arrow

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेको छ ।  शुक्रवार समाजका तर्फबाट सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गरि  राजीनामा दिन आग्रह गरेका हुन् । 

'प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजीनामा-बहिर्गमनको माग तीव्र भइरहेको छ । पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रूपमा झनै च्युत भएको सत्य हो । यावत कारणले एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधान न्यायाधीशको राजीनामाको माग गरेको, अर्कोतिर  प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको छ ।  यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण छ र यसको निरन्तरताले निम्त्याउन सक्ने अव्यवस्था र अराजकता, लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुनसक्छ । यो असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधान न्यायाधीश राणाले शीघ्र राजीनामा दिई निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ' विज्ञप्तिमा उल्लेख छ ।

शान्ति समाजले प्रधानन्यायाधीशले राजीनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाइ वर्तमान प्रधान न्यायाधीशको बहिर्गमन सुनिश्चित गर्न संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई समेत आग्रह गरेको छ  ।

न्यायिक क्षेत्रमा यस्तो स्थिति उत्पन्न हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तीव्र राजनीतिकरण, बिचौलियाको बिगबिगीदेखि अनेकौँ कारणहरू रहेका छन् । त्यसका लागि सबै प्रमुख दलहरू धेर थोर जिम्मेवार रहेको समाजको ठहर छ ।

मानव अधिकार तथा शान्ति समाजले लामो समयदेखि न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शिताबारे न्यायिक नेतृत्वहरूलाई ध्यानाकर्षण गराउँदै आएको थियो भने राजनीतिक वा अन्य दबाब वा प्रलोभनबाट न्यायाधीशहरूको नियुक्ति र बढुवा प्रभावित हुनु हुँदैन भन्नेमा जोड दिँदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ