arrow

स्थानीय तहको निर्वाचन

गाउँमा चुनाव लाग्यो, यस्तो छ नेताहरुको सक्रियता

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ चैत १८ शुक्रबार
congress-uml-maobadi-as-jasapa.jpg

मोरङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख दलका नेताहरू आफ्नो चुनावी जिल्लाका गाउँ गाउँ पस्न थालेका छन् । चुनावको तयारीका लागि गाउँमा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन दलका नेताहरुलाई भ्याइ नभ्याइ देखिन्छ । 

देशभरकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यस पटक अघिल्लो वर्षको निर्वाचनको तुलनामा एक लाख ४१ हजार सात सय २४ जना मतदाता थपिएर मतदाता संख्या सात लाख १५ हजार दुई सय २३ पुगेको छ । ६ वटा निर्वाचन क्षेत्र र १७ पालिका रहेको यस जिल्लामा निर्वाचन नजिकिएसँगै प्रदेशदेखि केन्द्र स्तरका नेताहरुको दौडधुप बढ्दो छ ।

नेपाली कांग्रेसको कार्यक्रममा केन्द्रीय नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतका नेताहरु गाउँ गाउँमा गएर कार्यकताहरुलाई सम्बोधन गरिरहेका छन् । 

त्यसैगरी नेकपा एमालेबाट केन्द्रीय नेताहरु भानुभक्त ढकाल, लालबाबु पण्डित, विनोद ढकाल लगायतका नेताहरु कार्यकर्ता भेटघाटमा जिल्लामै ब्यस्त भेटिन्छन् । 

माओवादी केन्द्रका नेताहरु गोपी अछामी, सावित्री कुमारी काफ्ले, शिवकुमार मण्डल लगायतका नेताहरु पनि गाउँगाउँमा संगठन निर्माणमा जुटेका भेटिन्छन् । 

त्यसैगरी जनता समाजवादी र एकीकृत समाजवादी पनि चुनावको तयारीमा जुटेको देखिन्छ ।

कांग्रेस नेताहरु ‘घर घर जाऔं कांग्रस जिताऔं’ भन्दै जनताका घरघर पुगिरहेका छन् । प्रतिपक्ष एमालेले केही दिनदेखि टोल कमिटी निर्माण गर्ने र सबै किसिमका जनवर्गीय संगठनलाई सकृय बनाउन विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।

यस पटक कम्युनिष्ट कमजोर भएको मौका पारेर कांग्रेसले सबै तहमा आफ्नो जित सुनिश्चित गर्ने रणनीतिका साथ अघि बढेको छ । गाउँगाउँमा पुगेका नेताले उम्मेदवार टुंगो नलागे पनि आफ्नो पार्टीलाई जिताउन भोट माग्न थालिसकेका छन् ।

एमाले र कांग्रेसका कार्यकर्ता बीचमा उम्मेदवारका लागि टिकटको हानाथाप हुन थालिसकेको छ । टिकटको लविङका लागि स्थानीय नेताहरु जिल्लादेखि केन्द्रसम्मका नेताको घरमा धाउन थालिसकेका छन् । 

अर्कातिर सत्ताधारी गठबन्धनले चुनाव पनि गठबन्धन गरेर जाने भनेसँगै टिकटका लागि हानथाप हुने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ