arrow

भारतमा प्रतिबन्धित हानिकारक स्टोनियाका बिरुवा सिद्धार्थ राजमार्गमा, बिरुवा किन्दा नै तिलोत्तमाको घोटाला

logo
नारायण वली,
प्रकाशित २०७८ फागुन १८ बुधबार
20220301_084720.jpg

रुपन्देही। तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५–७६ मा नगरलाई हरितमय बनाउनका लागि अवधारणा अगाडि सार्यो । जसअनुसार बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत सिद्धार्थ राजमार्गको सडक डिभाइडरमा सधै हरियो हुने स्टोनिया (छतिवन) का बिरुवा लगाउनका लागि बिरुवा खरिद प्रक्रिया अगाडि सारियो ।

नगरपालिकाले माग गरे अनुसार तीन वटा नर्सरीले कोटेशन पठाए । जसमा सबैभन्दा कम मूल्य ३ सय ५० रुपैयाँको दररेट ॐ सप्लायर्स नर्सरीको कोटेशन पास भयो। यो कोटेशनमा ॐ सप्लायर्स नर्सरीले ४ फिट उचाईको बिरुवाको प्रति मूल्य ३ सय ५० रुपैयाँ उल्लेख गरेको भए पनि नगरपालिकालाई सो नर्सरीले ३ सय ९ रुपैयाँ ५ पैसामा बिक्री गरेको बिल फेला परेको छ । 

हाम्राकुराकर्मीले सूचनाको हकलाई आधार मान्दै मागेको सूचनामा प्राप्त बिलमा एउटा बिरुवाको मूल्य ३ सय ९ रुपैयाँ ५ पैसामा १ हजार ४ सय वटा बिरुवा नगरपालिकाले खरिद गरेको देखिएको छ । कोटेशनमा भने ३ सय ५० रुपैयाँ पास भएको छ । जसको कुल लागत ४ लाख ८९ हजार ६ सय २९ रुपैयाँ छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हरित नगर निर्माणका लागि नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग, भलुहीदेखि दक्षिणतर्फको सडक, मंगलापुर–कान्छिबजार र मणिग्रामदेखि पश्चिमतर्फको सडकमा स्टोनियाका बिरुवा लगाइएको छ । कोटेशन दिने नर्सरीहरु ॐ गुप्ता सप्लायर्स, सत्यसाई नर्सरी र पाल्पा नर्सरी रहेका छन् । 

यी तीन मध्ये ॐ गुप्ता सप्लायर्सको कोटेशन पास र १ हजार ४ सय बिरुवा खरिद भए । तीन वटा नर्सरीहरुसँग कोटेशन माग गरेको प्राप्त सूचनाले देखाएको छ । 

तर विडम्बना कोटेशन हालेका तीन वटै नर्सरीमध्ये जसको कोटेशन पास भएको भए पनि बिरुवा जाने भनेको गुप्ता नर्सरीबाट मात्रै थियो ।

यस विषयमा ॐ गुप्ता सप्लायर्सका सुरज गुप्तासँग सम्पर्क भयो । अर्को सम्पर्कमा सत्यसाई नर्सरीका सञ्चालकले भने  ‘गुप्ता नर्सरी र हाम्रो एउटै कम्पनी हो। त्यस्तै, पाल्पा नर्सरीले ‘स्टोनियाँको बारेमा ‘ॐ गुप्ता नर्सरीमा सोध्नुस् , त्यहीँबाटै हाम्रोमा आउँछ’ भन्यो ।  

लुम्बिनी नर्सरी एण्ड गार्डेनका सञ्चालक एवं लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेशकुमार पाण्डे नगरपालिकाले एउटै नर्सरीको बिरुवा खरिद गर्न चलाखी गरेर कोटेशन मागिएको बताउँछन् ।  

लुम्बिनी पुष्प व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष  पाण्डे भन्छन् ‘यो बिरुवाको मूल्य बढी भन्दा बढी पर्यो भने एक सय रुपैयाँ हो।’ उनकाअनुसार स्टोनियाँ भारतबाट आयातित बिरुवा हो ।

नगरपालिकाले ४ फिट उचाइको विरुवा माग गरे बमोजिम ॐ गुप्ता सप्लायर्स नर्सरीले प्रति बिरुवा ३ सय ५०, सत्यसाई नर्सरीले ३ सय ६० र पाल्पा नर्सरीले ३ सय ७० रुपैयाँ प्रति बिरुवाको मूल्य कायम गरेर नगरपालिकालाई कोटेशन पठाएको पाइएको छ ।

पाण्डेका अनुसार भारतका धेरै जसो स्थानमा यो बिरुवा बन्देज गरिएको छ। नगरपालिकाले शुरुमा त एउटा बिरुवाको मूल्य ४ सय रुपैयाँमा खरिद गर्दै थियो । तर निकै महंगो भएको भन्दै विरोध भएपछि ५० रुपैयाँ घटाइयो ।

उनले भने, भारतमा यसको प्रतिबिरुवा १५ देखि २० पर्छ, नेपाल ल्याउँदा सम्मको खर्च जोड्ने भने पनि १ सयसम्म पर्छ। यो भारतमा पाइने बिरुवा हो ।’

बुटवल क्षेत्रका अन्य केही नर्सरीहरुलाई हामीले स्टोनियाँका बारेमा सोधपुछ गर्दा गुप्ता सप्लायर्स बाहेक अन्य नर्सरीहरुमा यो बिरुवा छैन । ती नर्सहरीहरुले यो बिरुवा स्वास्थ्यका लागि हानिकारक भएको भन्दै खरिद नगरेको बताए।  ‘यो बिरुवा स्वास्थ्यका लागि अति हानिकारक छ भन्ने कुरा छ,’ बुटवलका एक नर्सरी सञ्चालकले भने ‘स्वास्थ्यलाई हानि गर्ने चिज हो भने किन ल्याउने ? भनेर हामीले खरिद गरेकै छैनौं ।’ 

स्टोनियाको बिरुवालाई विषालु रुख भनेर पनि चिनिन्छ । तर छिटो हुर्कने भएकाले हरियाली देखाउने प्रतिस्पर्धाका कारण यस्तो रुख मगाइएको आरोप पनि तिलोत्तमाले खेपेको छ । 

यता तिलोत्तमा नगरपालिकाले भने यसलाई स्वार्थ केन्द्रित विरोध भनेको छ। उक्त बिरुवा खरिदमा आफूहरुको संलग्नता नभएपछि विरोध गरिएको नगरका प्रवक्ता सुरेन्द्र श्री दाबी गर्छन् । 

उनले भने ‘बिरुवा रोपेर सडक छेउँ हरियाली भएको छ,सुन्दर भएको छ, विरोध गर्नेहरुले विनाकारण विरोध गरेका हुन् ।’ साथै उनले यसको खरिद मूल्यमा कुनै तलमाथि नभएकोसमेत दाबी गरे। 

डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार स्टोनिया  सडक छेउँमा लगाउने बिरुवा नभएको जनाएको छ।

यो ठूलो हुने रुख हो । 

जराका कारण सडक बिग्रने अवस्था आउन सक्ने वन डिभिजनका प्रमुख बोधराज सुवेदी बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ