arrow

अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ : प्रचण्ड

एमसिसीको समस्या समाधान हुनेमा विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
dahal_g1.JPG
फाइल तस्बिर

चितवन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रबाट समाधान होस् भन्ने चाहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताएका हुन्।

उनले भने, “अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरूले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो।” अदालतमा देखिएको समस्याप्रति दलहरू चिन्तित रहेको उनको भनाइ थियो।

उनले भने, “गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ।” केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उनको भनाइ थियो। उनले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताए।

उनले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिए। उनले भने, “एमसिसी त्यति ठुलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ।” नेकपा (एमाले )को महाधिवेशन पछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उनको भनाइ थियो। उनले थपे, “सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो।”

पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तर विरोधका कारण समस्या आएको उनको भनाइ थियो। उनले भने, “हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ।” नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उनले एमसिसीको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे। वडा, नगर हुँदै हुने अधिवेशन लगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उनले सहकार्य भएर अघि बढ्ने बताए। उनले भने, “विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो।” बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ