arrow

जैविक फोहोरको सदुपयोग: घोराहीमा फोहोरबाट ग्याँस उत्पादन

logo
नारायण वली,
प्रकाशित २०७८ चैत ३ बिहिबार
20220317_081837.jpg

रुपन्देही । देशका ठूला शहरहरु राजधानी काठमाडौं, पोखरा, बुटवललगायत शहरमा उत्पादन हुँदै आएको फोहोरको उचित व्यवस्थापन हुन नसक्दा हप्तौंसम्म पनि सम्बन्धित पालिकाले फोहोर नउठाउँदा सडक नै डम्पिङ साइट बनेको समाचार बेलाबखत पढ्न र लेख्न पाइन्छ ।

जसका कारण लामो समयसम्म फोहोर बाटो मै थुप्रिन पुग्दा वायु प्रदूषण तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्दै आएको हुन्छ । चर्को आलोचना हुँदापनि फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने कुरामा पालिकाहरु गम्भीर बन्न नसक्दा बढ्दो शहरीकरणमा ठूलो चुनौती देखिन थालेको छ।

तर, दाङको घोराही उप(महानगरपालिकाको बजार क्षेत्र बाट संकलित फोहोरलाई यसअघि ल्याण्डफिल साईडमा फालिँदै आएको भए पनि पछिल्लो समय घोराही उपमहानगरपालिकाले जिरो ल्याण्डफिल्ड साइड बनाउने अबधारणा अनुसार गल्ने र नगल्ने फोहोरलाई मोहरमा बदल्न सफल भएको पाइएको छ ।

२०७५ साल मंसिर ५ गते घोराही उपमहानगरपालिकाले वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिसँग त्रिपक्षीय सम्झौता गरेर फोहरबाट ग्याँस र मल उत्पादन गर्ने सहमती गरेपछि अहिले सम्झौताको ३ बर्षपछि फोहोर बाट ग्याँस उत्पादन गरिएको छ ।

उपमहानगरपालिकाको वडा  १६ करौटीडाँडामा २० करोड रुपैयाँको लागतमा ग्याँस उद्योग स्थापना गरिएको हो । गल्ने फोहरबाट उत्पादन भएको ग्याँस प्रयोगमा समेत आईसकेको घोराही नगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्तिले जानकारी दिए ।
 
उनले फोहोरबाट उत्पादित ग्याँसको प्रयोग गर्दै उद्योगभित्र कर्मचारीहरुले सोही ग्याँसबाट खाना पकाउँदै आएको बताए।

सो उद्योगबाट पहिलो चरणमा करिब ४ सय घरधुरीलाई पाइप लाइनमार्फत ग्याँस पुर्‍याउने योजनाअनुसार काम अघि बढाइएको घोराही उपमहानगरपालिकाले जनाएको छ । यसलाई विस्तार गर्दै नगरबासीको घरघरमा पाइपलाइनबाट चुलोमा पुर्‍याइने उद्देश्य उपमहानगरको रहेको छ ।

ग्याँस प्लान्ट आसपासका स्थानीय, नारायणपुर र सर्रामा पुर्‍याउने गरी पूर्वाधारहरु जडानको काम भैरहेको उद्योगका व्यवस्थापक हरिशरण श्रेष्ठको भनाइ छ । पाइपमार्फत ग्याँस प्रयोग गरेबापत उपभोक्ताहरुले मिटर अनुसार रकम तिर्नुपर्ने उल्लेख छ ।

आगामी बैशाख १ गतेदेखि उपभोक्ताहरुको घरघरमा ग्याँस पुर्‍याउने योजना रहेको बताउँदै, अहिले दैनिक २ सय ५० घनमिटर ग्याँस उत्पादन भैरहेको र बेलुनमा भरेर राखिएको व्यवस्थापक श्रेष्ठले बताए ।

अन्य ग्याँसको मूल्यको तुलनामा २ सयदेखि साढे २ सय रुपैयाँ थोरै मूल्यमा उपभोक्ताहरुलाई बिक्री गर्ने समेत श्रेष्ठको भनाइ छ । फोहोरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको जनाइएको छ ।

यस्तै, उक्त संरचना निर्माणका लागि उपमहानगरले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । फोहोरबाट ग्याँस संगै कम्पोष्ट मल समेत उत्पादन गर्ने तयारी भएको छ ।

‘अहिले तत्कालका लागि गल्ने फोहर थोरैमात्रमा रहेको र त्यसको पूर्तिका लागि बस्तुभाउको गोबरसमेत प्रयोगमा ल्याइएको र घोराहीसँगै तुलसीपुर र लमही नगरपालिकाबाट समेत फोहोरहरु ल्याउनुपर्ने अवस्था देखिँदै आएको छ’, व्यवस्थापक श्रेष्ठले भने ।

यस्तै, कम्पनी र घोराही उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ भने सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सम्पूर्ण पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने  सर्त कायम गरिएको बताइएको छ ।

२० वर्ष सम्मका लागि कम्पनीले उपमहानगरपालिकालाई ५ प्रतिशत रकम दिनेसमेत सम्झौतामा उल्लेख गरिएको छ । ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि घोराही बजारबाट उत्पन्न हुँदै आएको फोहोर व्यवस्थापनमा ठूलो राहत हुने भएको छ । 

ग्याँस उत्पादन शुरु भएसँगै सडेर जाने बस्तुको सदुपयोग हुन थालेको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने बस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरलाई बर्गीकरण गरेर उपमहानगरपालिकाले उपभोक्ताहरुबाट खरिद गर्दै आएको छ ।

गत्ता, शिशा, सुर्ती, गुट्खाका खोल, प्लाष्टिक, कपडालगायत नगल्ने फोहोरलाई बर्गीकरण गरेर खरिद गर्दै आएको हो । नगरलाई स्वच्छ राख्नका लागि गल्ने र नगल्ने फोहरलाई पुनः प्रयोगमा ल्याई मोहरमा बदल्न सफल भएको घोराही उप(महानगरका नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् ।

उनले भने, अब उपभोक्ताहरुले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर राखिदिएमा थप सहज हुने बताए । त्यस्तै उपमहानगरपालिकाको वार्षिक १ करोड भन्दाबढी रकम फोहोर व्यवस्थापनमा खर्च हुँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ