नेपालगन्ज नाकाबाट ठूलो परिमाणमा चरेशसहित ३ जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
950
Shares
नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको लागूऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर विष्ट नेतृत्वसहितको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालगन्जको आज दिउँसो २ बजे नेपालगन्ज १५ स्थित जमुनाह नाकाबाट ३ किलो चरेशसहित एक पुरुष र दुई जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा सिम्ता गाउँपालिका ४ का ४० वर्षीय वीरेन्द्र हमाल ,सोही स्थानकी ३८ वर्षीया दिपा बुढा र शिवालय गाउँपालिका २ जाजरकोटकी २३ वर्षीया खिमा खत्री रहेका छन्।
नेपालगन्जको जमुनाह हुँदै भारततर्फ शङ्कास्पद तरिकाले भारत तर्फ जाँदै गरेका तीनै जनालाई सोधपुछ गरि चेक जाँच गर्दा महिलाले बोकेको झोलामा प्लास्टिकले बेरिएको अवस्थामा उक्त चरेश बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
पक्राउ तिनै जनालाई हिरासतमा राखी लागूऔषध ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।