arrow

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका ‘धनगढी’ मा चुनावी तालमेलको बहस

logo
सुनील आउजी, 
प्रकाशित २०७८ चैत १५ मंगलबार
local-level-election-2079.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको चुनावी अभियान आक्रामक देखिएपछि नेपाली कांग्रेस सहितका गठबन्धनमा आबद्ध दलहरु चुनावी तालमेलको छलफलमा जुटेका छन् ।

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकामा सत्तारुढ दलहरूबीच तालमेलका लागि तयारी शुरू भएको छ । स्वतन्त्र उम्मेद्वार हमाल आफ्ना एजेण्डासहित टोल–टोल पुगिसकेका छन् । तर अन्य दलका उम्मेद्वारको नै टुङ्गो नलागेकाले जनता माझ जान सकेका छैनन् । 

स्वतन्त्र उम्मेदवारको पक्षमा लहर देखेपछि उपमहानगरमा निकै बलियो रहेको कांग्रेस पनि झस्किएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र स्वतन्त्र उम्मेद्वार हमालबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला हमाल नेपाली कांग्रेसका उम्मेलवार नृप वडसँग २७ सय मत अन्तरले पराजित भएका थिए । 

यस पटक स्वतन्त्र उम्मेदवारका पक्षमा अघिल्लो निर्वाचनको भन्दा राम्रो जनलहर देखिएको उनका पक्षधरको भनाइ छ । यस पटकको निर्वाचनमा पनि नेपाली कांग्रेसका तर्फबाट मेयरमा नृप वडले नै चुनाव लड्ने सम्भावना धेरै रहेको छ । 

कांग्रेस बाहेक अन्य दलले त खाली उपस्थिति मात्र देखाउने स्थानीयको बुझाइ छ । स्वतन्त्र उम्मेदवारको जबरजस्त उपस्थिति देखेपछि कांग्रेस पनि सत्तारुढ दलहरुसँग गठबन्धन गर्न तयार देखिएको छ ।

धनगढीमा मेयर र उपमेयर कांग्रेसलाई दिने र अन्य पद बाँडफाँड गर्ने गरी तालमेलका लागि छलफल भएको छ । तालमेलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने देखिएका छन् ।

 स्थानीय नेताहरूका अनुसार तालमेलका लागि दुई चरणमा छलफलसमेत भइसकेको छ । छलफलमा कांग्रेसले नगर प्रमुख र उप प्रमुखसँगै बहुमत वडा आफूलाई मागेको छ । 

तर माओवादी र समाजवादीले भने उपप्रमुख कांग्रेसलाई दिन नसकिने अडान राखेका छन् । माओवादीले नगर उपप्रमुखसहित ६ वटा वडा माग गरेको स्रोतले जनाएको छ । 

यता समाजवादीले पनि उपप्रमुख आफ्नो दलले पाउनु पर्ने माग गरिरहेको छ । कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि तालमेलको सम्भावना प्रवल भएको र छिट्टै टुङ्गो लाग्ने बताए ।

‘यो विषयमा केन्द्रमै छलफल भइरहेको छ,’ उनले भने,  ‘सायद भोलिसम्म निर्णय हुन्छ होला ।’ उनले नगर प्रमुख, उपप्रमुख सहित १२ वडा कांग्रेसले पाउनुपर्ने माग रहेको बताए ।
   
अघिल्लो चुनावमा कांग्रेसले धनगढीको प्रमुख, उपप्रमुखसँगै १२ वडामा जित हासिल गरेको थियो,’ जिल्ला सभापति भट्टले भने, ‘ती स्थान यथावत हुने गरी सहमति हुन्छ होला ।’ 

सभापति भट्टकाअनुसार माओवादी केन्द्रलाई यसअघि धनगढीमा जितेका पाँच वडा दिने र समाजवादीलाई एमालेले जितेका तीन वडा दिने गरी छलफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ