arrow

उपयुक्त उम्मेदवार पाउने इलामवासीको आश

logo
टिका खतिवडा,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
election-2079.jpg

इलाम ।  उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ । आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत सङ्ग्रहसँग तुलना गर्छन् । “त्यसबेला दुई ठाउँमा भोट हाल्नुपथ्र्यो”, उनले भने, “एकातिर राजा (सुधारिएको राजसंस्था), अर्कातिर बहुदल थिए । अहिले त्यस्तै चल्दैछ जस्तो लाग्छ । यस पटक पनि दुईतर्फी नेतामात्र गाउँ पसेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कातिर प्रतिपक्ष नेकपा (एमाले) ।” 

यसपटक गुरुङलाई दुई पार्टी मात्र छन् कि जस्तो लागेको छ । गठबन्धन भनेको गुरुङका लागि एउटै पार्टी लागेको छ । यति मात्र होइन, गुरुङ यस पटकको चुनावमा केही आशावादी छन् । विसं २०७४ को स्थानीय तहका प्रतिनिधिले केही विकास गरेझैँ लाग्छ गुरुङलाई । “स्थानीय तहका प्रतिनिधि माथिजस्तो (सङ्घ र प्रदेश) भोट जितेर हराइ हाल्दा रहेनछन् । बाटोघाटो बनेको छ ।”

माईजोगमाई गाउँपालिकास्थित लक्षुमन काफ्लेलाई उनी जस्तै लाग्ने गरेको छ । उमेरले ६० टेकेका काफ्लेलाई स्थानीय तहको पहिलो कार्यभार समाहलेका जनप्रतिनिधिको काम उल्लेखीय लागेको छ । “सानातिना विवाद लिएर जाँदा पनि जनप्रतिनिधिले मिलाइदिन्छन् । गाउँकै मान्छेले जित्दा समस्यामा पर्दा सजिलैसँग भन्न पाइन्छ”, उनले भने, “अपेक्षा गरेर जस्तो त भएन तर अरु जनप्रतिनिधि जस्तो लागेन ।” जनप्रतिनिधिले प्रतीक्षा गरे जति काम नगरेकामा भने काफ्लेको दुखेसो छ । यस पटक पुराना भन्दा पनि नयाँ जनप्रतिनिधि आए हुने जस्तो लाग्छ उनलाई । “यो पार्टी, उ पार्टी भन्दा पनि पहिलैदेखि चिनेजानेकैलाई भोट हाल्ने हो”, उनले भने, “कम्तीमा दुःख परेको बेला घरसम्म त आइदिन्छ ।” 

लक्षुमनलाई त वैशाखमै चुनाव भइहाल्नेमा अचम्म लाग्दैछ । किनकी उनले २०५४ साल पछिको स्थानीय निकाय पनि देखेका छन्  । “त्यतिबेला पनि पाँच वर्षका लागि हो भन्थे । २० वर्ष चुनावै भएन । उनले भने, “अघिल्लो चोटीका जनप्रतिनिधि पनि त्यस्तै होलान् जस्तो लागेको थियो तर होइन रहेछ ।” हुन त पाँच वर्षको अवधिमै स्थानीय तहको चुनाव हुनेमा केही दिन अघिसम्म धेरै जना आशावादी नै थिएनन् । अब भने हुन्छ कि भन्ने लागेको छ । स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक कार्यसूचीभन्दा पनि विकासका कार्यसूची अघि सारेकाले धेरै खुसी छन् । 

गुरुङ र काफ्ले मात्र होइन, जिल्लाका धेरैलाई यस पटकको चुनाव नौलो र उत्साह छाएको छ । स्थानीय तहका जनप्रतिनिधिको जनतासँग सिधै भेट हुन्छ । त्यसैले पनि ‘अनावश्यक’ र ‘पूरा गर्न नसकिने’ कामको प्रतिबद्धता जनप्रतिनिधिले गर्दैनन् । एकातिर झुट प्रतिबद्धता जनताले नगर्ने र अर्कातिर गरेका बाचा पूरा गर्नै पर्ने बाध्यता हुन्छ । आउँदो चुनावमा फेरि जनतासमक्ष जानुपर्ने बाध्यता भएकाले पनि अनावश्यक बाचा गर्दैनन् जनप्रतिनिधिले । गएको चुनावका ९९ प्रतिशत बाचा र प्रतिबद्धता पूरा गरेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईको भनाइ छ । 

“जति गरे पनि आफ्नै गाउँका लागि गर्ने हो । हामीले त बोलेका कुरा पूरा गरेका छौँ”, उनले भने । कोरोना महामारी नआएको भए सबै प्रतिबद्धता पूरा हुने अध्यक्ष राईको दाबी छ । आफूले विकास निर्माण, मानव संशाधन, पर्यटकीय विकास सबै क्षेत्रलाई समेटेर विकास गरेको उनको भनाइ छ । राई पनि अब विगतकै कामलाई अघि सारेर जनतामा जाने बताउनुभयो । मलाई अब जनतामा जान असहज छैन । गाउँपालिकाको भवन निर्माणदेखि रेडपाण्डा जोन निर्माण गरेकोसम्मका उपलब्धि गरेको उनको भनाइ छ । 

जिल्लामा दश स्थानीय तह छन् । तीमध्ये छ गाउँपालिका र चार नगर छन् । यी सबै स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात् केही न केही उपलब्धि भएकै छन् । न्यायिक क्षेत्र, व्यक्तिगत घटना दर्ता, भौतिक निर्माण, घरायसी समस्या सबैमा उल्लेखनीय प्रगति भएको छ । यसै कारण पनि सर्वसाधारणमा आशा पलाएको छ ।

‘जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरुन्’
जनताले एक चरण जनप्रतिनिधिको कार्यशैली हेरिसके । काम मात्र होइन, जनप्रतिनिधिकै कारण कतिपय ठाउँमा समस्या पनि भएको छ । त्यसमा पनि इलाममा त पालिका प्रमुख, उपप्रमुख बाझाबाझ गर्नेदेखि जनप्रतिनिधिले कुट्नेसम्म काम गरे । तर यी सबै विषय बिर्सिएर जनता भोट खसाल्न आतुर छन् ।

जनताका पीडा बुझेर काम गर्नुपर्ने सर्वसाधारणको राय छ । यस पटक अनावश्यक प्रतिबद्धता नगर्न सर्वसाधारणको आग्रह छ । “जनप्रतिनिधिले धेरै काम होइन । गाउँघरको पीडा बुझिदिए मात्र हुन्छ”, देउमाई नगरपालिकाकी सर्वसाधारण पवित्रा आचार्यले भनिन्, “प्रतिनिधिले कच्ची काम नगरुन् । बनिने वित्तीकै भत्किने बाटो नबनाउन् । केटाकेटीलाई गुणस्तरीय ठाउँमा पढाउन पाऔँ ।” महँगिएको बजार भाउ घटोस र स्थानीय सामग्री बेच्ने बजार होस् भन्ने चाहना आचार्यको छ ।

“लगाएको सब्जी बेच्ने पाइँदैन । सबै कुइँएर जान्छ । टाढा बोकेर लान सकिँदैन । नजिक बिक्दैन”, उनले भनिन्, “भनेको बेला सब्जी होइन, खसी पनि बिक्दैन यो ठाउँमा । यत्ति काम भयो भने भातै चाहिँ खाइन्छ ।” जनप्रतिनिधिको अपेक्षा विद्यालय, यातायात अनि कृषिसँग सम्बन्धित बढी छन् ।

आधारभूत आवश्यकता पूरा गर्न स्थानीय तह लागि पर्नुपर्नेमा उनीहरुको जोड छ । गाडी भाडा र निजी विद्यालयको शुल्क घट्नुपर्ने इलाम नगरपालिकाकी टीका घिमिरेको भनाइ छ । यसप्रति स्थानीय सरकारले काम गरेमा चर्को खर्च घट्ने उनको अनुमान छ । जेनतेन निजी विद्यालयमा पढाइरहेकी उनले पुराना जनप्रतिनिधिसँग पनि यी गुनासो राखेकी थिइन् तर पूरा भएन । आफूहरुका भावना बुझिदिने जनप्रतिनिधि उम्मेदवार आएमा पार्टी नहेर्ने सर्वसाधारणको भनाइ छ । 

उपयुक्त उम्मेदवार आउनेमा आशावादी
स्थानीय तहको चुनाव आउन २४ दिन बाँकी छ । अझै पनि राजनीतिक दलले उम्मेदवारी छनोट गर्न सकेका छैनन् । आन्तरिक रस्साकस्सीमै दल गिजोल्लिरहेका छन् । यसैले पनि दलले कस्ता उम्मेदवार छनोट गर्छन् भन्ने दोधारमा छन् जनता । भरसक उपयुक्त र सही छनोट गर्नुपर्ने उनीहरुको माग छ । 

“पछिल्ला दिन खास प्रगति देखिँदैन । हाम्रा कुला, पैनाका समस्या समाधान हुन् भन्ने लाग्छ”, सन्दकपुर गाउँपालिकाका इन्द्र गुरुङले भने, “हामीलाई बुझेका प्रतिनिधि आउन ।” हालसम्म नेकपा एमालेले केही स्थानीय तहमा प्रतिनिधि टुङ्ग्याएको छ । अन्य दल आन्तरिक रस्साकस्सीमै छन् । एमालेले देउमाई नगर, सूर्योदय नगरमा मात्र उम्मेदवार छनौट गरेको छ । अन्य पालिकामा छनोट प्रक्रिया जारी छ । 

यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका राष्ट्रिय दलले चाँडै उम्मेदवार चयन गर्ने बताइरहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १७ दल दर्ता भएका छन् । गएको चुनावमा भन्दा केही दल बढेको निर्वाचन आयोगले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ