arrow

ओमिक्रोन फैलियो

logo
मोहिनी मिश्र,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
omicron-corona-virus.jpg

 काठमाडौं । अघिल्लो वर्ष यतिबेला कोरोना भाइरसको त्रासबाट उम्किन लागेको अनुभव गरिरहेको युरोपले अहिले फेरि ओमिक्रोन भेरियन्टबाट बच्न निकै ठूलो संघर्ष गरिरहेको छ । अहिले खासगरी बेलायत र फ्रान्समा कोरोना भाइरसले उग्र रुप लिँदै गरेको देखिएको छ । यसबाहेक इटाली, ग्रीस, पोर्चुगल र इङ्गल्यान्ड सबैमा कीर्तिमानी संख्यामा संक्रमणहरू पुष्टि भएका समाचारहरु दिन प्रतिदिन आइरहेका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ । 

बेलायतमा हरेक दिन आउने समाचारमा महामारी सुरु भएपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको दिन भनेर विभिन्न सञ्चारमाध्यमहरुले दिइरहेका हुन्छन् । दुई दिन मात्र अघि फ्रान्समा पनि एकै दिनमा लाखौँ व्यक्ति संक्रमित देखिएका थिए । यता अमेरिकाको अवस्था पनि त्यस्तै छ । यहाँ हरेक दिन लाखौँ व्यक्ति संक्रमित भएका समाचार आएका छन् । यो अवस्था उता अफ्रिकामा पनि छ । यता भारतको झन् कुरै भएन । भारतमा दश दिन अघिको तुलनामा दश दिन यता करिब ८०० प्रतिशतले संक्रमण बढेको पाइएको बताइएको छ । 

त्यसैले विश्व स्वास्थ्य संगठनले युरोपमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ । बुधबार मात्र फ्रान्समा दुई लाखभन्दा पनि बढी संक्रमित पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । 

यसरी हरेक दिन धेरै भन्दा धेरै संक्रमित हुनेहरु फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इंगल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो संक्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने त देखाएका थिए । तर पनि यसको त्रास भने यसरी भनिएजस्तो गरी घटेको देखिन्न । किनभने ओमिक्रोनको त्रासका कारण विश्वका विभिन्न देशमा यसको असर परेका समाचारहरु आइ नै रहेका हुन्छन् । 

यता भारतमा हेर्ने हो भने पनि यसको अवस्था त्यस्तै देखिएको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । हरेक दिन भारतमा संक्रमितको संख्यामा घटीमा पनि ५५ प्रतिशतले वृद्धि भएको देखिएको छ । पछिल्लो १० दिनदेखि भारतमा उच्च गतिमा कोरोना सङ्क्रमण बढिरहेको छ । २६ डिसेम्बरमा जम्मा ६ हजार ५३१ मा सङ्क्रमण पुष्टि भएको भारतमा अहिले भने दिनमै एक लाख १७ हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँ हरेक दिन सङ्क्रमण पुष्टि हुनेको संख्या ५० हजार भन्दा पनि बढी भएको देखिएको छ । यो भनेको करिब ८०० प्रतिशत हो । भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको संख्या पनि प्रतिदिन बढ्दो छ । यहाँ अहिलेसम्ममा तीन  हजारभन्दा बढी नै यसका संक्रमित भेटिएका छन् ।
 
सन् २०१९ को डिसेम्बरमा चीनको हुबे प्रान्तको बुहान शहरबाट शुरु भएको कोरोनाको प्रकोप विश्वका शक्तिशाली राष्ट्रलगायत कैयौ राष्ट्रमा फैलियो । पछिल्ला दुई वर्षले महामारीले ठूलो प्रकोप बेहोरेको छ । यसले विश्वलाई समान रुपमा र बडो क्रुरताका साथ प्रहार गरेको छ । सन् २०२२ मा विश्वले के सायद यो रोगबाट मुक्ति पाउने दिन पर्खिरहेको थियो तर त्यो सम्भव भने हुन सकेन । अनिश्चितता बढ्दै गइरहेको छ । सन् २०२१ पनि लगभग यही प्रकोपका कारण बितेको थियो भने यो वर्ष पनि यसै महामारीबाट सुरु भएको देखिएको छ । अझ यो वर्षका सुरुआतमा त झन् नयाँ नयाँ भेरियन्ट ओमिक्रोनले सताउन पुगेको छ । कोभिड १९ को नवीनतम उत्पत्तिका रुपमा ओमिक्रोन आएको छ भने उता डेल्टा भेरियन्ट जारी रही फैलिरहेको अवस्थामा पनि झन् छँदै नै छ । 

महामारी सुरु भएदेखिका वर्षबाट नै विश्वको अर्थतन्त्र प्रभावित छ । यसबाट बाँच्नका लागि विश्वका नागरिकहरुले ठूलो संघर्ष गरेका छन् तर यसबाट मुक्ति पाउन सकेका छैनन् । विश्वको अर्थतन्त्रमाथि फेरि पनि प्रहार हुने अवस्था देखा परिरहेको छ । किनकि महामारीको अर्को स्वरुप फेरि पनि युरोप र अमेरिकामा शुरु भएको छ र एसियाली देशहरुमा पनि प्रहार गर्न तयार छ । आशाको एउटा किरण भनेको यो विश्वास हो कि भाइरसले बिस्तारै आफ्नो शक्ति गुमाउँदैछ, किनकि ओमिक्रोनले अहिलेसम्म कम अस्पतालमा भर्ना भएको छ ।

धेरै राम्रो स्वास्थ्य पूर्वाधारको साथ विकसित राष्ट्रहरुले पनि कोरोना महामारीको अगाडी घुँडा टेक्नुपर्ने अवस्था यो महामारीका कारण उत्पन्न भएको छ । विकासशील र गरिब राष्ट्रहरू यो महामारीबाट अझ बढी प्रताडित हुन पुगेका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबे प्रान्तको बुहान शहरबाट शु्रु भएको यस महामारीले विश्वभरका स्वास्थ्य संरचनाहरुमाथि नै धावा बोल्न पुगेको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुका कार्यक्रम र अनुमान पनि ध्वस्त हुन पुगे । यसवर्ष त नयाँ वर्षलाई राम्रोसँग स्वागत गरौँला भनेको विश्व समुदाय नै अहिले पनि निकै अप्ठेरो अवस्थामा पुग्यो । विश्वका नागरिकले नयाँ वर्षको स्वागत गरेर रमाइलो गर्न पनि सकेनन् । इटाली होस्, अमेरिका, पाकिस्तान, भारत, रुस, चीन वा नेपाल, म्यान्यामार र बंगलादेश विश्वका सयौं देशलाई यो महामारीले फेरि एकपटक अर्काे फेरो लगाउन थालिसकेको छ । 

पहिलो पटक ओमिक्रोनको आगमनसँगै दक्षिणी अफ्रिका देशहरूमा विश्वका कैयौ राष्ट्रले अफ्रिकी राष्ट्रहरूबाट यात्रा प्रतिबन्ध लगायो । महामारीले विश्व नेताहरूलाई जीवनका केही पाठहरू सिकाएको हुनुपर्छ । सबैले भाइरस र यसको घातक आर्थिक नतिजाहरू विरुद्ध लड्ने काम झन्भन्दा झन् जटिल बन्दै गएको देखिएको छ । स्वास्थ्य संकटको बावजुद र विश्वभरि आर्थिक मन्दीको साथमा ठूला शक्तिहरु पनि यसका विरुद्ध लड्ने कामलाई निरन्तरता दिन बाध्य भएका छन् । 

के ओमिक्रोनले १०० वर्ष पहिलेको स्पेनिस फ्लूलाईजस्तै हल्का भेरियन्टले जस्तै कोभिड–१९ महामारीको अन्त्य गर्नेछ ? के ओमिक्रोनले महामारीको अन्त्य गर्नेछ ? शीर्ष विज्ञहरू भन्छन् कि ओमिक्रोनले कोभिड–१९ को लागि ’प्राकृतिक खोप’ को रूपमा काम गर्न सक्छ ।   

कोरोना ओमिक्रोन भेरियन्टबीचमा नयाँ वर्ष २०२२ का उत्सवहरु विश्वभरका उत्साहजन रहेनन् । सरकारहरूले मानिसहरूलाई ठूला जमघटहरूबाट जोगिन र परिवारका सदस्यहरू र नजिकका साथीहरूका लागि उत्सवहरू प्रतिबन्धित गरी राख्न आग्रह गरेका थिए । उनीहरूले स्वास्थ्य पूर्वाधारमा खुकुलो पार्ने डरले सरकारहरुको सो आग्रह आएको थियो ।   

नयाँ वर्षको उत्सवहरूलाई ऐतिहासिक बनाउन चाहने विश्व समुदायलाई पनि दुई वर्षदेखि जारी रहेको महामारीले फिक्का बनाइदिएको छ । करिब ५ महिनाजति अघि महामारीको अन्त्य होला कि भन्ने आशा अहिले आएर भने मरिसकेको छ । अब त यस्तो लाग्दैछ कि यो वर्ष २०२२ पनि कोरोना भाइरसकै छायाँमा बित्ने त होइन ?  ओमिक्रोन भेरियन्टको आगमनले जुन डरलाग्दो स्वरुप लिएको छ यसले यो वर्ष पनि महामारीकै छायाँमा राखिदिने त्रास झनै बढाएको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ