arrow

नब्बे जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
local-level-election-2079.jpg

ललितपुर । ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरको प्रमुख गोमा घिमिरेले जानकारी दिइन् । 

विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै उनले विभिन्न वडा १५ जना वडाध्यक्ष र अन्य सदस्यहरू गरी ४९ जनाको उम्मेदवारी फिर्ता भएको जानकारी दिइन् । 

त्यसैगरी महालक्ष्मी नगरपालिकामा २२९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा एक प्रमुख, विभिन्न वडाबाट सातजना वडाध्यक्ष र अन्य सदस्य गरी १७ जनाले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिइन् । 

गोदावरी नगरपालिकाबाट विभिन्न पदमा ३२३ जनाले उम्मेदवारी दिएकामा एक नगरप्रमुख, ६ जना वडाध्यक्ष र अन्य ६ सदस्यहरू गरी १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यालयका अनुसार बागमती गाउँपालिकामा विभिन्न पदमा ९२ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष दुई गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

त्यस्तै महाङ्काल गाउँपालिकामा विभिन्न पदमा कूल १०५ जनाले उम्मेदवारी दिएकामा उपाध्यक्ष दुई र सदस्य दुई गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोन्ज्योसोम गाउँपालिकामा भने कूल ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा उपाध्यक्ष एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

ललितपुर जिल्लाका सबै पालिकामा गरी एक हजार ४१५ जनाले उम्मेदवारी दिएकामा कूल ९० जनाले उम्मेदवारी फिर्ता लिएको र चारजना निर्विरोध भएका हुन् । निर्विरोध हुनेहरूमा नेकपा एमालेका तर्फबाट ललितपुर महानगरपालिका–११ की दलित महिला सदस्य सूचीना परियार निर्विरोध भएकी छिन् । 

कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नं ४ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध भएको कोन्ज्योसोम गाउँपालिकाकी निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिइन् । 

बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ