- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको गौरवको रूपमा विकसित हुँदै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय अस्पतालका कर्मचारीहरूले मध्यरातमा मदिरा सेवन गरी होहल्ला गरेको पाइएको छ ।
मङ्सिर २५ गते शुक्रवार राति साढे ११ देखि १२ बजेभित्रको समयमा अस्पतालका अफिसर सुरेन्द्र भण्डारी, सुब्बा श्रीराम पाण्डे र स्टोर किपर रुपलाल पन्थीले मदिरा सेवन गरी अनावश्यक कार्य गरेको रहस्य खुलेको हो ।
मध्यरातमा अस्पताल अनुगमन गर्ने भन्दै अस्पतालमा छिरेका ३ जना कर्मचारीहरूले मदिराको मातमा गेटमा खटिएका पाले (सेक्युरिटी)लाई पटक-पटक सल्युट हान्न लगाएको र अस्पताल परिसरमा हल्ला गरेको रहस्य खुलेको छ ।
उनीहरूले अस्पतालमा रहेका बिरामी कुरुवा र अन्य डियुटीमा खटिएका कर्मचारीहरूलाई समेत प्रभावित बनाएको स्रोतले बताएको छ ।
नाम नखुलाउने सर्तमा स्रोतले भन्यो, हामीले भनेको गलत भए अस्पतालको गेटमा राखिएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । सिसिटिभी फुटेजमा कैद गरिएको सो भिडियोलाई नफाल्न, फालेमा नराम्रो हुने सुझाव आइटीलाई दिएका छौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई समेत टेलिफोन मार्फत जानकारी गराएको थियो । अर्को दिन अस्पतालमा आकस्मिक बैठक बसेको थियो, तर के भयो भन्ने वारेमा खुलेन उक्त कार्यमा संलग्नलाई अस्पतालले ढाकछोप गरेको छ ।
यस विषयमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट इन्द्र ढकाललाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।