arrow

विपद् नकुरौं व्यवस्थापन गरौं 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
editorial-sampadakiya1.jpg

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । गत हप्ता कोरोनाका थपिएका संक्रमितको मूल्याङ्कन गर्दा कूल परीक्षणको दुई प्रतिशतबाट सवा सात प्रतिशत संक्रमित भए । लामो समयपछि आइतबार त एक हजार एक सय ६७ संक्रमित थपिए । यो कूल परीक्षणको साढे नौ प्रतिशत बढी हो । अर्थात् एक हप्तामै दुई प्रतिशतबाट साढे नौ प्रतिशत पुगेको छ । त्यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पनि नेपालमा बढ्दो छ । आधिकारिक रुपमा २५ जनामा संक्रमण भएको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्याङ्क हेर्दा कोरोनाको तेस्रो लहर नेपालमा शुरु भइसकेको आँकलन गर्न सकिन्छ । 

कोरोना संक्रमण नेपालमा प्रवेश गरेदेखि रोकिएको छैन । धेरैथोरै संक्रमित भएका मात्र हुन् । कहिले बढी संक्रमित त कहिले बढी निको हुने । अहिलेसम्म दुई ठूला लहरको सामना गरिसकेको देशले तेस्रो लहरको प्रतिक्षा गरिरहेको छ । छिमेकी भारतको अवस्था हेर्दा त्यो वेगले नेपाललाई पनि केही हप्तामै तेस्रो लहरको उत्कर्षमा पुग्ने अनुमान गर्न सकिन्छ । 

हामी अहिले ठूलो विपद् कुरिरहेका जस्ता लाग्छौं । किनकि कहिँ पनि त्यसलाई रोक्नका लागि केही गरेकै छैनौं । व्यवस्थापन सोचेकै छैनौं । केबल संक्रमित बढे भने अस्पतालमा बेड बढाउने र अक्सिजन सिलिण्डर कति छन् भनेर गन्नेमात्र काम गरिरहेका छौं । कोरोना हटेकै छैन भने त्यसलाई दैनिकीमा कसरी सामना गर्ने भनेर सरकारले सिकाएकै छैन । अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘प्रोटोकल’ त बनाएको छ तर त्यसको सही प्रयोग स्वयं मन्त्रालय गर्दैन । 

सरकारले पनि यसको पालना गरेको छैन । राजनीतिक दलहरुले त यसको चरम उल्लंघन गरेका छन् । स्वास्थ्य प्रोटोकलको उल्लंघन गरेरै भेला र सम्मेलन भइरहेका छन् । तिनै सभा सम्मेलनले नै कोरोनालाई थप बढाएको छ । माओवादी केन्द्रको महाधिवेशनसम्म आइपुग्दा त उक्त महाधिवेशन कोरोनाको हटस्पट नै बन्यो । माओवादीका अधिकांश शीर्ष नेताहरु संक्रमित छन् । निरन्तरको भेटघाट र छलफलका कारण सबैजसो दलका शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । र पनि अझै उनीहरु सचेत रहेको पाइँदैन । यसले उनीहरु कोरोना नियन्त्रणमा कत्तिको हेलचेक्रयाइँ गरिरहेका छन् त भन्ने स्पष्ट देखाउँछ ।

आइतबारमात्रै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ । सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनु पर्ने निर्णय गरेको छ ।संक्रमणको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउन लगाउन सक्ने पनि सीसीएमसीसीले बताएको छ ।

तर सरकारले अझै कुनै निर्णय गरिसकेको छैन । अब विपद् नकुरौं जतिसक्यो छिटो व्यवस्थापन गरौं । पहिलो र दोस्रो लहरमा देशमा लकडाउन हुँदा हरेक क्षेत्रमा असर परेको छ । फेरि पनि लकडाउन गर्ने अवस्था बनाएर देशलाई अधोगतितर्फ नधकेलौं । जतिसक्यो बढी खोप लगाऔं । बुस्टर डोज लगाउन तिथि नकुरौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ