arrow

केशव स्थापित, एमाले र मीटू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
keshav-stapit-2022.jpg

काठमाडौं । २०६० साल कार्तिक २ गतेको निर्णय भन्दै काठमाडौं महानगरमा कार्यरत रश्मिला प्रजापतिलाई ३ गतेदेखि कार्यालयमा नआउन भनियो । कारण केही खुलाइएको थिएन । खासमा त्यतिबेला केशव स्थापितले महानगरमा उनीमाथि कुदृष्टि राखे । उनले त्यतिबेला बोल्ने साहस गर्न सकिनन् । किनकि त्यो समयमा पुरुषकै बोलवाला थियो । तर उनले स्थापितको आग्रह र धम्कीलाई रुचाइनन् । उनलाई कहिले धुलिखेल त कहिले नगरकोट जाउँसम्म भने स्थापितले । उनी आफूमा अडिग भइन् । अन्ततः स्थापितले उनलाई निकाले । 

प्रजापति अहिले सम्झिँदै भन्छिन्, ‘ऊ यौन दूराचारी थियो । मलाई प्रयोग गर्न खोज्यो म भइन । अन्तमा केही नलागेपछि मेरो बदनाम गराउन पत्रिकामा भ्रष्टाचारी भएको लेखायो । म भ्रष्टाचारी भएको भए त अख्तियार थियो नि । मलाई हटाइएको पत्रमा पनि केही उल्लेख थिएन ।’

यसबाट स्पष्टै भयो कि उनीमाथि यौन हिंसा भयो । तत्काल उनले केही भन्न सक्ने अवस्था रहेन । यसबारेमा उनले सन् २०१७ मा लेख नै लेखिन् । त्यसमा स्थापितको नाम उल्लेख थिएन । सन् २०१८ मा अर्की एक संचारकर्मीले आफूमाथि स्थापितले यौन हिंसा गरेको कुरा लेखिन् । रश्मिला भन्छिन्, ‘उज्ज्वला महर्जनले लेखेपछि बल्ल अब त मैले पनि लेख्नुपर्छ भनेर २०१८ मा नाम नै राखेँ । त्यो सन् २०१७ को लेखको निरन्तरता थियो ।’

यी दुई वटा घटनाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर, बागमती प्रदेशका पूर्व मन्त्री एवं आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका स्थापितलाई सामना गर्न सकस भएको छ । 

उनले यसअघि गरेका कुनै पनि असल काम छन् भने ती सबै ‘यौन दूराचार’ को ट्यागले लडाउने देखिएको छ । हुन पनि उनले आफूलाई सही ठाउँमा राख्न सकेनन् । जसको सजाय उनले आगामी दिनमा भोग्ने महिला अधिकारकर्मीहरु बताउँछन् । जसरी उनले सजाय पाउनु पर्ने हो त्यसरी नपाएको उनीहरुको विचार छ ।  

स्थापितको यो बदनाम कर्म मीटूका कारणले बाहिरिएको हो । अमेरिकाका केही महिलाले यौन उत्पीडनविरूद्ध आवाज उठाउँदै केही वर्षअघि ‘ह्यासट्याग मीटू’ अभियान सञ्चालन गरे । यसमा ठूलाठूला हस्तीहरु यौन उत्पीडनको आरोपमा मुछिए । यो क्रम जारी छ । 

यहींबाट नै सिर्जना भयो महिलामाथिको यौनहिंसालाई लिएर ठूलो जवाफदेहिता । अमेरिकाबाट चलेको यो अभियान विश्वभर नै फैलिएको छ । अझ मनोरञ्जन क्षेत्रमा लागेकाहरुले भोगेका पीडा त दैनिकजसो बाहिर आइरहेका छन् । 

धेरै वर्ष अगाडि आफूले भोगेका पीडालाई महिलाहरुले मीटू मार्फत व्यक्त गरिरहेका छन् । कतिपयले त यो घटना बाहिरिएपछि कारबाहीसम्म भोगिरहेका छन् । आखिर गल्ती गर्नेले सजाय पाउनै पर्छ । यसमा कसैको दुईमत नहोला । 

अहिले केशव स्थापित कठघरामा छन् । नभन्दै उनलाई नेकपा एमालेले उम्मेदवार बनाएसँगै तिनै रश्मिलाले सामाजिक संजालमा लेखिन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक ‘यौन दूराचारी’ लाई उठाएको छ र पद पाउने भएपछि खुवै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दूराचारीको मतियार बन्न तयार भए, छि कति दुर्गन्धित राजनीति !’

यो स्टाटस उनले बैशाख १० गते लेखेकी थिइन् । बैशाख ११ गते यो भनाइलाई केही परिमार्जित गर्दैै अर्को स्टाटस उनले लेखिन्, ‘म एमाले पार्टीको विरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा व्यक्तिहरु पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दूराचारी मात्र होइन हालसम्मकै भ्रष्टलाई मेयर उम्मेदवारी दिएकोमा विरोध हो । गलत व्यक्ति र गलत प्रवृत्तिको विरोध हो ।’

आखिर सार्वजनिक पद धारण गरेको व्यक्तिले आफूमाथि लागेको आरोपलाई निराकरण गर्न सक्नु पर्दथ्यो । उनले केही नगर्नुको कारण उनी दोषी त छैनन् ?  होइन भने आफूमाथि लागेको आरोपको सफाइ उनले दिन सक्नुपर्दथ्यो । 

काठमाडौं महानगरको मेयरमै उम्मेदवार भइसकेपछि उनको जिम्मेवारी पनि हो । विषय बाहिर आइसकेपछि एक सेवाकर्मी राजनीतिज्ञ भइसकेपछि उनले सफाइ द दिनैपर्छ । 

तर ‘नेता’ स्थापित संयमित हुन सकेनन् । उनी बिहीबार राजधानीमा भएको एक कार्यक्रममा जङ्गिए । प्रश्न सोध्ने विद्यार्थीमाथि नै ‘यौन हिंसा’ को बोली बोले । 

नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको मीटूको आरोपबारे प्रश्न गर्दा उनी एकाएक जङ्गिएर प्रश्नकर्तामाथि जाइलागे । 

उनी त्यो प्रश्न पछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै जंगिए । ‘म  जत्तिको मान्छे आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनुपर्छ’ स्थापित उल्टै प्रश्न गर्ने विद्यार्थीमाथि नै जंगिदै भने ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन ।’

यसबाटै बुझिन्थ्यो स्थापितले कतिसम्म भन्न सक्छन् । उक्त सार्वजनिक कार्यक्रममा यसरी बोलेपछि उनी थप विवादमा मुछिएका छन् । 

उनी पटक पटक जंगिदै उठ्दै भने ‘केशव स्थापित रीसको भाँडा हो । नरिसाउनु भन्न पाइन्छ ।’ उनले आफू कराँते खेलाडी पनि भएकाले रीस उठ्ने बताए । 

खेलाडी त सबैभन्दा अनुशासित हुन्छ । असंयमित र अनुशासनहीन उनले कराँते खेलाडीहरुलाईसमेत मुछ्न भ्याए । त्यो झनै गलत भयो । 

सोही कार्यक्रममा महानगरको मेयरकै उम्मेदवारी दिएकी विवेकशील साझा पार्टीकी नेतृ समीक्षा बास्कोटाले स्थापितलाई सम्झाउन खोजे पनि उनी रोकिएनन् । 

समीक्षाले यो कार्यक्रम सकिएपछि हाम्राकुरासँग भनिन्, ‘म महिलामाथि हिंसा शून्य सहनशीलता नारा बोकेर हिँडेकी हुँ । महिलामाथि सम्मान हुनुपर्छ । मेरो त नारा नै छ । मैले विभिन्न डिबेटहरुमा महिला सम्मानका विषयमा बोल्दै आएकी छु । म मेयर भए काठमाडौंमा महिला हिंसा शून्यमा झार्छु ।’ 

स्थापितले जसरी सार्वजनिक कार्यक्रममा मीटूबारे बोल्दाखेरी संयम गुमाए यसलाई हेर्दै पीडित रश्मिला भन्छिन्, ‘यस्तो मान्छे मेयर भयो भने त सिङ्गो महानगरका दिदीबहिनीहरु असुरक्षित हुन्छन् ।’

उनले भनिन्, ‘मीटूमा हिंसा भएको घटना सुनाउने कसैलाई रहर हुँदैन । तर उनीहरुले लगाउने त्यहाँ आरोप नै हो । प्रमाणित गर्नु पर्दैन । आरोप गलत हो भनेर प्रमाणित गर्ने त पीडकले हो ।’

सामाजिक संजालहरुमा यो विषयले निकै चर्चा पाएको छ । यसलाई समयमै एमालेले सुल्झाउने हो भने कम्तीमा उसका मतदाता भड्किनु पर्ने थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ