arrow

प्रदेश १ मा चुनावी तालमेल गर्न गठबन्धनको कार्यदल 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ चैत १९ शनिबार
pradesh11.jpg

मोरङ । प्रदेश १ मा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको बैठकले वडा तहसम्मै सहमति गरेर चुनावमा जाने निर्णय गरेको छ । इटहरीमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गरेका निर्णयहरुमा गठबन्धनलाई तलसम्म कार्यान्वयन गर्नका लागि वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको छ । कार्यदलमा सबै दलका प्रदेशस्तरीय शीर्ष नेता सहभागी हुनेछन् ।

सबै जिल्लामा सम्मानजनक गठबन्धन र तालमेललाई विशेष जोड दिने, अन्य दलहरुसँग पनि गठबन्धनका लागि आह्वान र वार्ता गर्ने निर्णय बैठकले गरेको छ । गठबन्धन बाहेकका दलहरु राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चलगायतसँग पनि तालमेलको लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए ।

बैठकमा गठबन्धनको मोडल कस्तो हुने भन्ने विषयमा सुझाव दिन कार्यदल निर्माण भएको छ । कार्यदलमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।

बैठकले प्रदेशका प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण गरेको छ । यो अधिकार सम्पन्न अनुगमन समिति हो । ‘गठबन्धन भित्रका पार्टीहरुले गठबन्धन विरोधी कुरा गर्न नहुने, उम्मेद्वारी दर्ता भइसकेपछि त्यसको विरुद्धमा जानेहरुलाई नियन्त्रण गर्ने काम पनि सो संयन्त्रले गर्नेछ,’ डाँगीले भने । अहिले जिल्ला भन्दा तल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको पनि उनले बताए ।

बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धव थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत तथा अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ