arrow

म्याग्दीमा हिमपात, पर्यटकीयस्थलमा चहलपहल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
humla-snow-fall.jpg

बेनी । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गएराति अविरल वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ । 

उच्च पहाडी क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहीबार साँझदेखि अहिलेसम्म डेढफिटसम्म हिउँ परेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ ।

धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी रघुगङ्गा, मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको उच्च पहाडी भेगमा हिमपात भएको छ । सदरमुकाम बेनीदेखि नजिकैका पर्यटकीयस्थल रुइसे, टोड्केलगायतका स्थानमा हिउँ  खेल्न आन्तरिक पर्यटक पुग्न थालेका छन् । 

हिमपात र वर्षापछि किसान उत्साहित छन् । गहुँ, जौँ, केराउलगायत हिउँदेबालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका किसानलाई वर्षा र हिमपातले राहत मिलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ