arrow

गरिबको बेथा

श्रीमती आईसीयूको सात नम्बर बेडमा, श्रीमान् भगवानले सहयोगी पठाइदिन्छन् कि भन्ने आशमा 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०७८ माघ १६ आइतबार
mante-shahi-wife-bimar-mugu.jpg

मुगु । सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षे मान्ते शाहीसंग श्रीमती हाँसु शाहीलाई औषधि उपचार गर्न पैसा नहुँदा ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन् । ६७ वर्षे श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धभत्ताबाट जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा बल्झिएका छन् ।  
 
ऋण सापट गरी ल्याएको पैसा काठमाडौं आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि गर्न सास्ती भएको हो । ‘बिमारले श्रीमती अस्पतालको बेडमा छट्पटाउने र औषधि किन्ने खल्तीमा पैसा नहुँदा म ढोका बाहिर छट्पटाउनु परेको छ’, शाहीले दुखेसो पोखे ।   

‘पैसा छैन डाक्टरले यो औषधि किन्नु पर्यो त्यो औषधि किन्नु पर्यो भन्न थाले’ शाहीले भने ‘ऋण सापट गरी ल्याएको पैसा सकियो कसरी औषधि किनेर श्रीमतीलाई बचाऔं ?’ 
  
आँसु पुछ्दै उनले भने, ‘अस्पतालको बेडमा श्रीमतीको मुख हेर्दै रुनु बाहेक अरु कुनै उपाय छैन । अक्षेर पढ्न जान्दैनौं नेता कर्मचारी रवाउँदैनौं (चिन्दैनौं) ।’ शाहीले भने, ‘कोसँग हात थापेर श्रीमतीको उपचार गरुँ ?’

उनलाई एकातर्फ श्रीमतीलाई औषधि किन्न र अर्कोतिर आफैंलाई बिहान बेलुका छान टार्नसमेत मुश्किल परेको छ । बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगेर केही दिन नेपालगञ्जमै आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गरे ।  
 काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि फेरि बिमार श्रीमतीसहित आफू गाडी चढेर पुस अन्तिम साता काठमाडौं पुगेका थिए । उनका आफन्तले पाटन अस्पताल पुर्याएर भर्ना गरिदिए पनि आर्थिक अभावले उपचारमा कठिन हुँदै गएको छ । 
 
पाटन अस्पतालको तीन तलामाथि आईसीयूको ७ नम्बर बेडमा उनकी श्रीमती उपचारार्थ छिन् भने बाहिर ढोकामा श्रीमान शाही छट्पटाइरहेका छन् । 

चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने काम गरिरहेका भए पनि औषधि किनेर ल्याउन शाहीलाई निकै गाह्रो भएको छ । घरबाट काठमाडौं गएर लामो समयदेखि ज्यालादार कामले पेटपालन गर्दै आएका शाहीका छोरी ज्वाइँ पनि अहिले अस्पातलमै उनीहरुकै साथमा छन् ।  
 
उनीहरुसँग पनि उस्तै आर्थिक संकट भएकाले सहयोग गर्ने अवस्था छैन । आमाको अवस्था नाजुक हुँदै जान थालेपछि छोरा बृजन शाही पनि घरबाट आँसु पुछ्दै काठमाडौं पाटन अस्पताल पुगेका छन् । 
 
‘हे भगवान आमालाई कसरी बचाउने खल्तीमा दुई हजार थियो उही पनि सकियो’ बृजनले भने, ‘आफन्तले दिइसके अब भन्ने ठाउँ छैन ।’ घरमा कोही जागिर व्यवसाय कुनै नभएका शाहीका परिवार कृषिमै निर्भर रहेर जीवन निर्वाह गर्दै आएका छन् । 
 
सरकारले दिएको वृद्धभत्ताले लत्ताकपडा, नून, तेलको जोहो गर्र्दै आएका मान्तेलाई अहिले काठमाडौंमा श्रीमतीको उपचार गर्न सास्ती भएको छ । 
 
श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर काठमाडौं उपचार गर्न पुगेका शाही दम्पती भत्ताको र आफन्तहरुको सहयोग गरेको रकम सकिएपछि उपचार र खान बस्नसमेत समस्यामा छ ।
  
गरिबका लागि कोहि भगवान भनेर पनि आउँछन् भनेको सुनेका थियौं हाम्रो लागि पनि भगवानले मान्छेको रुपमा कसैलाई पठाउँछन् कि भन्ने आश पालेर श्रीमती बेडमा र आफू अस्पतालको बाहिर बसिरहेको मान्तेले बताए । 
 
सम्भवतः सोरु गाँउपालिकाकै गरिब शाही परिवार सामाजिक भत्ता र दैनिक मजदूरीले घरको सामान्य आर्थिक संकट टार्दै आए पनि अहिले जिल्ला बाहिर उपचार गर्न आउँदा ठूलो आर्थिक समस्यामा छन् । 

औषधिको त कुरै छोडौं काठमाडौबाट फर्केर कसरी मुगु घर जाने र घरसम्म पुग्दा कसरी खाने बस्ने भन्ने पनि समस्यामा रहेको स्थानीय हिक्मत शाहीले बताए । 

‘सरकारले अर्को भत्ता कहिले हालिदिने हो त्यतिजेलसम्म श्रीमती बाँच्छ कि नाइ’ सुँक्क सुँक्क रोएको स्वरमा मान्तेले भने, ‘काहिँ सहयोग गर्छन् कि पत्रकार साहेब भनी दिनु पर्यो’ फोनमार्फत भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ