arrow

एमालेका पूर्व सांसद र वडाध्यक्ष थुनामा, मुद्दा दर्ता

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असार २५ सोमबार
muku-uml-samsad.jpg

मुगु ।  २०७४ सालमा मुगु जिल्ला प्रदेश १ बाट कणाली प्रदेश सभा सदस्यमा निर्वाचित निवर्तमान सांसद दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वर्तमान वडा अध्यक्ष खेम बहादुर रावल विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा आइतबार जिल्ला प्रशासन कार्यालय मुगुमा मुद्दा दर्ता भएको छ ।

शनिबार बेलुका पूर्वाधार विकास कार्यालय मुगुका निर्मित कार्यालय प्रमुख ई दत्त बुडथापा माथि छायाँनाथ रारा नगरपालिका वडा नं ६ मा सम्पन्न भएका दुई वटा योजनाको कम मूल्याङ्कन गरि लागत कम निकालेको र सम्झौता अनुसारको पूर्ण बजेट भुक्तानीका लागी दबाब दिँदा कार्यालय प्रमुखले जति काम भएको छ सोही अनुसार मात्र रकम भुक्तानी दिने अडान राखेपछि दुवै जनाले बुडथापा माथि हातपात गरेको आरोप लगाइएको छ । 

कार्यालय प्रमुख माथि हातपात र कार्यालय प्रमुखका कार्यकक्षमा समेत तोडफोड गरेपछि प्रहरीले पूर्व सांसद र वडा अध्यक्षलाई शनिबारै गमगढी बजारबाट पक्राउ गरेको र उनीहरू विरुद्ध प्रहरीले आइतबार अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी गराए ।

शनिबार चालु आर्थिक वर्षको योजनाहरूको अन्तिम भुक्तानी दिँदै थियौ पूर्वाधार विशेष कोष अन्तरगत छायानाथ रारा नगरपालिका वडा नं ६ मा रहेका २ वटा योजनाहरू खडकाधारा देखि रिगामाडु र माथि बालै हुँदै पाँचथलासम्म सडक योजनाको लागत ईष्टमेट अनुसार प्राविधिक चेकजाँच गर्दा काम कम भएको पाइएको थियो । 

त्यसैका आधारमा अन्तिम विल निकाल्दा ती योजनाहरू बारे बुझ्न दुवै जना कार्यालयमा आएको र सम्झौता अनुसार सबै रकम भुक्तानी गर्न दबाब दिएका थिए । आफुले कामै नगरेको भुक्तानी दिन नसक्ने, जति काम भएको छ त्यति मात्र भुक्तानी दिन्छु भन्दा आफू माथि हातपात र कार्यकक्ष तोडफोड गरेको ई दत्त बुडथापाले बताए । 

४० लाखको योजनामा १० लाख र ५० लाखको योजनामा ३० लाख जति मात्र काम भएकाले सोही अनुसार पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूले दुवै योजनाका अन्तिम विल उठाएका थिए । 

उपभोक्ता समितिसँग प्राविधिकहरूले विल बढाई दिन्छौ, सम्झौता अनुसार भुक्तानी दिन्छौ भनी पैसा मागेपछि सो बारे बुझ्न शनिबार हाम्रा पूर्व माननीय र वडा अध्यक्ष कार्यालयमा जाँदा उल्टै कार्यालय प्रमुख र कर्मचारीहरूले गालीगलौज, मुकछाडाछाड गरेको नेकपा एमाले छायाँनाथ रारा नगर कमिटीका अध्यक्ष एवं वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाईले आरोप लगाए । उनले सत्ता आडमा दुवै जना पक्राउ गरि मुद्दा चलाइएको बताए । 

आरोपीहरूलाई २५ दिन भित्र  जिल्ला प्रशासनमा बुझाई सक्नु पर्ने कानुनी प्रावधान रहेको छ । 

थप अनुसन्धानका लागी दुवै जनालाई १० दिनसम्म थुनामा राख्न प्रहरीले जिल्ला प्रशासनसँग म्याद समेत लिइसकेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले जानकारी गराए ।  

यता माओवादी केन्द्र सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेको छ । सङ्गठनले प्रेस विज्ञप्ति निकालेर मागको सम्बोधन नभए आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ । 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ