- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । कुनै समय पुरानो बटौली पहाड र तराईका छिमेकी जिल्लाहरुको प्रमुख शहर थियो । जहाँ मानिसका दैनिक उपभोग्य वस्तु पाउनुका साथै परदेशीहरुको बिसाउने ठाउँ पनि । नूनदेखि सुनसम्म पाइने पहाडी मुलका नागरिकहरुको घ्यू बेचेर सामान किन्ने ठाउँ पुरानो बटौली हो ।
बजार गर्ने र भारतका विभिन्न ठाउँहरुमा जाने मुग्लानीहरुको ट्रान्जिट प्वाइन्ट मात्रै नभइ ऐतिहासिक महत्व बोकेको जितगढी किल्लालगायत तत्कालीन पाल्पा राज्यका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारको केही भग्नावशेष छ । जहाँ फुलबारी पर्यटकीय स्थल बनेको छ ।
वि.स. १७६२–०६३ देखि बटौली बजार २०२६–०२७ सालसम्म चहलपहलको केन्द्र थियो । तर २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण भएसँगै तिनाउ नदीको पूर्व पहिलेको खस्यौली हालको बुटवलमा पुरानो बटौली विस्थापित भएपछि सुनसानजस्तै बन्न पुगेको छ । पुरानो बटौलीमा गणेशथान मन्दिर, गुम्बा र एकसय वर्ष पुरानो मुस्लिमको मस्जिद, काठका घर छन् ।
पछिल्लो समय पुरानो बटौलीको ऐतिहासिक सम्पदाको पहिचानलाई जोगाउन संरक्षण तथा सम्वर्द्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले नेतृत्व गरेका छन् । बटौलीको विकासको माग गर्दै विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदै आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘पुरानो बटौली बजार पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ र प्यूठान लगायतका जिल्लाहरुको व्यापारी केन्द्र थियो । पहाडी जिल्लाबाट त्यहाँ उत्पादन हुने घ्यू, अदुवा लगायतका कृषिजन्य उत्पादन ल्याउने र बटौलीबाट दैनिक उपभोग्य वस्तु खरिद गरी घर फर्किने थलो थियो ।’
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले पनि पुरानो बटौलीको संरक्षण, विकास र प्रर्वद्धन गर्न सके आर्थिक गतिविधि बढाउन सकिने प्रवल सम्भावना रहेको बताउँछन् ।
वीरताको प्रतीक बुटवलको सान मानिने जितगढी किल्लाको उत्थान, पुरानो बटौली बजारको इतिहासलाई जोड्दै अहिले बुटवल उपमहानगरपालिकाले केही कार्यक्रम अगाडि बढाएको उपमहानगरले जनाएको छ ।
पुरानो बटौलीको संरक्षण र विकासका लागि उपमहानगरपालिकाले सडक व्यवस्थापन, वार म्युजियम, ६ करोड ८२ लाख ५० हजार लागतमा नेपाल–अंग्रेज युद्ध झल्किने दृश्य समावेश सहितको संरचना नेपाली सेनासँग समन्वय गरेर कामलाई अगाडि बढाएको उपमहानगरपालिकाका प्रेस संयोजक अमृत गिरीले जानकारी दिए ।