- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। दशौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने पार्टी अध्यक्ष केपी ओलीको चाहानामा भीम रावल वा घनश्याम भुसाल तगारो बन्ने भएका छन्। हालका उपाध्यक्ष रावलले गृह जिल्ला अछाम पुगेर आफू पार्टी अध्यक्षमा चुनाव लड्ने भन्दै उम्मेदवारी घोषणा गरे। ‘ओलीले पनि चुनाव हारेका हुन् हारको चिन्ता नगर्नुस् अध्यक्षमा चुनाव लड्छु’, रावलले भने।
रावलले यो भन्दै गर्दा अहिलेको विधानमा वरिष्ठ नेताको व्यवस्था हटिसकेको छ। पार्टी भित्रै दुई लाइनको सङ्घर्ष छ ओली मात्रै नेता होइनन् अरू पनि नेता छन् भन्ने सन्देश दिनका लागि पनि ओलीलाई सर्वसम्मत छोड्नु हुँदैन भन्ने मान्यता रावल–भुसालमा रहेको छ।
‘म दोहोर्याएर कक्षा पढ्दिनँ’ भनेका अध्यक्ष ओलीले गोदावरी विधान महाधिवेशनबाट ७० वर्षे उमेर हदको व्याख्या गराएर सकेसम्म सर्वसम्मत अध्यक्षमा दोहोरिँदै छन्। नेकपाकालीन समयलाई शून्य मान्दा एमालेलाई १०औँ महाधिवेशन २०७९ वैशाखसम्म गर्दा हुने सुविधा भए पनि ओलीले आगामी निर्वाचन र विधानमा भएको ७० वर्षे उमेर हदलाई ध्यानमा राखेर जतिसक्दो चाडै महाधिवेशन गर्न चाहे।
ओलीकै चाहना बमोजिम एमालले आउँदो मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्दैछ। ‘७० वर्ष नपुग्दै उम्मेदवार भएर निर्वाचित पदाधिकारीले कार्यकाल पूरा गर्न पाउनेछ ’, विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले भनेका थिए। सबैभन्दा बढी पीडा ओली समूहमा रहेका नेताहरूलाई परेको छ। सर्वसम्मत हुँदा सुवास नेम्वाङ, किरण गुरुङ, लगायतका नेताहरूलाई पार्टीमा समावेश गर्ने ठाउँ छैन।
भीम रावलले अध्यक्षमा चुनाव लडे सुवास नेम्वाङलाई उपाध्यक्षमा समावेश गर्न सकिन्छ कि भन्ने झिनो आशा रहेको छ। राज्य सत्तामा सबैभन्दा बढी लाभ लिएका नेम्वाङलाई पार्टी सत्ता भने उनका लागि कठिन बनेको छ। अहिले पूर्वमाओवादी समूह र १० बुँदे सहमति गरेर एमालेमा रोकिएका नेताहरू सहमतिको महाधिवेशनका पक्षमा छन्।
रावल र भुसालको पद सुरक्षित हुने अवस्था नभए उनीहरूले पार्टी अध्यक्ष, उपाध्यक्ष वा महासचिवमा उम्मेदवारी दिने तयारीमा छन्। १० बुँदे सहमति गरेर एमालेमा बसेका सुरेन्द्र पाण्डे पनि हलुका ढङ्गले महासचिवमा इच्छा जाहेर गरेका छन्। तर उनी महासचिव बन्ने सम्भावना निकै कम रहेको छ।
महासचिवमा विष्णु पौडेलकै सम्भावना बढेको बेला पाण्डेलाई उपाध्यक्षमा थन्क्याउन सक्ने सम्भावना रहेको छ। उनले महासचिव भन्दा तलको पदमा नबस्ने जनाएका छन्। ‘सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई पनि भेटेर महासचिव भन्दा तलको कुनै पनि पदमा नरहने बरु केन्द्रीय सदस्य मात्रै हुने भनिसकेका छन्’, पाण्डे निकट रहेका एक नेताले भने।
एमालेमा हाल पूर्वमाओवादी समूह, एमालेमा रहेका दुई वटै धारको सम्मानजनक व्यवस्थापन हुने गरी महाधिवेशनलाई सहमतीय बनाउनुपर्ने पक्षमा एमाले पङ्क्ति लागेको भए पनि ओलीले के भन्छन् भनेर सबैले ओलीको अभिव्यक्ति कुरिरहेका छन्।
अध्यक्ष ओलीसँगै उमेर हदका कारण उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, महासचिव पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र रामबहादुर थापाका लागि १० औँ महाधिवेशन अन्तिम कार्यकाल हुनेछ।
त्यस कारण पनि रावलले ओलीलाई चुनौती दिन खोजिरहेका छन्। ६६ वर्ष पुगेका रावलले अहिले सम्मानजनक अवस्था नपाए आगामी नेतृत्व उनका लागि फलामको च्यूरा साबित हुनेछ। देशभर वडा र पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले आगामी महाधिवेशनमा पनि कम्तीमा पदाधिकारीसम्म सर्वसम्मत गर्ने सन्देश दिन खोजेका बेला रावलले ओलीसँग भिड्ने चाहाना देखाए।
सुदूरपश्चिममा कमजोर बन्दै गएका रावललाई ओलीले पनि खास महत्त्व दिएका छैनन्। सबैतिर १० बुँदे सहमति कार्यान्वयन भइरहँदा सुदूरपश्चिममा भने त्यो लागु भएन। रावलको उम्मेदवारीप्रति निकटका नेता खगराज अधिकारीले उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिन्छु भन्ने नौलो कुरा नभएको बताएका छन्।