arrow

यी हुँदैछन् फागुन २० बाट राष्ट्रिय सभा सांसदबाट बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
parliament_of_nepal.png
तस्बिर– फाइल

काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ । 

भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ भने २२–२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्तागठबन्धनमा रहेका दलहरूको सोमबारको बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेको छ । 

जसमा कांग्रेसले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५, जसपाले २ तथा राष्ट्रिय जनमोर्चाले १ सिटमा लड्ने छन् । 

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ।

यी हुँदैछन् फागुन २० गते बिदा
विभिन्न प्रदेशबाट १९ र मनोनित १ गरी २० जना फागुन २० गते बिदा हुँदैछन् । तिनीहरुमा प्रदेश १ बाट सबै एमालेका ३ जना रहेका छन् । उनीहरु अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ हुन् । 

प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रबाट शशिकला दाहाल बिदा हुँदैछन् । बागमती प्रदेशबाट कांग्रेसबाट राधेश्याम अधिकारी र एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल बिदा हुँदैछन् । 

गण्डकी प्रदेशबाट माओवादीका दिनानाथ शर्मा र खिमकुमार विक तथा एकीकृत समाजवादीबाट शान्ति जिसी बिदा हुँदैछन् । 

लुम्बिनी प्रदेशबाट एमालेका रामलखन चमार र कोमल वली तथा कांग्रेसबाट दृगनारायण पाण्डे बिदा हुँदैछन् । 

कर्णाली प्रदेशबाट एमालेबाट कविता बोगटी, माओवादीबाट जीवन बुढा र एकीकृत समाजवादीबाट ठगेन्द्रप्रकाश पुरी बिदा हुँदैछन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट एमालेका चक्रप्रसाद स्नेही, कांग्रेसकी तारादेवी भट्ट र एकीकृत समाजवादीका शेरबहादुर कुँवर बिदा हुँदैछन् । 

मनोनितबाट वरिष्ठ अधिवक्तासमेत रहेका रामनारायण बिडारी बिदा हुँदैछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ