- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । रामपुर नगरपालिका-१० होस्दीस्थित बराहदेवी मन्दिर भूगोलका हिसावले उपयुक्त, लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने महत्वपूर्ण धार्मिक केन्द्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस मन्दिरको स्तरोन्नति र यहाँको धार्मिक पर्यटनको विकासले फड्को मार्न नसक्दा यो क्षेत्र बत्तिमूनिको अँध्यारो जस्तै बनेको छ ।
समयको परिवर्तनसँगै धार्मिक पर्यटन विकासमा यहाँका स्थानीयवासी जुर्मराउन थालेका छन् । ठूलो रकमको बजेट स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत उपलब्ध नहुँदा धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्र सधैँ ओझेलमा परिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद भण्डारीले बताए ।
मन्दिर बनाउन स्थानीय आमा समूहले पर्खाल बनाउँदा विसं २०६३ मा शिला फेला परेको ८६ वर्षीय शिवलाल बस्याल बताउछन् । सो शिलालाई मन्दिर स्थापना गरी दैनिक पूजाआजा गर्दै आइरहेको उनँले बताए । उनी भन्छन्, “वृहत् पर्यटन विकासको अवधारणा बनाइएको छ, कालीगण्डकी करिडोर सडकको काम सकिन लागेको हुँदा यस क्षेत्रलाई पनि धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गरी देवघाट, लुम्बिनी, पोखरा आएका पर्यटकलाई यहाँसम्म भित्र्याउने समितिको योजना छ ।”
यहाँ ज्वालादेवी मन्दिर, मञ्चस्थल, एक पौवा, चौतारी निर्माण गरिएको छ । मन्दिर वरपर फलफूल बगैँचा पनि छ । मन्दिरसहित करिव १६ रोपनी जग्गा यसको स्वामित्वमा रहेको छ । सो जग्गालाई सदुपयोग गर्दै यहाँ बगैचा व्यवस्थापन, ज्येष्ठ नागरिक आश्रमस्थल, चारैतिरबाट घेराबार, पुरानो बराहदेवी मन्दिरको स्तरोन्नति लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । रामपुर नगरपालिका प्रवेश गर्ने पश्चिमी नाकामा रहेको सो मन्दिर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको नजिकै पर्छ ।
शालिग्रामका नामले परिचित कालीगण्डकी यसैको आडैबाट बहेको हँदा बुढेसकालमा यहाँ आएर धार्मिक क्रियाकलापमा समावेश हुन ज्येष्ठ नागरिकको लागि अति उत्तम ठाउँ रहेको रामपुर उपत्यका पर्यटन विकास समिति अध्यक्ष श्यामकान्त खनालले बताए ।
“सबैलाई पायक पर्ने स्थान, सडक सुबिधा भएको यहाँ नदीको आडैमा ज्येष्ठ नागरिक आश्रम निर्माण गरेर जीवनको उत्तराद्र्धमा यहाँ आएर बसोबास गर्र्न लायकको ठाउँ छ, यसको पूर्वाधार विकासमा जोड दिनुपर्नेछ”, अध्यक्ष खनालले भने ।
पुरानो मन्दिर स्तरोन्नति र यो क्षेत्रको धार्मिक तथा पर्यटन विकासका निम्ति केन्द्रीय बजेटको व्यवस्थापनमा आफूले पहल गर्ने उनी बताउछन् । प्राकृतिक रुपमा उपयुक्त स्थानमा रहेको यस क्षेत्र विकास निर्माणको अभावमा सधै ओझेलमा नै परिरहेको बताउछन् ६२ वर्षीय स्थानीयवासी पदमबहादुर बस्नेत ।
दीर्घकालीन गुरुयोजना बनाएर विकासमूलक कार्य अगाडि बढाउनुपर्ने र यसको पूर्वाधार विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने बस्नेतको भनाइ छ ।