arrow

द्वन्द्वको घाउ: पिमकुमारीलाई ‘पीर’मात्र

logo
नारायण वली,
प्रकाशित २०७८ फागुन ३० सोमबार
20220314_053503.jpg

रुपन्देही । लोकगायक प्रकाश सपुतले गत शुक्रवार सार्वजनिक गरेको ‘पीर’ बोलको गीतको भिडियो यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। भिडियोमा नेपालको सशस्त्र द्वन्द्वकालका माओवादी लडाकुले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा चित्रण गर्न खोजिएको छ ।

तत्कालीन सशस्त्र द्वन्द्वमा होमिएर नयाँ नेपालको कल्पना बोकेर विभिन्न मोर्चामा लडेका कैंयन योद्धाहरुको अवस्था भने शान्ति स्थापनापछि दयनीय छ । पहुँचमा भएकाहरु स्वर्ग सुखसयलमा बाँचिरहँदा जो देशका लागि मर्नका लागि प्राणको आहुती दिन तयार भए उनीहरु अहिले गरिबी र पीडाले नर्कतुल्य जीवन जिउन वाध्य छन् । 

सो विषयमा गायक सपुतले तत्कालीन द्वन्द्वका लडाकुको विषय उठान गरे पनि थुप्रै त्यस्ता विषय छन् जहाँ अझै पहुँच पुगेको छैन । द्वन्द्वका बाछिटाले छुप्रैलाई छेपेको छ । 

तीमध्ये एक हुन् ७१ वर्षे वृद्धा पिमकुमारी गिरी ।  

दाङको तुलसीपुर उपमहानगरपालिका–५ निवासी गिरी तत्कालीन दश वर्षे द्वन्द्व पीडित हुन् । उनीसँग सशस्त्र द्वन्द्वकालको पीर खपिनसक्नु छ ।

२०५८ सालमा नेपाली सेनाले रोल्पाको जुँगारमा पढ्न गएको जेठो छोरालाई २१ वर्षको उमेरमा विद्रोही समूहको बिल्ला लगाउँदै हत्या गरेको घटनाले गिरी विक्षिप्त छिन् ।

पढ्न गएको छोरो साँझ घर फर्केला भनेर कुरिरहेकी आमा छारोका अचानक मृत्युको खवर सुन्दा बेहोश भएकी थिइन् । जनयुद्धकालमा जेठो छोरा मात्रै नभइ काँइलो छोरो, श्रीमान र साँइलो ज्वाँइलाईसमेत गुमाउनु परेको द्वन्द्वको ‘पीर’ कम्तीको छैन उनीमाथि ।

द्वन्द्वपीडित पिमकुमारी भन्छिन्, ‘शान्ति स्थापनापछि सरकारले शहीदका नाममा १० लाख रुपैयाँ दिए पनि मनमा भने कहिल्यै शान्तिको महसुस भएको छैन ।’

द्वन्द्वको समयमा तत्कालीन भूमिगत पार्टी नेकपा माओवादी र राज्यपक्षबाट धेरैजसो नागरिक चपेटामा मात्रै परेनन् अनाहकमा ज्यानसमेत गयो । सत्ता र भत्तामा केन्द्रित नेतृत्वका कारण धेरै द्वन्द्व पीडितहरुलाई विगतका खाटा परेका घाउले राम्रोसँग निदाउन नदिएका उदाहरण थुप्रै छन् । 

देशमा शान्ति स्थापना भएको करिब डेढ दशकभन्दा बढी भैसकेको छ । दशवर्षे सशस्त्र युद्धमा तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट धेरै नागरिकको हत्या भयो भने कतिपय अझै बेपत्ताको सूचीमा छन् । 

जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नपाएको गुनासो पूर्वलडाकुहरुको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा ६ का पूर्व जनमुक्ति सेना दिपेन्द्रबहादुर बुढामगर ‘हिमाल’ आर्थिक स्थिति कमजोर भएकै कारण त्यतिबेला शरीरमा लागेको छर्रा अझै निकाल्न पाएका छैनन् । पेनकिलरले उनको पीर घटाउन सकेको छैन । 

२०६२–६३ को जनआन्दोलनपछि राजतन्त्रको विधिवत् अन्त्य र मुलुकमा नयाँ संविधान निर्माण गर्ने काम भए पनि लडाकुहरुको स्थिति उस्तै छ । सँगै मोर्चामा आवद्ध भएका कमाण्डरहरुका जीवन सुकिला मुकिलामा परिवर्तन भएका छन् । 

द्वन्द्वपीडित राष्ट्रिय साझा चौतारीकी केन्द्रीय अध्यक्ष मैना कार्कीले देशमा शान्ति स्थापनासँगै सत्ता र व्यवस्था परिवर्तन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न नपाएको दुखेसो पोखिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ