arrow

९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित बाँकेको खजुराबाट ३ युवा पक्राउ

logo
सौरभ गिरी
प्रकाशित २०७८ फागुन २३ सोमबार
274860191_995040011388312_4899256025789434212_n.jpg

नेपालगञ्ज । बाँके प्रहरीले ५ दिनको अन्तरालमा फेरि अत्याधुनिक स्वचालित पेस्तोल र ठूलो परिमाणमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार साँझ ९० ग्राम ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका १ बहादुरपुरस्थित २५ वर्षीय रबिन्द्र थापाको घरबाट सेतो प्लास्टिकमा बेरिएर राखिएको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका रबिन्द्र थापा, खजुरा २ का २७ वर्षीय मनिष थापा र नेपालगञ्ज १३ का २८ वर्षीय सुरेश रोकामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

बाँके प्रहरीले पक्राउ परेका तीनै जनाले ब्राउन सुगरसमेत सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । केही हप्ताअघि मात्र १५२ ग्राम ब्राउन सुगर बरामद गरेको बाँके प्रहरीले पुनः २ हप्ता अघिमात्र प्रहरी चौकी राधापुरको इन्चार्ज सम्हालेका बमले ठूलो परिमाणमा ब्राउन सुगर बरामद गर्न सफल भएका छन् ।

यता, अपराध नियन्त्रण गर्न लागि पर्ने र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने सोचका साथ कार्य गरिरहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा लागूऔषध कारोबारीको किल्लानै ध्वस्त बनाउँदै गएका छन् । 

बाँके प्रहरीको कमान्ड सम्हालेको ८ महिनामा प्रहरी उपरीक्षक अधिकारीले ९ सय बढी फरार प्रतिवादीलाई पक्राउ गर्नुका साथै सयौंको संख्यामा लागूऔषध कारोबारी धमाधम पक्राउ गर्न सफल भएका छन् । त्यस्तै उनले शान्तिसुरक्षामा खलल पुर्याएका दर्जनौंलाई हतियारसहित पक्राउ गर्दै १० करोड बढीको राजस्व संकलन गरिसकेका छन् ।

प्रहरी उपरीक्षक अधिकारीझैं खरो स्वभाव भएका राधापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बमले पनि आफूले अपराध नियन्त्रण र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् ।

पक्राउ परेका तिनै जनासँग लागूऔषध र हातहतियार तथा खरखजाना ऐन अन्तर्गत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ