arrow

निर्वाचन अधिकृत र कार्यालयको सुरक्षार्थ सशस्त्र प्रहरी खटिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
darchula-surakshaya.PNG

दार्चुला । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै छ । 

यस पटकको निर्वाचनका लागि निर्वाचन अधिकृत र कार्यालयको सुरक्षार्थ सशस्त्र प्रहरी खटिने भएको छ । निर्वाचन अधिकृतको सुरक्षा र कार्यालयको सुरक्षामा सशस्त्र प्रहरी बल परिचालन हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्टका अनुसार एक निर्वाचन अधिकृतको कार्यालय सुरक्षामा वरिष्ठ हवलदारको कमाण्डमा ५ जनाको टोली परिचालन गरिनेछ । 

संवेदनशील क्षेत्रको रूपमा निर्धारण गरिएका जिल्लाका मतदान स्थलहरूमा सशस्त्र प्रहरीले निर्वाचन अवधिभर अस्थायी बेस क्याम्प स्थापना गरी सुरक्षा दिने उनले बताए । 

प्रत्येक स्थानीय तहमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा मोबाइल गस्ती, निर्वाचन अधिकृत र कार्यालय सुरक्षा लगायतमा २३ जनाको टोली परिचालन हुने उनले जनाए । 

१ सय १० वटा मतदान स्थल र १ सय ३९ मतदान केन्द्र कायम गरिएको दार्चुला जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।

यसैबीच निर्वाचनमा १ हजार भन्दा बढी कर्मचारी खटाइने भएका छन् । निर्वाचन सम्पन्न गर्न जिल्लाभरी १ हजार ८१ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए । कर्मचारी खटाउनेबारे आन्तरिक तयारी पूरा भइसकेको उनले बताए । 

निर्वाचन सम्पन्न गर्नका लागि २ सय ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, २ सय ४७ जना सहायक कर्मचारी, १ सय ३९ जना कार्यालय सहयोगी र ४ सय १७ जना स्वयंसेवक गरी १ हजार ८१ जना कर्मचारी खटाइने उनले बताए । 

स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतहरू जिल्ला पुगिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ