धुन संस्थागत भइसकेको छ सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ’, ट्विट गर्दै रावलले भनेका छन् ।

ओलीले माधवकुमार नेपाल पार्टीमा रहन्छन् भनेर सहमति गरिएको भन्दै उनी नै नरहेपछि त्यसको कुनै औचित्य नभएको बताएका थिए। ‘अब १० बुँदे १० बुँदे ट्याङट्याङ, ट्याङट्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे’, पार्टी अध्यक्ष ओलीले भनेका थिए ।

पार्टीभित्र रावलका अतिरिक्त घनश्याम भुषालले पनि ओलीलाई काउण्टर दिइरहेका बेला बुधबार ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । केपी ओली प्रधानमन्त्री हुँदा पनि रावलले ओलीसँग सिँगौरी खेल्न भने छाडेका थिएनन् । 

१० औँ महाधिवेशनमा अहिले विधान महाधिवेशनले गरेका निर्णय संशोधन गर्ने सहमति भएको घनश्याम भुषालले दशैं अघि नै बताएका थिए । तर ओलीले विधानमा भएका प्रावधानहरू केही पनि नहट्ने सङ्केत गरेका छन् । ‘विधान महाधिवेशनमा भएका निर्णयमा हामी छलफल गर्छौँ भनेर स्थायी कमिटीमा सहमति भएको छ। निर्णय करेक्सन गर्छौं’, भुषालले भनेका थिए । 

तर ओलीले  सारङ्गी बजाएजस्तो हात बनाउँदै अब दश बुँदेको गीत गाइरहनु आवश्यक नभएको बताएका थिए । माधव नेपाललाई छाडेर अन्तिम समयमा भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, युवराज ज्ञवालीलगायत दोस्रो पुस्ताका १० नेता त्यही दश बुँदे कार्यान्वयनको अपेक्षामा माधव नेपालको साथ छाड्दै एमालेमै रहेका थिए।

अहिले पनि भीम रावल लगायतका नेताहरूले दश बुँदे कार्यान्वयनको कुरा उठाउने गरेका छन् । दश बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई उही पदमा राख्नेलगायत पछिल्लो निर्णयलाई नै ओलीले कायम राखेबाटै दश बुँदेको औचित्य समाप्त भएको सङ्केत गरेका थिए । 

एमाले भित्र १० बुँदे सहमति र संसद् विघटनको विषय उठ्ने गरेको छ। एमालेको प्रथम विधान अधिवेशनमा पनि ओलीले १० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूलाई कुनै भूमिका दिएका थिएनन् ।

‘अब के दश बुँदे दश बुँदे, हाम्रो पार्टी हामीले बनाएको पार्टी। एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढ्ने । सिद्धियो । साथीहरूले अलि अलि बाटो बिराउनुभयो होला फर्केर आउने पार्टीमा काम गर्ने’, पार्टी अध्यक्ष ओलीले भने ।

उनले  माधव नेपालसँग गएकाहरूलाई पनि फर्केर आए उचित जिम्मेवारी दिन आफू अझै तयार रहेको बताएका थिए।  उनले तर माधव नेपाललाई अपराधीको संज्ञा दिँदै पार्टीमा ‘नो इन्ट्री’ भने । 

‘२०५४ सालमा वामदेव गौतमले गरेको भन्दा ठूलो अपराध गरेका छन् उनलाई पार्टीभित्र ‘नो इन्ट्री’, ओलीले भने, ‘माधव नेपालले सोचेका होलान् वामदेव गौतमलाई जस्तो पार्टीमा ल्याउँछन् भनेर तर उनलाई नो इन्ट्री ।’ 

आफ्नो नेतृत्वको सरकार ढालेको सबैभन्दा बढी पीडा रहेको सङ्केत स्वरूप ओलीले नेपालमाथि आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको एक मात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको बताउँदै उनीहरूको गठबन्धन भत्कन सक्ने बताएका छन् । 

गठबन्धनकै कारण नेपाली कांग्रेसका कार्यकर्ता कहाँ कसलाई भोट हाल्ने भनेर अलमलमा परेको उनको भनाई थियो । ‘सरकारको चार्म घटेको छ, चुनावसम्म साँठगाँठ जोगाउन मात्रै ध्यान छ । अरूको त कुरै छोडौँ कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर’, अध्यक्ष ओलीले भने । 

ओलीले कांग्रेसहरूबाटै गठबन्धनमा धोका हुने सङ्केत गर्दै गठबन्धन भत्काउनु परेमा थोरै समय मात्रै लाग्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ