arrow

संसद अधिवेशन अन्त्य, अलमलमै महाभियोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छिन् । सरकारको सिफारिससँगै मंगलबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी हुन् । 

यसअघि मंगलबार दिउँसो सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

संसद सचिवालयले समेत अधिवेशन अन्त्यको सूचना जारी गरेको छ । 

के हुन्छ प्रन्या जबराको महाभियोग प्रस्ताव ? 
संसदको चालू अधिवेशन अत्य भएसँगै गत फागुन १ मा संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ । 

बुधबारका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिदिएपछि अलमल बढेको छ । 

बुधबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । 

प्रधानन्यायाधीशविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएको भए संसद अन्त्य भए पनि छानबिन प्रक्रिया अगाडि बढ्न सक्थ्यो तर प्रकृया नै शुरु नभएका कारण यसबारेको केही प्रकृया पनि अघि नबढ्ने भएको हो । 

संसदमा सामान्य छलफल नै नभई अधिवेशन अन्त्य भएपछि राणाविरुद्धको महाभियोग सिफारिस समितिमा पठाउने प्रक्रिया रोकिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए । गुरुङले उक्त प्रस्ताव छलफलका लागि पेश गरेका थिए ।

महाभियोग दर्ता भएसँगै राणा हाल निलम्बित अवस्थामा छन् । प्रतिनिधि सभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने व्यवस्था छ । 

तर प्रकृया सुरु नहुँदा समस्या देखिएको छ । अब आगामी अधिवेशनमा मात्र यसबारेको छलफल प्रकृया सुरु हुने छ । आगामी अधिवेशन बजेट अधिवेशन हुनेछ । उक्त अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने छ । 

‘महाभियोगबारे सिफारिस समितिमा प्रस्ताव पठाइएको छैन । त्यसैले आगामी अधिवेशनमा महाभियोगबारेको प्रकृया अघि बढ्छ’, गुरुङले भने ।

 जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रिबजेट छलफल गरिसक्नुपर्ने भएकाले आगामी वैशाख मध्यतिर संसद अधिवेशन आह्वान हुन सक्ने सम्भावना रहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ