- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकिएको छ । बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ ।
धारापानीका स्थानिय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताए । उनका अनुसार मनाङ, टंकी मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । शुक्रबार रातीबाट हिमपात रोकीएपनि मनाङको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।
मनाङमा बिहीबार र शुक्रबार वर्षकै ठूलो हिमपात भएको प्रजिअ आचार्यको भनाइ छ । मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । माथिल्लो मनाङको पिसाङका याङडुङ गुरुङले मनाङमा बिहीबार दिउँसोदेखि भारी हिमपात भएको बताए । उनका अनुसार शुक्रबार भने हावाहुरीसमेत हिमपात भएको थियो ।
हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलीकमको नेटवर्कसमेत अवरुद्ध छ ।
नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिंक बन्द भएको छ । हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलीकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताए । उनका अनुसार हिमपातले शुक्रबारदेखी मनाङमा इनटरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ ।