arrow

गोरखामा गठबन्धन : भागबन्डामै सकस

logo
अश्विन दानी,
प्रकाशित २०७८ चैत २८ सोमबार
gokhara-district-winner.png
फाइल तस्बिर

गोरखा । विगतका वर्षमा निर्वाचन परिणाम हेर्दा गोरखामा माओवादी र काँग्रेस पहिलो-दोस्रो, एमाले र जसपा तेस्रो-चौथो दलका रूपमा स्थापित छन्।  हाल जिल्लामा यी शीर्ष चार दलपछिको शक्तिको रूपमा नेकपा एमाले फुटेपछि बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी देखिन्छ। 

अहिलेसम्मको निर्वाचन नियाल्दा पहिलो र तेस्रो शक्ति मिलेर दोस्रोसँग अथवा दोस्रो र तेस्रो शक्ति मिलेर पहिलोसँग चुनावी टक्कर गर्ने गरेको थिए। तर, केन्द्रीय राजनीतिक असन्तुलनका कारण स्थानीय निर्वाचन २०७९ मा भने गोरखामा पहिलो, दोस्रो, चौथो, पाँचौँ शक्तिका रूपमा स्थापित दलहरू मिलेर तेस्रो शक्ति विरुद्ध चुनाव लड्नु पर्ने बाध्यता छ। आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पार्टीहरू देशभर चुनावी तालमेल गर्ने निर्णय गरेपछि गोरखामा अस्वाभाविक चुनावी टक्कर हुने सङ्केत देखिएको छ।

गोरखामा चुनावी तालमेल र भागबन्डा मिलाउन गठबन्धन भित्रका चार दल काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो बैठकले काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला संयन्त्र बनाएको थियो। गत चैत्र १८ गते यता सो संयन्त्रको औपचारिक बैठक तीन पटक बसिसक्यो।

तर, सत्तारुढ गठबन्धनका जिल्ला स्तरीय नेताहरूबीच तीन पटक छलफल भए पनि कसरी उम्मेदवारी भागबन्डा गर्ने ?, कुन ठाउँमा कसले छोड्ने ?, कहाँ कसलाई सघाउने ? भन्ने बारेमा कुरा नमिल्दा चुनावी तालमेल हुने भन्नेबारे कुनै मार्गचित्र बन्न सकेको छैन। 

काँग्रेस र माओवादी मात्रै नेतृत्व लिने, अन्य दललाई नदिने !
गोरखामा दुई नगरपालिका र  नौ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको छ। २०७४ को स्थानीय निर्वाचनबाट नेपाली काँग्रेसले नौ वटा र नेकपा माओवादी केन्द्रले दुई वटामा नेतृत्व समालिरहेको छ।

काँग्रेसले गोरखामा एक्ला एक्लै चुनाव लडे ११ वटै पालिका जित्ने दाबी गर्दै गठबन्धन भएमा हाल नेतृत्व लिइरहेको नौ वटा पालिका नछाड्ने अडान लिएको छ । यद्यपि गठबन्धन पार्टीका एक नेताका अनुसार गठबन्धनलाई मिलाएर लैजाँदा राष्ट्रिय राजनीति हेरेर काँग्रेस सात वटा पालिकामा खुम्चिएर सहमति गर्ने भित्री रणनीतिमा छ।

सत्ता गठबन्धन नै मिलेर जाने हो भने नेकपा माओवादीले सात वटा पालिका दाबी गरेको छ। तर, माओवादीका जिल्ला स्तरीय एक नेतृत्वले काँग्रेसका नेतृत्वलाई जिल्ला समन्वय समितिसहित १२ हिसाब गरेर ६-६ वटा बाँडेर चुनावमा जान प्रस्ताव गरेको स्रोत बताउँछ।

‘जिल्लामा जसपा र नेकपा एसको सङ्गठन बलियो छैन। यिनीहरूलाई नेतृत्व दिनु पर्दैन। हामी जिसससहित १२ वटा हिसाब गरेर आधा आधा बाँडौँ। अरू दललाई नेतृत्व नदिई चित्त बुझाऔँ, यदि मानेनन् भने काँग्रेस माओवादी मात्रै मिलेर चुनावमा जाऔँ भनेर माओवादीले नेतृत्वले काँग्रेसलाई प्रस्ताव गरेको रहेछ। तर, काँग्रेसले त्यो कुरालाई अस्वीकार गर्‍यो’, स्रोतले भन्यो।

जसपाले भने गोरखामा एक नगरपालिकासहित तीन वटा पालिका दाबी गरेको छ। तर, गठबन्धनका दुई शीर्ष दल काँग्रेस र माओवादी आफूले मात्रै नेतृत्व लिएर साना दललाई उपमेयर, उपाध्यक्ष र वडाध्यक्षमा नै चित्त बुझाउन लगाउने चलखेल सुरु भएपछि जसपाका नेताहरू असन्तुष्ट देखिन्छन्। जसपा र नेकपा एसलाई नेतृत्व नदिएर दुई दल मात्रै भाग लिने भन्दै माओवादीले गरेको लबिङ काँग्रेसले अस्वीकार गर्‍यो।

नेकपा एसले हालसम्म कुनै पालिकामा दाबी प्रस्तुत नगरे पनि तालमेल हुँदा कम्तीमा एउटा पालिका पाउने कुरामा ढुक्क छ। राष्ट्रिय राजनीति हेरेर पनि गोरखामा सम्मानजनक तालमेल हुने भन्दै नेकपा एसका नेतृत्वले अहिलेसम्म कुनै पालिकामा दाबी भने गरेका छैनन्।

‘तीन बैठकमा जुटेन सहमति, भागबन्डा नमिल्दा गठबन्धन फुट्ने सङ्केत’
अनौपचारिक रूपमा दलका नेताहरू पटक पटक बैठक बसे पनि औपचारिक रूपमा भने गत चैत्र १८ गते यता गोरखामा सत्तारुढ गठबन्धनका दल चुनावी तालमेलको विषयमा छलफल गर्न तीन पटक बैठक बसिसके।

गोरखा बाहेक अन्य जिल्लामा गठबन्धन दलले धमाधम यसअघि आफूले जितेको क्षेत्र यथावत् राख्दै एमालेले जितेको ठाउँको पद आपसमा बाँडाबाँडी गरेर चुनावी तालमेल गर्ने निर्णय गरिरहेका छन्।

तर, गोरखामा एमालेको १३ वटा वडा बाहेक जिल्लामा नेतृत्व नै छैन। गठबन्धन भएको खण्डमा साझेदार दलहरूलाई खुसी बनाउन काँग्रेसले विगतमा आफूले जितेका चार-पाँच वटा पालिका अन्य दललाई बाँड्नु पर्ने देखिन्छ। जसका लागि काँग्रेस तयार छैन।

माओवादीले सात वटा, जसपाले तीन वटा पालिका दाबी छ  नेकपा एसले कम्तीमा एउटा पालिकाको नेतृत्व पाए चित्त बुझाउने देखिन्छ। माओवादी र जसपा पनि आफ्नो दाबी अनुसार सम्मानजनक हिस्सा नपाए चुनावी तालमेलको आधिकारिक निर्णय गर्न तयार छैनन्। काँग्रेस आफू ‘मरिज’ जस्तो खुम्चिएर तालमेल गर्नु भन्दा एक्ला एक्लै लड्न चाहन्छ।

‘सबै दलका आआफ्नै अडान भए। आफ्नो दाबीबाट पछि हट्ने र सकेसम्म कम्प्रमाईज गर्ने पक्षमा दलहरू देखिन्नन्। त्यसैले अन्ततः गोरखामा अहिले सोचेजस्तै सत्तारुढ गठबन्धन दलहरू चुनावी तालमेल गर्ने सम्भावना कम हुँदै छ’, गठबन्धन दलका एक नेताले भने। न्युज कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ