- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिं साउँदले नगरपालिकाको प्रशासनिक भवन सम्पन्न नभइ उद्धघाटन गरेका छन् । भवनको निर्माण कार्य सम्पन्न नगरी उद्धघाटन गरेको भन्दै क्रियाशील राजनीतिक दलहरुले विरोध जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलहरुसँगै स्थानीयले विरोध गरेको स्थानीयले बताएका छन् । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माण भइरहेको छ ।
भवन निर्माणका लागि एम–एस शर्मा एण्ड कम्पनीसँग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा क्षेत्रीय शहरी विकास आयोजना कार्यालयले नै ठेक्का सम्झौता गरेको थियो ।
सोही अनुसार हाल भवनको निर्माण कार्य जारी रहेको छ । तर अहिले भवन निर्माणाधीन अवस्थामै रहेको बेला भवन निर्माण गराइरहेको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइलाई बेवास्ता गर्दै भवनको उद्घाटन गरिएको छ ।
प्रक्रियाअनुसार भवन निर्माण गराइरहेको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइले नगरपालिकालाई हस्तान्तरण गरेपछि मात्रै उद्घाटन गर्नुपर्ने हुन्छ ।
तर अहिले भवन निर्माण गरिरहेको दातालाई नै बेवास्ता गर्दै नगरपालिकाले आफुखुशी भवन उद्घाटन गरेको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रबिन शाहले गोदावरी नगरपालिकाको भवन उद्घाटन भएको बारेमा आफूलाई जानकारी नभएको बताए ।
उनले भवन उद्घाटन गर्ने भनेर नगरपालिकाले पत्र पठाएको भए पनि भवन पूर्ण निर्माण नभएकाले उद्घाटन गर्न नमिल्ने भनेर जवाफ पठाएको बताए ।
‘उहाँहरुले भवन उद्घाटन गर्नुपर्ने भयो भनेर पत्र पठाउनु भएको थियो । हामीले विभागीय सहमति नभएकोले मिल्दैन भनेका थियौ । त्यसपछि के भयो थाहा भएन’ उनले भने ‘उहाँले अनुरोध गरे पनि हामीले पूर्ण निर्माण नभएकाले नमिल्ने कुरा पत्र मार्फत जानकारी गराएका थियाँै ।’
उनले भवनको हाल ८५ प्रतिशत काम सम्पन्न भएको र जेठ मसान्तभित्र काम सकिने बताए । उनले भवन पूर्ण निर्माण नभएकाले अहिले नगरपालिकालाई हस्तान्तरण नगरिएको बताए ।
‘स्थानीय सरकारको अधिकारको कुरा हो ।’ नगरपालिकाका प्रमुख साउँदले भने, ‘भवन उद्घाटन गर्ने अधिकार स्थानीय तहसँग छ।’
‘यो एक वैध सरकार हो । यो स्थानीय सरकारको अधिकार हो । त्यसकारण हामी अरुका कुरातिर लागेनौं’ भवनको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले भने ‘तपाई अलिकता सोच्नुहोस् । हामीले कुनै राजनीतिक पूर्वाग्रह राखेका छैनौँ । यसरी उद्घाटन रोक्न खोज्नु दुर्भाग्य हो । यो स्थानीय तहको भवन हो । अब यो ठाउँमा हामी बैशाखमा सर्नेछौं । यसमा कसैले पनि विरोध गर्न आवश्यक छैन ।’
उनले भवन चैत्रभित्र सम्पन्न गर्ने भनिए पनि पछि आयोजना कार्यालयले नै ढिलाई गरेको आरोप लगाए ।
‘क्षेत्रीय शहरी विकास आयोजनाले चैत महिनामा हस्तान्तरण गर्छ भनेका थिए । सोही अनुसार हामीले चैत १४ मा उद्घाटन गर्ने योजना बनायौं । तर पछि यहाँ काम गर्ने कर्मचारीलाई नै अन्य ठाउँमा पठाइयो ।’ उनले भवनको उद्घाटन हुन नदिन विभिन्न बहानामा काम लम्ब्याइएको बताए ।
उनले शहरी विकास कार्यालयले नगरपालिकाको भवन बनाइदिन्छौं भनेपछि सम्झौता गरेको बताए ।
‘गोदावरी नगरपालिकामा आइसकेपछि हामी सुकुम्बासीको अवस्थामा थियौँ । अब सधैभर सुकुम्बासी रहेर नगरपालिकाले आफ्ना काम कारबाहीहरु अगाडि बढाउन सक्ने अवस्था थिएन’ नगरप्रमुख साउँदले भने ‘यसै बीचमा शहरी विकासले तपाईहरुलाई हामी भवन दिन्छौं भनेको थियो । त्यसपछि हामीले शहरी विकासलाई अत्तरिया चोकको डेढ किलोमिटर भित्रै जग्गा उपलब्ध गराएका थियौं । जसका लागि सबै राजनीतिक संयन्त्रसँग छलफल गरी निर्णय गरिएको थियो ।’
उनले आफूहरुले छिटो काम गर्न ताकेता गर्दा भवन अहिलेको अवस्थामा पुगेको बताए । सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिएको भए पनि कोरोना महामारीको कारण देखाउँदै हालसम्म म्याद थप गरी काम भइरहेको छ ।
भवन निर्माणको म्याद जेठ मसान्तसम्म रहेको छ । नेकपा एमाले बाहेक सबै दलको विरोधकाबीच भवन उद्घाटन गरिएको छ ।
विरोधकैबीच नगरप्रमुख साउँदले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
उद्घाटन गर्ने क्रममा एक जना युवाले कालो झण्डा देखाएपछि केहिबेर कार्यक्रम स्थल तनावग्रस्तसमेत बनेको थियो ।
यद्यपि प्रहरीले कालो झण्डा देखाउने स्थानीय युवा एलआर ओझा पक्राउ गरेर छोडिसकेको छ ।
निर्माणाधीन भवनको उद्घाटन गरिन लगिएको भन्दै गत आइतबार नेपाली कांग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो ।