- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । आन्तरिक पर्यटकहरूको दृश्यमा सुन्दर बन्दै गएको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिका पछिल्लो समय पर्यटकीय हबको रूपमा विकसित हुँदै गएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ मा रहेको वनबाटिकालाई लुम्बिनी प्रदेशकै सबैभन्दा फरक र ठूलो आकर्षणको केन्द्र पर्यटकीय स्थलको रूपमा विकास गराउने उद्देश्यले थप नयाँ स्तम्भहरू निर्माणाधीन अवस्थामा छन् ।
वनबाटिकामा थप आकर्षणको केन्द्रबिन्दु ११ तले तिलोत्तमा भ्युटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य रोकिएको र अव रंगरोगन लगायतका काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ । ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको वनबाटिकामा पिकनिक पार्क, वाल रेल, खुल्ला कार्यक्रम स्थल, चिल्ड्रेन पार्क सहित चिडियाखाना पनि रहेको छ।
जिल्ला एवं प्रदेशकै उत्कृष्ट पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि वनबाटिकामा थप पर्यटकीय स्तम्भका भौतिक संरचनालाई ध्यान दिँदै आएको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेले बताए ।
उपाध्यक्ष पाण्डे भन्छन्, वनबाटिका परिसरभित्र ११ तले भ्यूटावर निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ, जसवाट बुटवल, तिलोत्तमा र भैरहवा सहित दूरबिनको माध्यमबाट भारतको सुनौली बजार लगायतका ठाउँको दृश्य अवलोकन गर्न सकिन्छ ।
बाटिका भित्र विभिन्न पंक्षीहरुको लागि खुल्ला जाली ट्रष्ट, लोपोन्मुख निल गाई, पाटे बाघ, भालु, स्याल, गोमन सर्प, अष्ट्रिच पक्षी, बाँदर र अन्य घरेलु परेवा लगायतका पशुपंक्षीहरु समेत राखिएको छ। दैनिक झन्डै १ हजार भन्दा बढी आन्तरिक पर्यटकहरू घुम्न आउने गरेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाले जनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि प्रबल सम्भावना रहेको वनबाटिकामा पर्यटन प्रवर्द्धन गर्न संयुक्त लगानीमा भ्यू टावर ४ वर्षअघि तिलोत्तमा भ्यू टावर निर्माणको कार्य थालनी गरिएको छ । जुन भ्युटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रको संयुक्त १३ करोड ५८ लाख रुपैयाँ लगानीमा भ्यू टावर बनाउन लागिएको छ ।
कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रले खर्चिने बताइएको छ ।
निर्माणाधीन ११ तले भ्यू टावरको क्षेत्रफल २ कट्ठा छ । ३ हजार ५ सय ९५ दशमलव ८९ वर्ग फिट भुँइतला, १ सय ३३ फिट उचाइ रहेको छ । माथिल्लो तलामा जानलाई लिफ्टको व्यवस्था, सुविधायुक्त रेस्टुरेन्ट र पर्यटक विश्राम कक्ष बनाइने भएको छ।
टिकटक जोन मुख्य आकर्षण
लकडाउनको समयमा आवास ग्रुप रुपन्देही द्वारा वनवाटिका भित्र टिकटक जोन निर्माण गरेपछि, अहिले सबैको रोजाई टिकटक जोन बन्न पुगेको छ ।
आवास ग्रुपका सञ्चालक यज्ञेश्वर थैवले आफ्नै डिजाइन, मेहनत लगानीमा निर्माण गरिएको टिकटक जोन सबैको रोजाई बन्न पुगेको अनुसन्धान केन्द्रका उपाध्यक्ष पाण्डेले बताए ।