arrow

आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार प्रभावकारी : प्रदेश प्रमुख गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
Prithiviman gurung.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपालमा आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार प्रभावकारी बन्दै गएको बताएका छन् ।

पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको २९औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले नेपाल सरकार तथा दातृनिकायको अथक प्रयासबाट स्थापना भएका अस्पतालबाट सर्वसाधारणको आँखा उपचारमा पहुँच पुगेको बताए । “आँखाको सुरक्षासँगै उपचारमा संलग्न चिकित्सकलगायत सम्पूर्ण शक्ति जिम्मेवार भएर लाग्नुपर्दछ”, उनले भने ।  

नेपालको पहिलो आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले २०२७ सालमा आँखाको उपचार र शल्यक्रिया शुरु गरेर अन्धकारमा रुपमलिएकालाई उज्यालो बाँढ्ने अभियानमा जुटेको सो अवसरमा प्रमुख गुरुङले स्मरण गरे ।

उनले २०३८ सालमा अमेरिकी नागरिक डा विलेण्डले मुलुकको सबै क्षेत्रका आँखाका रोगीको १०८ नमूना सङ्कलन गरी परीक्षण गर्दा परेला फर्कने र मोतियाबिन्दु रोगको समस्या समाधान गर्न अभियान सञ्चालन भएको बताए ।

नेपालको आँखाको उपचार पद्धति गुणस्तरीय भएका  कारण भारतीय नागरिकसमेत उपचारका लागि आउने गरेको उनले बताए । उपचारमा आवश्यक अत्याधुनिक प्रविधि भित्र्याउन सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आँखा अस्पतालले अध्ययन अध्यापन सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार अन्य विषय थपिने जानकारी दिए । 

आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इलिया श्रेष्ठले अस्पतालले एक वर्षको अवधिमा एक लाख १७ हजार २८९ जनाको आँखा परीक्षण गर्नुका साथै पाँच हजार ५४२ जनाको शल्यक्रिया गरिएको जानकारी दिए ।

अस्पतालले यसअघि  गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा २६  आँखा शिविर सम्पन्न गरी १० हजार ८३३ जनाको आँखा परीक्षण र एक हजार ३७६ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । यस्तै, १९ विद्यालयमा सञ्चालन गरेको शिविरबाट आठ हजार ३१८ जनाको आँखा परीक्षण गर्नुका साथै २३३ छात्रछात्रालाई निःशुल्क चश्मा वितरण गरेको थियो । 

गण्डकी, धौलागिरि र कर्णालीमा आँखाको उपचार गर्ने लक्ष्यका साथ तीन दशकअघि आइकेयर फाउण्डेशन नेदरल्याण्डको सहयोगमा ६० रोपनी जग्गा खरिद गरी आवश्यक भौतिक पूर्वाधार तयार गरिएको थियो । 

कार्यक्रममा नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ, सङ्घका पूर्वअध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, अस्पतालका अनुसन्धान अधिकृत पवन बराल, कर्मचारी युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ