arrow

देउवा र ओलीबीच आज पनि छलफल, सकारात्मक दिशामा अगाडि बढ्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
deuba-oli-2022.JPG
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुँदैछ । देउवा र आलीबीच केही दिनदेखि संसद् अवरोध हटाउने र संसदमा टेबल भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा पारित गर्ने बारेमा छलफल हुँदै आएको छ । 

सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने विषयमा कुरा मिल्न नसकेपछि देउवाले प्रमुख प्रतिपक्ष दलसँग समन्वय गरेर भए पनि एमसीसी पारित गर्न खोजिरहेका छन् । यसअघि शुक्रबार बेलुकी पनि एमाले अध्यक्ष ओलीसँग छलफल भएको थियो ।  बालकोटस्थित ओली निवासमा भएको छलफलमा नेताहरुले वार्ता सकारात्मक भएको बताएका छन् । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गरेको जानकारी दिएका थिए । 

उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्यो भन्नुभएको छ, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौँ भन्नुभयो ।’

एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू (कांग्रेस–एमाले) एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको उनले जानकारी दिए । 

छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्य मान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भनेको मन्त्री कार्कीले जानकारी दिए ।

छलफलपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसदमा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । एमसीसी अनिर्णयको बन्दी बन्नु हुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उनले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्ने बारेमा छलफल भएको बताए ।  

ज्ञवालीले छलफलबारे भने, ‘आजको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।’ एमालेलाई संसदमा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उनको भनाइ छ । 

एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच शनिबार पुनः छलफल हुने बताए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ । 

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ