arrow

आयोजना प्रमुख प्याकुरेलको गलत मार्गः नयाँले नियुक्ति पाएनन्, पुरानालाई हटाउन सकेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
navraj-pyakurel-adhikar-sampanna-bagmati-savyata-.jpg

काठमाडौं । राज्यलाई १५ लाख भन्दा बढी व्ययभार थपेर ३ जना नयाँ कर्मचारी भर्ना गर्न प्रक्रिया शुरु गरेका अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता एकीकृत विकास समितिको बागमती सुधार आयोजना प्रमुख नवराज प्याकुरेल अहिले दोहोरो दबाबमा परेका छन् । अहिले उनी आफ्नो योजनाबाट पछि हटेका छन् ।

समाचार स्रोतका अनुसार परीक्षासमेत लिएर नियुक्ति पत्र दिन तयारी अवस्थामा राखिएका तीन जना उम्मेदवारहरुलाई नियुक्ति पत्र दिइएको छैन । न त उनले पुराना कर्मचारीहरुलाई हटाउन नै सकेका छन् । यस विषयमा शहरी विकास मन्त्रालयले पनि चासो राखेको स्रोतको भनाइ छ । 

मन्त्रालयको चासो र पुराना कर्मचारीको निरन्तर दबाबको कारण प्याकुरेलले नयाँ कर्मचारी भर्ना गर्न नसकेको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्याकुरेलले बिना कारण हटाउन लागेका पुराना कर्मचारीको दिनहुँजसो दबाबको कारण उनी कार्यालयमै जान सकेका छैनन् ।

‘आयोजना प्रमुखलाई सोध्दा उहाँले तपाईहरुलाई हटाउन लागेका छैनौं नियमित काम गर्नुहोस् भन्नु हुन्छ । उता हाम्रो ठाउँमा नयाँ कर्मचारी राख्न परीक्षासमेत लिइसक्नु भएको छ’ प्याकुरेलले हटाउन लागेका एक कर्मचारी भन्छन्, ‘अहिले उहाँ दोहारो दबाबमा परेको जस्तो देखिनु हुन्छ । परीक्षा लिइसकेका कर्मचारीलाई नयाँ नियुक्ति पत्र दिनु भएको छैन । न त हामीलाई तिमीहरु नआउ भन्न सक्नुहुन्छ ।’

स्रोतका अनुसार छ जना पहिले नै रहेको इञ्जिनियरको टिममा प्याकुरेलले तीन जना राख्न खोजेका हुन् । पहिले नै छ जना रहेकामा उनले जबरजस्ती तीन जनाका लागि आवेदन लिएका थिए । तर त्यो आवेदन नै देखाउनका लागिमात्र लिइएको स्रोतको दाबी छ ।

कार्यालय स्रोत भन्छ, ‘उहाँले आवश्यकता नै भएको भए त पहिले अर्थ मन्त्रालयबाट दरबन्दी ल्याउनु हुन्थ्यो । तर हतारमा आफ्नालाई छिराउन वेबसाइटमा आवेदन मागियो । अनि सार्वजनिक बिदाका दिनमासमेत परीक्षा लिइयो ।’

थप्न खोजेको आयोजनाले माग गरे अनुसार  इञ्जिनियर समूहका थप ३ दरबन्दी सिर्जना गर्न अर्थले नमानेपछि प्याकुरेल अप्ठेरोमा परेका छन् । आयोजनाका अर्का एक कर्मचारी भन्छन्, ‘विना अध्ययन र विना गृहकार्य शाखा अधिकृत सरह (इञ्जिनियर समूह) का तीन जना नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न खोज्दा यो स्थिति आएको हो ।’ 

नयाँ कर्मचारी भर्न लिन प्याकुरेलले लिखित तथा मौखिक परिक्षासमेत लिइसकेका छन् । ती तीन जना विजय बुढाथोकी, प्रवेश विष्ट र आशिष बड्तौला हुन् । 

प्याकुरेलले पुराना कर्मचारीलाई हटाएर उनीहरुको ठाउँमा नया कर्मचारी भर्ना गर्न हतार हतारमा विज्ञापन खुलाएर सार्वजनिक बिदाको दिन परीक्षा लिएका थिए । 

स्रोतका अनुसार प्याकुरेलले करारमा काम गरीरहेका कर्मचारीलाई ज्यालादारीमा सारेर उनीहरुको ठाउँमा नयाँ कर्मचारी भर्ना गर्न खोजेका थिए । 

प्याकुरेलले ती कर्मचारीलाई भर्ना गरेमा आयोजना कार्यालयमा विगत ४–५ वर्ष देखि करारमा कार्यरत तीन जना कर्मचारीको पेटमा हान्नेछन् । करारबाट ज्यालादारीमा सारिएपछि बाध्य भएर उनीहरुले जागिर छाडुन् भन्ने रणनीति भएको कार्यालयका अर्का एक कर्मचारी बताउँछन् । यसअघिका प्रमुखले पनि यस्तै गलत क्रियाकलाप गर्दै आएको उनको दाबी छ । 

उता राज्यलाई हरेक वर्ष कम्तीमा १५ लाख व्ययभार थपिने अवस्था आएको छ । प्याकुरेलले विना कारण हटाउन खोजेका इञ्जिनियहरु प्रकृति किसिजु, सविना पोखरेल र सुवोध सुमन हुन् । प्याकुरेलले यसअघि १० महिनादेखि करारमा काम गर्दै आएकी पल्लवी झा पनि अप्ठेरोमा पारेर काममा नआउन भनेका थिए । 

यो कुरा बाहिरिँदा आफ्नो कुर्सी खतरामा पर्ने भएपछि उनालाई स्टोरमार्फत कार्यालयमा आफूलाई भेट्न बोलाउने गरेका छन् । तर आफू भने कार्यालयमासमेत जान सकेका छैनन् । 

यसैगरी करारमा कार्यरत आशिष दंगाललाई केही समय अघिमात्र विना कारण ज्यालादारीमा सारिएको छ । 

बागमती सभ्यतामा प्रमुख प्याकुरेलको तीन इन्जिनियर राख्न चलखेल, राज्यलाई १५ लाख व्ययभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ