- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही। स्थानीय तहमध्ये सबैभन्दा छिटो कानून तयार गरेर लोकप्रियता कमाएको पालिका हो रुपन्देहीको तिलोत्तमा । त्यसपश्चात् ‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा’ अवधारणा ल्याएर विशेष गरी पालिका अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गलाई समेटियो ।
स्थानीय तहको ५ वर्षे कार्यकाल सकिनै लाग्दा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले चुनावी प्रतिबद्धताअनुसार करिब सबै योजना सम्पन्न गरेको बताउँदा यता तिलोत्तमा नगरपालिका वडा ११ गणेशनगर टोलवासी भने आक्रोशित बनेका छन् ।
नेपाल सरकारले रकम नदिएको बताउँदै झण्डै ६ महिनादेखि ठेकेदारले निर्माण कार्य रोकेको र सडक अलपत्र परेको भन्दै घाम लाग्दा धुलाम्मे र सामान्य पानी पर्दा हिंडडुलसमेत गर्न नसकिने गरी हिलाम्मे हुने गरेको स्थानीयहरु बताउँछन् ।
स्थानीय शंकर कुँवरले भने वर्षाको समय नजिकिँदै गएकाले अलपत्र सडकको अवस्था र अधुरो नालीले वर्षामा नालीको पानी घर भित्र पस्ने बताए ।
उनले अलपत्र सडकलाई पूरा गर्नको लागि नगरपालिकाले सम्वन्धित निकायसँग समन्वयको भूमिका गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको बताए । ‘हामी त तिलोत्तमा नगरबासी होइनौं जस्तो लाग्छ । किनकि जहाँ जनताका सामान्य आधारभूत सडक र फोहोरमैला व्यवस्थापन बस्ती नजिकै मापदण्ड विपरीत फालिदै आइएको छ । तिलोत्तमा नगरपालिका देशै उत्कृष्ट कसरी भयो ? मूल्यांकन कसरी गरियो सम्बन्धित निकायले ध्यान दिओस् ।’
स्थानीय मनोज मल्लले पनि तिलोत्तमा नगरपालिकाप्रति रोष प्रकट गरे । उनले सडकको धुलोले घर बाहिर आउन पनि गाह्रो भएको छ। सवारीसाधन सञ्चालनले धुलो अत्यधिक मात्रामा उड्छ, जसका कारण हामीलाई रुघाखोकी लाग्ने र बालबालिकाहरु बिरामी हुने गरेको जनाए ।
तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले गणेशनगरवासीलाई उपेक्षा गर्दै आएको स्थानीय भरत न्यौपानेको आरोप छ । उनले गत वर्ष सुखौरा खोला उत्खनन् मनपरी रुपमा रातिको ११ बजेतिर गर्दा आफूहरुले टिप्पणीलाई रोकेर मेयर घिमिरेलाई फोन गरी मनपरी उत्खननलाई रोक्नुपर्ने जानकारी गराउँदा हुन्छ म केटाहरुलाई भनुँला भनेर गैरजिम्मेवार जवाफ दिने र अस्तव्यस्त सडकको अवस्थाप्रति गम्भीर बन्न नचाहेको भन्दै निर्माणकार्य सडक डिभिजन कार्यालय बुटवलको जिम्मेवारी रहेको बताउँदै पन्छिन खोजेको बताए ।
गत फागुन २८ गते स्थानीय खिमकुमारी कुँवर सहितको ९ जनाको एक टोली तिलोत्तमा नगरपालिका कार्यालयमा पुगेर अलपत्र सडकलाई तत्काल पूरा गरी आवागमनलाई सहज बनाउनुपर्ने र वर्षात् शुरु भएमा नालीको पानी बस्तीमा आउने भएकाले नगरपालिकाले यस विषयमा ध्यान दिनुपर्ने जानकारी गराउँदा, टोलीलाई नगरपालिकाले उक्त सडक आफूहरुको जिम्मेवारीमा नरहेको भन्दै सडक डिभिजन कार्यालय बुटवलमा जान जवाफ दिएको खिम कुमारीको भनाइ छ ।
यही चैत्र मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने सडक डिभिजन कार्यालय बुटवल र विजय निर्माण सेवाबीच सहमति भएको पाइएको छ । उक्त नाका सडक भनेर नामाकरण गरिएको सडकको सम्झौता मिति सकिन केहीदिन बाँकी छ ।
विजय निर्माण सेवाका सञ्चालक एवं गणेशनगर सडक निर्माण कार्यका ठेकेदार विजय श्रेष्ठले हालसम्म ६० लाख रुपैयाँ लागत लागेको बताउँदै, भदौतिर आफूले २० लाख रुपैयाँ मात्रै पाएको र अझै वक्यौता रहेकाले रकम रोकिएपछि उधारोमा काम गर्न सक्ने अवस्था नभएकाले बाध्य भएर काम रोकेको बताए । ५ सय मिटर सडक निर्माणका लागि करिब डेढ करोड योजना भएको उल्लेख गरिएको छ।
यता, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी भन्छन्, ‘गत वर्ष बजेट विनियोजन भएको र अहिले नभएकाले सो योजना अलपत्र पर्न गएको जनाउँदै, बजेट मागका लागि हामीले झण्डै डेढ महिना भयो केन्द्रमा फाईल पठाएका छौं । रुपन्देहीबाट प्रतिनिधित्व गरेका शिर्ष नेताहरुलाई आग्रह गरेका छौं । बजेट आयो भने सडकलाई पूरा गर्छौं ।’