arrow

बाढीले विद्यालय बगाएपछि खुला चौरमा पढाई

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
bajhang-bagar.JPG
खप्तड छान्ना गाउँपालिका १ खाती गाउँमा रहेको जगदम्बा निमावि बगाए पछि खुल्ला आकाश मुनी  पठन पाठन गरिँदै । तस्बिर: शैलेन्द्र रोकाया । 

बझाङ । कात्तिक १ गते देखि ३ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खाती गाउँमा रहेको विद्यालय बगाए पछि अहिले खुल्ला आकाश मुनी पठन पाठन सुरु भएको छ । खती गाउँमा रहेको जगदम्बा निमाविको आठ कोठे पक्की भवन जडारीगाडमा आएको बाढीले बगाए पछि बिद्यार्थी हरुलाई खुल्ला चौरमा राखेर पढ्न पाठन सुरु गरिएको हो ।  

बाढी पहिरो आएको महिना दिन बिती सक्दा पनि सरोकारवाला निकायले ध्यान दिन नसक्दा बिद्यार्थीहरुलाई खुल्ला चौरमा पढाई सुरु गरेको हो । विद्यालय भवन निर्माणका लागी विभिन्न निकायमा पहल गरेको भए पनि कुनै पनि ठाउँबाट सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताए । उनले भने, “बाढीले स्कुल बगाए पछि हामीले विभिन्न ठाउँहरूमा निवेदन दियौँ । हाल सम्म कुनै पनि निकायबाट न आश्वासन पायौ न त सहानुभती नै पायौँ ।” 

विद्यालय भएको ठाउँबाट झन्डै एक किलो मिटर टाढा रहेको  जडारीडाडले यसरी वितण्डा मच्चाए आउँछ भन्ने परिकल्पना नगरेका स्थानीयहरु अहिले सामान्य रुपमा आकाशमा बादल लाग्दा समेत विद्यालय बन्द गरेर घर पठाउनु पर्ने बाध्यता आई लागेको छ । १ सय ६० जना विद्यार्थी सङ्ख्या रहेको  उक्त विद्यालयका शौचालय सहित आठ वटा कोठाहरू बगाएर बगर बनाएपछि बिद्यार्थीको पठन पाठनमा समेत अवरुद्ध गर्नु पर्ने अवस्था आएको छ । 

विद्यालयलाई स्थानान्तरण गरेर भौतिक पूर्वाधार सबै निर्माण गर्नु पर्ने अवस्था आएपछि विद्यालयको पढाई भने नियमित रुपमा अवरुद्ध हुँदै आएको छ । चिसो याम सुरु भए सँगै घाम लागेका बेला स्कुलमा नियमित पढाई हुने भए पनि धाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थी समेत बाहिर बस्न नमान्ने स्थिति आएको अभिभावकहरूको भनाई छ । स्थानीय अभिभावक हर्क खातीले भने, “अहिले त मौसम सामान्य भएकाले जेनतेन पढाई सुरु भएको भए पनि मौसम प्रतिकुल भए पछि भने समस्या हुने भएको छ । 

बाढी आएको यत्रो समय बिती सक्दा पनि राहत तथा विद्यालय भवन स्थानान्तरणका लागी हाल सम्म पनि कुनै पनि पहल हुन नसक्नु दुखद हो ।” बाढी गाउँमा पसेर कमाई खाने खेत सहित उठिबास भएका यहाँ स्थानीयहरूले चैन सँग आफ्ना नानी बाबुहरूलाई शिक्षा समेत समय दिन सकेका छैन । एका तिर खान लाउनको जोहो गर्नु पर्ने झंञ्जट छ भने अर्को तर्फ बालबालिकाको भविष्य समेत अन्धकार हुने अवस्था आएको छ । बाढी पछि निकै शोकमा डुबेको खाती गाउँ बस्ती आफ्नो लयमा फर्कन अझै समय लाग्ने भएको छ । यो समयमा यहाँका किसानहरू गँहुबाली लगाउनमा व्यस्त हुन्थे । 

रोजगारीका लागी विदेश गएकाहरू समेत (मङ्सिर लगाउन) गहुँ बाली लगाउन घर आउने गर्थे । यहाँका किसानहरूका लागी (मानु लगाएर मुरी फलाउने ) गँहुबाली लगाउने समयमा खेतीयोग्य जमिन समेत बगाएर लगे पछि बगर हेरेर टोलाएर बस्नु पर्ने अवस्था आएको छ । घर अगाडीको जिउलो बगर बनाएपछि यहाँका झन्डै एक सय भन्दा बढी परिवारको बिचल्ली भएको छ । खाती गाउँका स्थानीय ललित खातीले भने , “केही घरहरू त बाँकी थिए तर आगमनै गाड बग्न थाले पछि कतिखेर बाढी आएर बगाई लिन्छ भन्ने पिरालोले रातभरि निन्द्रा लाग्न छोडी सक्यो । भात खाने सबै खेतहरू बगर भए । बालबालिकालाई स्कुल पढाउन पढाउन समस्या छ । यहाँका अधिकांश बस्तीहरूमा खानेपानीको पाइपहरू पहिरो लिएपछि खोलाको धमिलो पानी खानु पर्ने अवस्था आएको छ भने आवत जावत गर्न बाटोहरू छैन । यस पटक त छान्ना क्षेत्रमा ठुलो प्रलय जस्तै भएको छ ।” गाउँपालिका सबै वडाहरूमा समेत बाढी पहिरोले क्षेद विच्छेद बनाएको छ । सामान्य रूपमा हिँड्नलाई बाटोघाटो छैन । 

अधिकांश बस्तीहरूमा खानेपानीको अभाव , दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ । गाउँपालिकाका सबै वडाहरूमा बनेका सडकहरू तहस नहस भएका छन् । बाढी पहिरोको निरीक्षणका लागी प्रधानमन्त्री,गृहमन्त्री, मुख्यमन्त्री , सभामुख लगायतका अधिकांश नेताहरू आए पनि छान्ना क्षेत्रका स्थानीयका दुख तथा पिडाका स्वरहरू कसैले पनि नसुनेको यहाँका स्थानीयहरूको आरोप छ । खेतीयोग्य जमिन कटान गरि बगर बनाएको , अधिकांश परिवारको उठिबास भएको भए पनि सरकारी निकायबाट न त राहत तथा पुनर्स्थापनाका भरपर्दो प्याकेजहरू आए । 

यता गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने, “बाढी तथा पहिरो पीडितका लागी यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषण गर्नका लागी सरकार सँग जोडदार माग गरेका छौ । त्यति मात्र नभएर प्रदेश र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गर्नका लागी डेलिगेसनमा जाने तयारी समेत गरेको छौ ।” उनले खाती गाउँमा बगाएको विद्यालयलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्नका लागी आवश्यक पहल भई रहेको बताए । उनले भने, स्थानीय बासिन्दाको पायक पर्ने स्थानमा विद्यालय सार्नका लागी जग्गाको खोजी भई रहेकाले केही समय लाग्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ