arrow

पुँजीगत खर्च कम्तीमा ८० प्रतिशत पुर्याउनुपर्छ : मन्त्री बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Ramji Baral jiwan.jpg
फाइल तस्वीर

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुँजीगत खर्च कम्तीमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका छन् । 

प्रदेशको अर्थ मन्त्रालयले तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रियामा मन्त्री बरालले निमित्त देखाएर कर्मचारीले छुट नपाउने भन्दै लुकेर बसेका राजस्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह गरे ।

उनले प्रदेशको आन्तरिक श्रोत वृद्धि गर्नुपर्नेमा जोड दिंदै संघको बजेटलेमात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने स्पष्ट पारे । आगामी बर्षमा आवश्यक पर्ने योजनाहरु सम्बन्धित कार्यालयहरुले जनताको आवश्यकताको आधारमा मात्र ल्याउनुपर्ने मन्त्री बरालले स्पष्ट पारे । 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजस्व वृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताए । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उनले दाबी गरे । 

प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरीयतालाई समेत ध्यान दिनुपर्नेमा जोड दिइन् ।

मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने भन्दै बढी रकम रकमान्तर गर्नु परेमा अर्थसंग सहमति लिनुपर्ने स्पष्ट पारे ।

मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले पुँजीगत खर्च बढाउने उद्देश्यले हालसम्म प्रदेशका ९ जिल्लामा यस्ता कार्यक्रम गरिएको बताए । 

कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका किशोर कुमार श्रेष्ठले जिल्लामा पुंजीगततर्फ १८ प्रतिशत र चालुतर्फ ३८ प्रतिशत बजेट खर्च भएको बताउँदै १० करोड राजस्व संकलन भएको जानकारी दिए । 

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जग्गा प्राप्ति, कोभिडको कारण ३९ योजना हाल बजेट नहुँदा समस्या भएको बताए । बहुबर्षीय योजनाको यस बर्ष करिब २० करोडको दायित्व सृजना भएको उनले स्पष्ट पारे । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजेन्द्र प्रसाद न्यौपानेले लिफ्टिङ र विद्युतीकरणका केही योजनाहरुमा कम बजेट भएको गुनासो गरे । 

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कुलप्रसाद न्यौपानेले घर वस्ती नजिक वन जंगल बढ्नाले बाँदरको समस्या हुने गरेको जनगुनासो आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ