arrow

गृह जिल्लाको राजनीति मिलाउन देउवाले बढाए सक्रियता

logo
राम धामी,
प्रकाशित २०७८ फागुन २२ आइतबार
deuba-dadheldhura.JPG

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरामा कांग्रेस नेताहरुबीच देखिएका द्वन्द्व समाधान गरेर एक ढिक्का बनाउन छलफल शुरु गरेका छन् । 

एकलौटी रूपमा गृह जिल्ला डडेलधुराको सातौँ जिल्ला अधिवेशन सम्पन्न गराएर नेपाली कांग्रेस डडेलधुराका तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाइपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गृह जिल्लामा कांग्रेस एकताबद्ध बनाउने भन्दै जिल्ला स्तरीय नेताहरूसँग परामर्श थालेका हुन् ।

नेपाली कांग्रेस डडेलधुराको पाँचौँ र छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधि समेत हुन नसक्नेसरि रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाइएका क्रियाशील सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका निर्वाह गरेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले तत्कालीन जिल्ला कार्यसमितिको वहिष्कारकाबीच एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन सम्पन्न गराएका थिए । 

तत्कालीन सभापति मल्लसहित उनी पक्षीय नेताहरूले बहिष्कार गरेको सातौँ जिल्ला अधिवेशनमार्फत परशुराम नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका शीर्षस्थ निर्माण व्यवसायी भिमबहादुर साउँदलाई नेपाली कांग्रेस डडेलधुराको सभापति बनाउन देउवाले सघाएका थिए । जिल्ला स्तरमा क्रियाशील कांग्रेस नेताहरूसँग छलफल शुरु गरे पनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्लाउने सोचमा परिवर्तन गरेका छैनन् ।

‘सबै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको अभिभावक बन्नुपर्ने बेलामा सभापति देउवाले कसैलाई काखा र कसैलाई पाखा लगाउने रणनीति अवलम्बन गरेकै कारण डडेल्धुरा कांग्रेसमा द्वन्द्व बढेको हो ।’ नेपाली कांग्रेस डडेलधुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भने,‘विधि प्रक्रिया मिचेर केन्द्रबाटै मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गर्दै जिल्लाको संस्थापन पक्षलाई बाइपास गरिएको हो ।’

सातौँ जिल्ला अधिवेशनका क्रममा नेपाली कांग्रेस डडेलधुराका तत्कालीन सभापति मल्ल पक्षबाट जिल्ला सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका डडेल्धुरा कांग्रेसका बौद्धिक नेता हरिप्रसाद भट्टलाई सतौं जिल्ला अधिवेशनमार्फत एकपक्षीय रूपमा सभापति बनाइएका साउँदसँगै राखेर शुक्रवार प्रधानमन्त्री देउवाले बुढानीलकण्ठस्थित निवासमा छलफल गरेका छन् । यस अघि पनि प्रधानमन्त्री देउवाले जिल्ला स्तरीय नेताहरूलाई बोलाउँदै छलफल गर्दै आएका थिए ।

‘हामीले सातौँ जिल्ला अधिवेशनका बेला उठाएका कुनै पनि राजनीतिक मुद्दाहरूको सम्बोधन हुने लक्षण देखिएन,’ प्रधानमन्त्री देउवासँग भेटघाट गरेका सातौँ जिल्ला अधिवेशनमा सभापतिका आकाङ्क्षी रहेका नेता भट्टले भने,‘क्रियाशील सदस्यतामा भएको फेरबदल र जिल्ला नेतृत्वलाई बाइपास गरेर जिल्ला अधिवेशन सम्पन्न गरेको विषयमा निकास दिनेगरि सभापति देउवाबाट कुनै प्रस्ताव नआएकाले वार्ताको खासै औचित्य देखिएन ।’

उनले सभापति देउवालाई सबै जिल्ला स्तरीय नेताहरूले गरेको कामको उचित मूल्याङ्कन गरेर पार्टी सङ्गठनलाई वैधानिक बाटोबाट एकताबद्ध बनाउन आफुले आग्रह गरेको बताए । ‘तर, पार्टी एकताबद्ध बनाउने बारेमा छलफल भनिए पनि एक पक्षलाई बाइपास गरेर लैजाने परिपाटीले पार्टी एकताबद्ध हुन सक्दैन,’ उनले भने,‘प्रधानमन्त्री देउवालाई निरन्तर ३० वर्षसम्म डडेलधुराबाट जिताउन योगदान पुगाएका कार्यकर्तालाई अपमानजनक ढङ्गबाट बाइपास गर्ने रणनीतिका कारण डडेल्धुरा कांग्रेसमा द्वन्द्व उत्पन्न भएको हो ।’

पार्टी एकताबद्ध बनाउनका लागि छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले अघि सारेका राजनीतिक मुद्दाहरू सम्बोधन गरिनुपर्ने आफ्नो अडान कायमै रहेको प्रधानमन्त्री देउवासँगको भेटपछि भट्टले बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसकुन्जेलसम्म पार्टी एकताबद्ध हुन कठिन हुने उनले जिकिर गरे । 

नेपाली कांग्रेस डडेलधुराका तत्कालीन सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य मल्ल पक्षीय नेताहरूलाई विभिन्न आश्वासन दिएर मल्लबाट अलग पार्दै मल्ललाई एक्लाउने सभापति देउवाको दाउ रहेको जिल्ला स्तरीय नेताहरू बताउँछन् । एक दशकसम्म नेपाली कांग्रेस डडेलधुराको नेतृत्व गरेका मल्ललाई एक्लाउने देउवाको दाउ बुझेका मल्ल पक्षीय नेता कार्यकर्ताहरूले डडेल्धुरा कांग्रेसलाई एकताबद्ध बनाउन चाहेमा मल्ल नेतृत्वको जिल्ला कार्यसमितिविरुद्ध पार्टी केन्द्रबाट भएको अन्यायलाई बुझेर सभापति देउवाले न्याय दिलाउनुपर्ने माग अघि सारेका छन् ।

प्रधानमन्त्री देउवाले डडेलधुरामा आफू निकटस्थ मानिएका जिल्ला स्तरीय नेताहरूलाई पनि मल्ललाई एक्लाएर मात्रै जिल्लामा पार्टी एकता हुने बताउँदै आएको सम्बद्ध श्रोतहरूले जनाएका छन् । पार्टी सङ्गठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्ला स्तरीय नेता कार्यकर्ताहरू भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्ताहरूलाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेलधुरामा पार्टी एकताबद्ध हुने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टी एकताबद्ध हुन नसकेमा सात वटै स्थानीय तहमा पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्तसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ