arrow

जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
sher-bahadur-deuba-2078-12-05.jpg

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । सुन्दरहरैचा नगरपालिका-८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भने । उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भने । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताए । 

कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा रु २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिए । झन्डै तीन दशकअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज हुनुपर्ने माग पनि उनले गरे ।

उपप्रमुख धनमाया तामाङले यो नगरपालिकामा मिश्रित समुदाय र धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यहाँको सौन्दर्य नै समाजिक सद्भाव बलियो छ भनिन् ।

यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका-१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख ढकालले ३५ शय्याको सो अस्पतालबाट यस क्षेत्रका नागरिक निकै लाभान्वित हुने बताउँदै नेपाल सरकारको मापदण्डअनुसार अस्पताल निर्माण भएको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गादाता र अतुलनीय कार्य गर्ने विभिन्न महानुभावलाई सम्मान पनि गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ